६ वर्षपछि मनाङको हुम्डे विमानस्थलमा हवाइजहाज, असोज १० देखि नियमित उडान

 भदौ २८, २०७६ शनिबार १७:४९:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनाङमा बन्द भएको हवाई उडान ६ वर्षपछि सञ्चालनमा आएको छ । शुक्रबार मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेको हुम्डे विमानस्थलमा गण्डकी प्रदेशको समन्वयमा समिट एयरको हवाइजहाजले उडान भरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग–पर्यटन– वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रुलाई लिएर समिट एयरको जहाज हुम्डे विमानस्थल पुगेको हो ।   

हवाई उडान असोज १० गतेदेखि नियमित हुने बताइएको छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जिल्लामा हवाई उडान सुरु भएसँगै स्थानीय उत्साहित भएको बताउनुभयो । लामो समयसम्म हवाई सेवा अबरुद्ध हुँदा नागरिक, पर्यटक, कर्मचारीले भोग्नु परेको समस्यालाई मध्यनजर गरी हवाई उडानका लागि पहल गरिएको प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले बताउनुभयो । 

उहाँकाअनुसार मनाङ–पोखरा र पोखरा–मनाङ नियमित उडान हुन थालेपछि सबैलाई सहज हुनेछ । ‘नियमित उडान गर्न मौसम उचित छ । पर्यटकीय सिजन पनि सुरु हुन लाग्यो,’ उहाँले भन्नुभयो, ‘नियमित गर्न सके पर्यटकीय गतिविधि बढ्छ । जिल्लाको पर्यटन प्रबर्द्धनका साथै स्थानीयलाई समेत सहज हुन्छ ।’ 

मनाङमा पोखरादेखि हप्ताको दुई पटक नेपाल वायु सेवा निगमले उडान भर्दै आएकोमा विसं २०७० देखि हवाई सेवा बन्द भएको थियो । त्यसयता केही निजी संस्थाले २ पटक हवाई जहाज सेवा परीक्षण गरेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङमा जहाज उडान नियमित गराउन गण्डकी प्रदेश सरकार लागि परेको बताउनुभयो । अक्टोबरबाट पर्यटकको चहलपहल हुने भएको र त्यही समयबाट नियमित उडान गरिने उहाँले बताउनुभयो । 

पर्यटन मन्त्री विकास लम्सालले आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पर्यटन व्यवसायीको समन्वयमा असोज १० गतेदेखि मनाङमा जहाज उडान नियमित गरिने छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया