छोरा विदेश पठाए साहु धनी, गाउँघरमै दुःख गरे आफैं धनी

 जेठ ७, २०७५ सोमबार १७:२०:४९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

गीता आचार्य/रुपाकोट नगरपालिका खोटाङ, आचार्यगाउँ ।

मेरा चार जना छोराछोरी छन् । छोरी अहिले १० कक्षामा पढ्छिन् । तीन छोराले चाहिँ पढ्न भन्दा पनि कमाउन तिर ध्यान दिए । त्यसैले ऋण काढेर तीन जनालाई नै विदेश पठाएँ । छोरा मेरा तर उनीहरुले विदेशमा गरेको दुःले  साहु धनी भए । 

सय कडा तीनको ऋण तिर्दा तिर्दै छोराहरु फर्किने बेला भैहाल्ने । घर त जस्ताको तस्तै । विदेशको कमाइ खहरे खोलाको भेल जस्तै हुने रहेछ । 

केही समयअघि हाम्रो गाउँमा एउटा कक्षा हुने भयो । बुढेसकालमा हामीजस्तालाई पढाउने कक्षा कस्तो होला भन्ने लाग्यो सुरुमा सुन्दा त । छोराहरुलाई पढाउन त्यस्तै भयो मै भएपनि पढेर केही सिक्नु प¥यो भन्ठानेर म त्यो कक्षामा बस्न थालें । 

कक्षामा त काइदाको कुरा पो पढाइदो रहेछ । हुन त मैले त्यो कक्षामा छोराहरु विदेशमा भएकै कारण हो बस्न पाएको । छोराले विदेशमा कमाएको पैसा कसरी जोगाउने भन्ने त सिकें नै त्यो भन्दा बढी त मैले आफैले कमाउने बाटो समाएँ । 

तीन छोराले विदेशमा कमाएर नसुध्रिएको व्यवहार हिजोआज म आफैले मिलाउन थालेको छु । सिजन अनुसारको तरकारी रोप्छु, दूध, दही र घ्यु बेच्छु ।  पहिला पहिला समस्या पर्दा १० रुपैयाँ पनि नपत्याउने साहुहरु हिजोआज मैले आम्दानीको बाटो गरेको देखेपछि ऋण पनि पत्याउछन् । 

तर खेतबारी, बाख्रा, कुखुरा र गाइभैसी पालेर गरेको आम्दानीले नुनतेल धानेको छ । अनि, थेरथोर बचत पनि गर्न थालेको छु । अहिले त मलाई समस्या पर्दा १० हजार रुपैयाँसम्मको जोहो गर्न साहुको मुख ताक्न पर्दैन । 

म खेतबारी र डटेर कुटोकोदालो गर्न सक्दिन् । बिमारले थलिएको ज्यान भएपनि तगडा मनले काम गर्छु । श्रीमानले पनि सघाउनुहुन्छ । मिलेर काम गर्दा सजिलो पनि भएको छ । 

गाउँघरमै पनि आम्दानी गर्ने बाटो प्रसस्तै रहेछन् भन्ने जानेदेखि मलाई विदेश ठीक लाग्दैन । जेठोलाई विदेश पठाएँ, कमाएको ऋण तिर्दै ठिक्क । माइलोलाई कान्छोलाई पठाएँ ठ्याक्कै त्यस्तै । अनि साहु धनी बनाउन आफ्ना छोराको ज्यान किन घोटाउनु जस्तो लाग्छ । 

अर्कातिर पराइ देश पुगेका सन्तानलाई भवितव्य परिहाल्ने हो कि भन्ने चिन्ता । विदेशमा कमाइ होला भन्दा ऋणले आच्छु आच्छु बनायो । अहिले धेरथोर आफैले गर्दा आनन्दले नुनतेल किन्न पुगेको छ । बचत गरेको पैसाले समस्या पनि टरेको छ । किन जानु विदेश ?

गीता आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

 
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया