आत्मरक्षा तालिमले किशोरीमा आत्मबल

 असोज ८, २०७६ बुधबार ११:२:४४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – देवचुली नगरपालिका –९ की सरिता रानालाई पहिले मनमा धेरै डर लाग्थ्यो । दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आएकी उनलाई अहिले भने त्यस्तो घटना आफूलाई पर्‍यो भने कसरी समाधान गर्ने भन्नेमा आत्मबल बढेको छ ।

किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार रोकथामका लागि किशोरीलाई आत्मरक्षा तालिम दिन थालेपछि सरिताजस्तै किशोरीहरुमा आत्मबल बढ्दै गएको हो ।

‘पहिले आफूमा कुनै घटना हुने सम्भावना भए के गर्ने भन्ने अन्योल थियो, अहिले आत्मरक्षा सम्बन्धी तालिम लिएसँगै समाधानका लागि के गर्ने भन्ने बारेमा जानकार छु’ रानाले भनिन्, ‘सहजै त्यसको सामना गर्न सक्छु भन्ने आत्मबल बढेको छ ।’

आफूमाथि हुने कुनै पनि दुव्र्यवहारको प्रतिकार तत्काल गर्नुपर्ने उनले बताइन् । सार्वजनिक गाडीमा कसैले दुर्व्यवहार गर्न खोजे सबैले थाहा पाउने गरी बोलेर प्रतिकार गर्न सकिने उनले बताइन् । अरु ठाउँमा पनि त्यस्तो बेलामा अरु व्यक्तिको सहायता लिने, आफूलाई परेको समस्या सहयोग पाउने ठाउँमा अरुलाई भन्ने गर्दा पनि धेरै समस्याबाट छुटकारा पाउन सकिने उनले थपिन् ।

वरचुली माध्यमिक विद्यालयमा अध्यनरत प्रतिमा आचार्यलाई पनि आत्मरक्षा तालिम लिएपछि आत्मबल बढेको छ । ‘तालिममा सुरक्षाका साथै नेतृत्व कसरी गर्ने, आफ्ना समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने सिकेसँगै आफूले पनि धेरै कुरा गर्न सक्छु, समस्या पर्दा समाधान गर्न सक्नु भन्ने हिम्मत बढेको छ’ उनले भनिन् ।

‘पहिला सानो कुरा कसैलाई भन्न डर लाग्थ्यो, कुनै समस्या पर्दा मनमनै दबाएर राख्नुपर्ने हुन्थ्यो, अहिले भने समस्या पर्दा के गर्ने भन्ने, कसलाई भन्ने, कसरी समाधान गर्ने भन्ने सबै थाहा पाएको छु’ आचार्यले थपिन्, ‘साँच्चै आत्मरक्षा तालिमले मलाई धेरै आत्मबल बढाएको छ ।’

नगरपालिका भित्रका दुई हजार किशोरीलाई आत्मरक्षा तालिम दिइएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । तालिम लिएका किशोरीहरुले आफ्नो टोल, समाज, विद्यालयका अरु किशोरीहरुलाई तालिम प्रदान गरिरहेको पनि उनको भनाइ छ ।

आत्मरक्षा तालिमा शारीरिक रुपमा गर्न सकिने सुरक्षा, हिंसाबाट कसरी बच्ने, दुर्व्यवहारको सामना र प्रतिकार कसरी गर्ने, समस्याको समाधान कसरी गर्ने, समस्या पर्दा कसरी अरुलाई भन्ने, सहयोग गर्न सक्ने को को हुन्छन् भन्ने जानकारी दिने गरिन्छ ।

‘हामीले किशोरीहरुमा हुने विभिन्न समस्या समाधनका लागि, उनीहरुको आत्मबल बढाउने खालका आत्मरक्षा तथा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्दै आएका छौँ’ महासचिव शर्माले भने, ‘यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको छ ।’

आत्मरक्षा र नेतृत्वसम्बन्धी तालिमकै प्रभावका कारण देवचुली नगरपालिकाकै आशा वि.क. एसिया बालिका अभियानको ‘बालिका एम्बास्डर’ बन्न सफल भएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भएकाले नगरबाट समेत बालबालिकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइएको देवचुली नगरपालिका उप–प्रमुख पार्वता तिवारीले बताउनुभयो ।

आत्मरक्षा तालिमले किशोरीहरुमाथि हुने दुर्व्यवहार र हिंसा कम गर्न सहयोग पुगेको उहाँको भनाइ छ । 

नवलपुरका अरु पालिकाले समेत किशोरीको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । मध्यबिन्दु नगपालिकाले चेली बचाउ अभियान अन्तर्गत किशोरीहरुको क्षेत्रमा काम गरिरहेको छ । किशोरीहरुलाई आत्मरक्षा तालिमसहित नेतृत्व, व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गरेको छ ।

कावासोती, गैंडाकोट नगरपालिकासँगै हुप्सेकोट, विनयी त्रिवेणी, बौदिकाली, बलिङटार गाउँपालिकाले किशोरी सशक्तिकरणका क्षेत्रमा बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया