विदेशबाट दुःख र दशा मात्र घर फर्कियो

 असोज ५, २०७६ आइतबार १५:२९:५५ | सन्जिता देवकोटा

झापा – झापा भद्रपुर नगरपालिका ९ को घोडामारा । चोकैमा छ प्रहरी चौकी । प्रहरी चौकीबाट नजिकै छ, कदमको रुख । केही महिला कदमको रुखमुनी बसेर गर्मी छल्दै थिए ।

भावना नेम्वाङ तामाङको घर कहाँ पर्ला भनेर सोध्नासाथ एक महिलाले सोध्नुभयो ‘उसको दाइको बारेमा सोध्न आउनुभएको होला हैन ?’ 

‘हो नि, ठ्याक्कै थाहा पाउनुभयो त’ हामीले यति भन्नासाथ महिलाहरु भावनाका दाइको कुरा गर्न थाले ।  ‘यतिका वर्ष भयो बिचराको दाइ पनि त्यस्तो छ, दिदीको अवस्था पनि उस्तै छ, नयाँ मानिसलाई देख्दा त्यही कुरा सोध्न आए कि जस्तो लागेर सोधेको !’

उखरमाउलो गर्मी छल्न कदमको रुखमुनी बसिरहेका धेरैजसो महिलालाई भावनाका दुःखले पनि पोल्दो रहेछ । 

उर्खमाउलो गर्मीमा गाउँभरीका महिला कदमको रुखमुनी शीतलमा बसिरहेका बेला भावना भने आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । भद्रपुर जाने सडक छेवैमा छ भावनाको घर । भावना जस्ताले छाएको एक तले घर बढार्दै हुनुहुन्थ्यो । हामीलाई कुर्सी दिएर घरको सिँढीमा बसेपछि कुरा सरु भयो । 

‘बिजोग छ नि मेरो त के गर्नु, के नगर्नु,’ भावनाले पिँढीमै बसेर मनको बह पोख्न थाल्नुभयो ।

सन् २००६ फागुनमा भावनाका दाइ श्रीबहादुर कतार लागे । त्यो बेला भावनाको उमेर १२ वर्ष मात्र थियो । दाइ परदेश लागेको दुई वर्षपछि भावनाको जिन्दगीको अत्यासलाग्दो कथा सुरु भयो ।

दाइ परदेश लागेको दुई वर्षसम्म त ठिकठाकै चल्यो । छोरोले कमाउला भन्ने आशमा थिए भावनाका बुवाआमा ।  भावनालाई भने त्यसबेला दाइ विदेश गएका छन् भन्ने बाहेक विदेश कस्तो हुन्छ र केलाई विदेश भनेको भन्ने पनि थाहा थिएन । 

भावनाका दाइ श्रीबहादुरले कतार जान मिता इन्टरनेशनल प्रालिमा दुई लाख रुपैयाँ बुझाएका थिए । म्यानपावरलाई दिने पैसाकाे लागि बाआमाले ऋण काढेका थिए ।

त्यतिका पैसा जुटाउने घरको आर्थिक हैसियत थिएन । अरेबियन इन्जिनियरिङ कन्ट्रयाक्टिङ एण्ड ट्रेड कोअपरेशनमा लेबरको कामका लागि अन्तिम श्रम स्वीकृति लिएर कतार गएका श्रीबहादुरले दुई वर्षमा जम्मा २० हजार रुपैयाँ घरमा पैसा पठाएको सम्झना छ, भावनालाई । श्रीबहादुर काम र कमाइको बारेमा उति धेरै कुरा गर्दैन थिए ।  

‘पल्लो गाउँमा फोन गरेर पैसा लिन जानु भन्नुभयो दाइले, आमा र म नै पैसा लिन गएका थियौं,’ भावना भन्नुहुन्छ, ‘त्यसपछि दाइले फोन गर्नुभएन, एक्कासी त्यस्तो खबर पो आयो ।’

४ सेप्टेम्बर २००८ मा श्रीबहादुरको नराम्रो खबर आयो । खबर थियो बाटो काट्ने क्रममा दुर्घटनामा परेको । अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।

परिवारमा निको हुने आशा थियो । तर त्यो आशा दिन, महिना र वर्ष हुँदै निराशामा बद्लिइसक्यो । श्रीबहादुर दुर्घटनामा परेर कोमामा पुगेको ११ वर्ष भइसक्यो । होस फिरेको खबर आएको छैन । 

कतारमा देख्ने भेट्नेले भनेका छन्, ‘अवस्था नाजुक छ ।’ भावनालाई लाग्छ, ‘दाइ अस्पतालको बेडमा सुतेको होला, हलचल गर्दैनन् होला, बोल्दैन होला, दुर्घटनामा परेकाले शरीरमा चोटका खतैखत होला ।’ यो त भावनाले कल्पना गरेको दाइको अवस्था हो । 

भावनाले कल्पना गरेजस्तै श्रीबहादुर कतारको अमन हाउस रिह्याब्लिटेशन सेन्टरमा  उपचाररत छन् ।  

तर भावना चाहिँ सपनामा दाइ हिँडेको देख्नुहुन्छ । घरी लर्खराउँदै त घरी खुट्टा बाङ्गो बनाउँदै हिँड्नुहुन्छ भावनाको सपनामा श्रीबहादुर । तर सपना जस्तो छैन बिपनामा । 

श्रीबहादुरको पीरले बाआमा बिते

झापाको भद्रपुर चोकबाट दक्षिणतर्फ छ महेशपुर । पातलो बस्ती । यही बस्तीको बीचमा थियो भावनाको माइती घर अर्थात श्रीबहादुरको घर पनि । तर अहिले श्रीबहादुरको घर भत्किइसक्यो । 

श्रीबहादुर परदेश लाग्दा बुवाआमा थिए । भावना, दिदी टीका र भाइ मन्दिर पनि थिए । त्यो बेला घर पूरा थियो ।  तर श्रीबहादुर कोमामा पुगेपछि ऋण र पीरले बुवाआमा दुवै बिते । त्यसपछि बाँसको टाटीले बनेको श्रीबहादुरको घर पनि भत्कियो । अहिले त घरआँगनको निशानासमेत मेटिइसक्यो । 

हुन त श्रीबहादुर त्यही बाँसको टाटी फेरेर राम्रो घर बनाउने सपना बोकेर कतार लागेका थिए । तर श्रीबहादुर आफैं ढलेपछि घर पनि बाँकी बसेन । श्रीबहादुर उता अस्पतालमा अचेत अवस्थामा भएको खबर सुनेदेखि नै आमालाई घरमा बिमारले च्याप्यो । 

भावनाकी आमालाई दुईवटा पीर पर्‍यो । 

एउटा पीर श्रीबहादुरको अनि अर्को चाहिँ उसलाई कतार पठाउन काढेको ऋणको । ‘आमाले बढी चिन्ता लिनुहुन्थ्यो, त्यो बेलामा त म अझ बुझ्ने भएको थिइनँँ,’ भावना भन्नुहुन्छ ।

साहुहरु दिनहुँ घरमा आउँथे । साहुको कचकच टाल्न भावनाकी आमाले जेठी छोरी टीकालाई लेबनान पठाउनुभयो । छोराको ऋण छोरीले भए पनि कमाएर तिर्छे भन्ने आश थियो सायद । 

‘आमाले कतिपटक त खेत नै खान पनि भन्नुभएको थियो तर साहुले मानेनन्,’ विगत कोट्याउँदै भावना भन्नुहुन्छ, ‘आमालाई दाइको र ऋणको चिन्ता एकैपटक पर्‍यो र त्यस्तो भयो ।’ 

श्रीबहादुर दुर्घटनामा परेको लगभग ७ महिनापछि आमाको हृदयघात भएर ज्यान गयो । 

आमा मात्र हैन, केही समयको बीचमा भावनाले बुवा पनि गुमाउन पर्‍यो । समय त ठ्याक्कै सम्झनुहुन्न भावना । तर प्यारालाइसिस् भएर थलिएका बुवा आमा बितेको ६ महिनामा भावना र भाइलाई सधैका लागि छाडेर गए । दिदी विदेश गएकाले घरमा भावना र भाइ एक्ला भए । 

‘म त बोल्न पनि नसक्ने भएकी थिएँ, एक्कै पटक के भयो भयो,’ भावना त्यो कहालीलाग्दो क्षण सम्झँदै भन्नुहुन्छ, ‘जे परे पनि मर्न नसकिने रहेछ ।’

आफन्तले सम्झाउँथे । बोलाएर खानेकुरा दिन्थे । आफ्नै घरमा लगेर सुताउँथे पनि । तर आफ्नो जीवनमा एकाएक घटेका सबै घटना भावनालाई त्यो बेला सपनाझैं लाग्थ्यो । 

‘मानिसले जस्तो परे पनि सहनु पर्ने रहेछ भन्ने कुरा मैले त्यहीबेला सिकें,’ भावना भन्नुहुन्छ ‘कति रोयौं कति करायौं तर कसले सुन्ने, रुँदा रुँदा आफैं थाक्थ्यौं ।’

बाआमाको लाडप्यार जस्तो अरु के हुन्छ । भावनासँग त न बाआमा रहे न, न बिहान बेलुकाको छाक टार्ने आधार । 

आफन्तले सर–सहयोग गरे । जसोतसो चल्यो । तर कहिलेसम्म त्यसरी चलाउने ? 

आफन्तकै सल्लाहमा भावनाका भाइ मन्दिर काम गर्न कतार लागे । मन्दिर कतार जानुको मुख्य कारण त श्रीबहादुरलाई नै भेट्ने र मिलेमा नेपाल लिएर फर्किने थियो । तर श्रीबहादुरको अवस्था र लाग्ने खर्चका कारण लाख मन हुँदा पनि दाइको अनुहार हेर्न पाइएन भन्नुहुन्छ, भावना । 

भाइ कतार छँदा दाइको खबर सुनाइरहन्थे । बोलाउँदा नबोल्ने, अचल दाइको अवस्था झन् सुन्यो झन् पीडा हुन्थ्यो । ‘आफ्नो मान्छे, सम्झँदा त कति माया लाग्छ लाग्छ के गर्नु..,’ भावना वाक्य नै पूरा बोल्न सक्नुहुन्न । 

दिदी पनि मानसिक सन्तुलन गुमाएर फर्किएपछि...

भाइ पनि कतार लागेपछि भावनाको बिहे भयो । अर्को जिम्मेवारी थपियो । तर पनि दाइलाई नेपाल ल्याउने अवस्था बन्दै बनेन । दाइको उपचार हुँदैछ भनेर भावना चित्त बुझाउनुहुन्थ्यो । एक दिन निको होला भन्ने मनमा झिनो आशाको त्यान्द्रो थियो । 

तर जब लेबनान गएकी दिदी मानसिक रुपमा विक्षिप्त भएर फर्किनुभयो, तब भावनालाई अर्को आपत आइलाग्यो । दशाले पनि आफूलाई मात्र लखेटेको ठानेर भगवान र आफ्नै भाग्यलाई धिक्कार्नुभयो । 

घरेलु काममा गएकी टीकाको मानसिक सन्तुलन साहुसाहुनीले दिएको यातनाले गुमेको हो कि घरको चिन्ताले हो भन्ने कुरा कसैलाई थाहा छैन । दाइका लागि लिएको ऋण कमाएर तिर्छु भनी आँट लिएर परदेशिएकी दिदीको अवस्थाले भावनालाई फेरि एकपटक नराम्रोसँग हल्लायो ।

बोलाउँदा नबोल्ने, एकोहोरो हुने, के भयो पनि नभन्ने, चुपचाप बसिरहने समस्या छ टीकालाई । आफ्नो छोरालाई जसैगरी भावनाले दिदीलाई पनि स्यार्हानु पर्‍यो ।

भावनाको काँधमा अहिले घरपरिवार, बालबच्चा, दिदी र कोमामा रहेका दाइको पनि जिम्मेवारी छ । भाइ मन्दिर अहिले कतारबाट फर्किएर साउदी गएका छन् । 

भावनालाई लाग्छ, ‘भाइले बिहे गरेको भए बुहारी हुन्थिन्, दुःखसुख साट्ने एउटा भए पनि सहारा हुन्थ्यो ।’ भावनाको मनमा अर्को ठूलो इच्छा छ, कोमामा रहेका दाइको एकपटक भए पनि सास छँदै अनुहार हेर्ने । 

तर ल्याउँ भने आफ्नो सम्पत्ति छैन । कतारमा उपचार गर्दा गर्दै सास निभ्यो भने जिउँदो देख्न पाइने छैन । यस्तै सम्झेर भावनाको मन असाध्यै आतिन्छ । ‘कहाँ हेरौं, कहाँ देखौं भएको छ नि,’ यसो भन्दा भावनाको स्वर पीडाले थर्थराउँछ ‘एकपटक त हेर्ने धोको छ, तर खै यस्तै होला जस्तो छ ।’

मन भए पनि धन नभएपछि के गर्नु । इच्छा र चाहना मार्नु परेको छ ।  बिहान बेलुकाको छाक टार्नै धौधौ छ । ‘घरमा कमाउने मान्छे छैनन्, सबै कुरा किन्न पर्छ, पैसा भए त दाइलाई ल्याउन हुन्थ्यो नि’ भावना आफ्नो इच्छा सुनाउनुहुन्छ । 

भावनाकी छिमेकी बिमला तामाङ भन्नुहुन्छ, ‘उसलाई गाह्रो छ नि, दिदी पनि हेर्नु पर्छ, आफ्नै व्यवहार छ, त्यसमाथि दाइको अवस्था त्यस्तो छ, ल्याइहाले पनि सधैंभरी स्याहार गर्न सक्ने अवस्था छैन ।’

आफन्तले चन्दा उठाएर भए पनि ल्याउने कुरा गरेका थिए एकपटक । तर ल्याइसकेपछि उपचार गर्न सक्ने हैसियत नहुँदा दाइलाई देख्ने भेट्ने चाहना मार्न परेको गुनासो गर्नुहुन्छ भावना । 

‘घरको अवस्था नै नाजुक भइसकेको छ, हामीले यसो सरसहयोग गरौं भन्दा पनि एक दुई दिन गरेर नहुने रहेछ,’ छिमेकी बिमला भन्नुहुन्छ, ‘सम्झेर मन रुन्छ नि, आफ्नो मानिस देखौं भेटौं त कति लाग्छ होला नि, तर धन नभएपछि यस्तो हुँदो रहेछ ।’

भावना आफैं पनि रोगी हुनुहुन्छ । शरीरमा तागत छैन । बच्चा जन्मिदा अपरेशन गरेदेखि फनफनी रिंगटा लाग्छ । ‘ज्यानै कमजोर भएपछि केही आँट नआउँदो रहेछ’ भावना दुखेसो पोख्नुहुन्छ । 

बाख्रा, कुखुरा र सँगुर पाल्नुभएको छ । त्यही बेचेर भएको आम्दानीले नुन तेलको जोहो गर्नुहुन्छ । दिदी टीकाको पनि हेरचाह गर्नुहुन्छ । 

‘अस्ति नै एकजना आफन्तले हेरेका थिए अस्पतालमा पुगेर दाइलाई, अलि मोटाएको छन् रे, तर के गर्नु यतिका वर्ष बितिसक्यो निको भएको हैन’ दाइको अनुहार हेर्ने आशमा भावनाका ११ वर्ष बितिसके ।

विदेशका अस्पतालमा कोमामा उपचाररत नेपालीलाई सरकारले स्वदेश ल्याउने तयारी गरेको छ भनेर सुन्नुभएको छ भावनाले पनि । 

श्रीबहादुरसहित कतारका विभिन्न अस्पतालमा सबैभन्दा धेरै १५ जना नेपालीको उपचार भइरहेको छ । त्यसपछि साउदीमा ७ र कुवेतमा ३ नपाली कोमामा उपचाररत छन् । 

सरकारले ल्याइदिए मृत्युलाई जितेका दाइको अनुहार हेर्न पाइने आश छ भावनालाई ।  तर एक मनमा भने नेपाल ल्याइसकेपछि सरकारले उपचार गरिदिएन र परिवारलाई नै जिम्मा दियो भने दाइको बिजोग होला भन्ने पीर छ । 

‘न ल्याउन सकिन्छ, न होस् भनेर माया मार्न सकिन्छ, कस्तो पीर पर्‍यो जिन्दगीभरीलाई,’ यति भन्दा भावनाको अनुहार खिन्न देखिन्छ ।

गाउँका कतिजना विदेश गए । कमाएर फर्किए । घरजग्गा जोडे । त्यस्तो देख्दा भावनालाई लाग्छ, ‘विदेशबाट अरुका घरमा खुशी आए पनि आफ्नो घरमा दशा र दुःख मात्र भित्रियो ।’ 

कोमामा उपचाररत नेपाली र परिवारका कथाव्यथाको श्रृँखला ‘आशा र निराशाबीच चलेको सास’ को यो दोस्रो श्रृँखला हो । दाइको ऋण तिर्न लेबनान गएकी टीकाको कथाव्यथा तेस्रो श्रृँखलामा प्रस्तुत गर्नेछौं ।

 

अन्तिम अपडेट: असोज २४, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया