लामखुट्टेले टोकेका सबैलाई डेंगी हुँदैन

 भदौ २५, २०७६ बुधबार १३:४८:१६ | उत्तमराज प्याकुरेल
unn.prixa.net

डेंगी सरुवा रोग हो । संसारभर रहेका तीन हजार बढी लामखुट्टेमध्ये एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगी सर्छ । यी सबै लामखुट्टेमा भाइरस भने हुँदैन । भाइरस बोकेका लामखुट्टेले टोकेमा मात्रै डेंगी सर्ने हो ।

डेंगी सार्ने लामखुट्टे अरुभन्दा फरक हुन्छ । एजिप्टाइ र अल्बोपिक्टस प्रजातिका लामखुट्टे छिर्केमिर्के हुन्छन् । एडिज एजिप्टाइ प्रजातीको लामखुट्टे कालो तर केही खैरो रङको हुन्छ । यसको अगाडिको निधारमा सिधा सेर्तो धर्को हुन्छ ।

अल्बोपिक्टस प्रजातीको लामखुट्टे भने कालो रङको हुन्छ । यी दुबै लामखुट्टेको निधारमा तिलकधारी सेतो हुन्छ । शरीर धेरै हदसम्म कालो हुन्छ । केही ठाउँमा सेतो टिम्काहरु हुन्छन् । त्यसैले छिर्केमिर्के भनिएको हो ।

सामान्य लामखुट्टे खैरो रङको हुन्छ । तर यो प्रजातिको लामखुट्टे छिर्केमिर्के हुने भएकाले चिन्न गाह्रो हुँदैन । 

कहाँ कहाँ टोक्ने गर्छ ?

एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेले शरीरका खुल्ला भागमा बढी टोक्छ । दिउँसो बढी सक्रिय हुने भएकाले यसले हात, खुट्टा, कान, निधार, गाला, मुख, घाँटीमा टोक्न सक्ने हुन्छ ।

बढीजसो यसले टोक्ने कानमा हो । कान नरम हुने र चुच्चो गाडेर रगत लिन सक्ने भएकाले कानमा बढी टोक्ने सम्भावना हुन्छ । प्रायः लामखुट्टे कानमा घुमेको थाहा हुनेबित्तिकै हामीले हातले हटाउँछौ । 

तर प्रायःजसो दिउँसो सक्रिय हुने यो लामखुट्टै धेरै भुनभुन नगरीकन टोक्ने गर्छ । 

दिउँसो किन सक्रिय हुन्छ ?

लामखुट्टे प्राय: दिनरात नै सक्रिय हुन्छन् । तर डेंगी सार्ने एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस जातको पोथी लामखुट्टे भने दिउँसो बढी सक्रिय हुन्छ । बिहान र बेलुकी पनि सक्रिय हुने यो लामखुट्टेले दिउँसो बढी टोक्नुको कारण भने स्पष्ट छैन ।

उज्यालोको समय बिहान र बेलुकी मानिसको बढी भिडभाड हुने भएकाले यसले टोक्ने सम्भावना बढी हुन्छ । तर त्योभन्दा लुकीछिपी बसेको अवस्थामा यसले दिउँसो बढी टोक्ने हुन्छ ।

घरको भान्छामा, टेबलको मुनि, बेडको मुनि लुकेर बस्ने यो शरीरमा कपडाले नढाकेका भाग खुट्टा, हात, कान, घाँटी, निधारमा टोक्ने सम्भावना बढी हुन्छ । यसबाट बच्नका लागि शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ । हात र कान पनि जोगाउन आवश्यक छ ।

एकैपटक किन धेरै जनालाई टोक्छ ?

डेंगी सार्ने लामखुट्टेले एकैपटक ७ जनासम्मलाई टोक्छ । कहिलेकाहीँ १० जनासम्मलाई टोक्न सक्छ । यसको अरुभन्दा फरक विशेषता भनेकै यही हो । एकैपटकमा सयाैँ फूल पार्न सक्ने यो लामखुट्टेको लार्भा थोरै तर सफा पानीमा हुर्किन सक्छ ।

भाले भन्दा धेरै सक्रिय हुने पोथी लामखुट्टे कम्तीमा ३० दिनसम्म बाच्छ । यसले अधिकांश समय मानिसकै रगत चुस्ने गर्छ । आफ्नो पोषणका लागि मानिसको रगत चुस्ने यो लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले धेरै जनालाई टोक्छ ।

दिउँसोमा आफ्नो आहारा पुग्ने गरी एकै व्यक्तिलाई टोक्न सम्भव हुँदैन । दिउँसो मानिस पनि सक्रिय हुने भएकाले देख्नेबित्तिकै वा आफ्नो वरिपरी घुम्नेबित्तिकै प्याट्ट पारेर धपाउँछन् ।

यसरी प्याट्ट पारेपछि यो भाग्छ । तर नजिकै रहेको अर्को मान्छेलाई पनि टोक्छ । यसरी टोक्दै भाग्दै, टोक्दै भाग्दै गर्ने भएकाले आफूलाई पुग्ने गरी रगत चुस्न पाउँदैन । त्यही भएर धेरै जनालाई टोक्ने गर्छ ।
तर टोकेका सबैलाई भने डेंगी हुँदैन । यसले टोकेका १० जनामध्ये २ जनालाई डेंंगीको लक्षण देखिन्छ । तर भाइरस बोकेको लामखुट्टेले टोकेका दुई जनाभन्दा बढीलाई पनि डेंगी सर्न सक्छ ।

यो लामखुट्टेले टोक्दैमा लक्षण देखिंदैन । कम्तीमा टोकेका पाँच दिनपछि लक्षण देखिन्छ । यदि टोक्ने क्रममा आफ्नो भाइरस हाम्रो शरीरमा धेरै छाडेको छ भने लक्षण देखिएपछि गम्भीर बिरामी पार्छ ।

तर यो लामखुट्टेले टोक्दैमा भने डेंगी सर्दैन । मानिसको रोगप्रतिरोधात्मक क्षमता कम भयो, शरीरमा पोषणतत्वको कमी भयो वा अरु कुनै रोग लागेको छ भने यो लामखुट्टेले टोकेमा सजिलै डेंगी सर्न सक्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा देखिए भने तत्कालै जाँच गराउनुपर्छ ।

डेंगी किन खतरनाक छ ?

एउटा लामखुट्टेको जीवनचक्र भनेको ३० दिन हो । एक महिनासम्म यो पोथी लामखुट्टेले दिनदिनै त टोक्छ नै । यसबीचमा हजारौं फूल पनि पार्छ ।

यो लामखुट्टेमा भाइरस छ भने यसका अण्डामा पनि भाइरस हुन्छ । त्यो अण्डाबाट हुर्किने लार्भा, प्युपा हुँदै फेरि बन्ने सबै बयस्क पोथी लामखुट्टेमा पनि डेंगी भाइरस हुन्छ ।

एउटा भाइरसयुक्त लामखुट्टेले फूल पारेर हजारौं लामखुट्टे जन्माउन सक्छ । यसबाट डेंगी सार्ने एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस लामखुट्टे धेरै छिटो फैलिन सक्छ । अर्को खतरा भनेको यसको फुल वर्ष दिनसम्म बाँच्न सक्छ ।

यसले पानीमै फुल पार्ने पनि हुँदैन । पानीको सतहभन्दा थोरै माथि भित्तातिर यसले फुल पार्छ । थोरै पानी, त्यो पनि सफा पानीमा फुल पार्ने यसले छोटो समयमै यसका लार्भा हुर्किन सक्छन् ।

यो लामखुट्टेका फुलले पानी नपाए भने पनि एक वर्षसम्म त्यसै बाँच्छन । एक वर्षपछि पानी पाएमा फेरि जीवनचक्र सुरु गर्छन् । यो भनेको हामीले पानी जम्ने खाल्डा पुर्दैमा, भाँडा सफा गर्दैमा, पानी राखिएका ट्यांकी, टायर सफा गर्दैमा हुँदैन ।

हामी अहिले खाल्डा मात्रै पुरेका छौं । पानीको ट्यांकी मात्रै सफा गरेका छौं । तर दिनदिनै पानी परिरहेको छ । आज पानी नभएको ठाउँमा भोलि पानी पर्छ । डेंगी सार्ने यो लामखुट्टेका लार्भा हुर्किएर बयस्क भइहाल्छन । त्यसकारण यो लामखुट्टे नियन्त्रण गर्न निकै जटिल छ ।

समाधान के ?

अहिले काठमाण्डौ उपत्यकासहित डेंगी फैलिएका धेरै ठाउँमा ‘फगिङ’ अर्थात धुवाँ फाल्ने काम भइरहेको छ । यो आफैमा समाधानको उपाय भने होइन । फेरि फगिङ गर्ने यो प्रक्रिया फितलो छ ।

धेरै डेंगी फैलिएको वा महामारी भएको ठाउँमा फगिङ गर्दा घरघरमा तीन दिनदेखि सुचना दिनुपर्छ । घरका झ्लाढोका बन्द गर्नुपर्छ । यसले मानिसको स्वास्थ्यलाई असर गर्ने भएकाले यस सम्बन्धी निर्देशिकालाई पालना गरेर मात्रै प्रयोग गनुपर्छ ।

अहिले धेरै पालिकाले फगिङ गरे पनि निर्देशिकाको पालना गरेका छैनन् । अनि अहिले गरिरहेको फगिङ कत्तिको प्रभावकारी छ भन्ने कुरामा बहस भएको छैन । फगिङ गर्दैमा डेंगी सार्ने लामखुट्टे मर्दैन । यसको नियन्त्रणका लागि राम्रोसँग पूर्वतयारी गर्नुपर्छ । जेठ असारमा पूर्वतयारी नगर्दा वा डेंगी सार्ने लामखुट्टेको फुल, लार्भा र प्युपा नष्ट नगर्दा अहिलेको अवस्था सिर्जना भएको हो ।

अहिले वर्षामा डेंगी सार्ने लामखुट्टेको प्रकोप बढी देखिए पनि यसको प्रभाव असोज, कात्तिकसम्म रहन्छ । त्यतिबेलासम्मका लागि सरोकारवाला सबै निकायले प्रभावकारी नियन्त्रण अभियान चलाउन जरुरी छ ।

फगिङ गर्दा राम्रोसँग विचार पुर्‍याउन आवश्वक छ । त्योभन्दा महत्वपूर्ण कुरा डेंगी सार्ने लामखुट्टेको फुल, लार्भा र प्युपा नष्ट हुने गरी अभियान चलाउने, घरभित्र र बाहिर सफा राख्ने, जीउ ढाकिने गरी कपडा लगाएर हिँड्ने, सुत्दा झुलको प्रयोग गर्ने र राम्रोसँग पूर्वतयारी गर्ने हो भने यसको महामारी रोक्न सकिन्छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ६, २०८०

उत्तमराज प्याकुरेल

प्याकुरेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया