दशैँमा घर जाने यात्रुको सुविधाका लागि घुम्ती अनुगमन टोली

 असोज १, २०७६ बुधबार १३:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा घर जाने यात्रुको सुविधाका लागि सरकारले अनुगमन थालेको छ ।

यातायात व्यवस्था विभागले बुधबारदेखि सुरु गरेको अनुगमन आउँदो १८ गते फूलपातीसम्म चल्नेछ । यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिले यात्रुको बढी चाप हुने तथा टिकट काटिने काठमाण्डौ विभिन्न ठाउँमा अनुगमन गर्नेछ ।

अनुगमनमा यात्रुले टिकट नपाएको, टिकटअनुसार बढी भाडा लिएको, सीट नपाएको, ठगिएको तथा अभद्र व्यवहार गरेकोलगायतका समस्या बुझ्ने र तत्काल समस्याको समाधान गरिने विभागले जनाएको छ । यात्रुलाई टिकटमा ठग्ने व्यवसायीमाथि कारबाही हुने विभागको भनाइ छ । 

६ वटा घुम्ती अनुगमन टोली काठमाण्डौका विभिन्न ठाउँमा निरन्तर अनुगमन गरेर यात्रुको समस्या बुझ्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

काठमाण्डौ उपत्यका बाहिरका लागि हरेक प्रदेश सरकार र यातायात कार्यालयको सहयोगमा अनुगमन गरिने पनि उहाँले जानकारी दिनुभयो । सबै यातायात व्यवसायीलाई व्यवस्थित र सुरक्षित यात्राको सुनिश्चित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ७५३ वटै पालिकामा पत्राचार पनि भइसकेको विभागले जनाएको छ ।

अनुगमन समितिमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायी संघका प्रतिनिधिहरु छन् । यात्रुको चाप बढी हुने ठाउँमा सादा पोशाकमा प्रहरीहरु पनि खटिएका छन् । दशैँको लागि टिकट बुकिङ असोज ५ गतेदेखि खुलाउने तयारी छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया