कागती खेतीमा रम्दै प्रमुख प्रशासकीय अधिकृत

 असोज ९, २०७६ बिहिबार १३:४६:९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – अहिले पनि धेरैजसो युवाहरु कृषि पेसामा आउन नै चाहँदैनन् । धेरैमा कृषि सम्मानित पेसा नै होइन भन्ने मानसिकता पनि छ । 

पढेलेखेका व्यक्तिले त कृषि पेसा गर्ने होइन, अरु पेसा र व्यवसाय गर्नुपर्छ भनेर धेरैले भन्ने गरेका छन् । तर नवलपरासी पूर्व देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल भने कृषि पेसा अन्तर्गत कागती खेतीमा संलग्न हुनुहुन्छ । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले गर्नुपर्ने धेरै काम छन् । तर कार्यालय समयमा आफ्ना काम सकेपछिको समयमा उहाँले कागती खेती गर्दै आउनुभएको छ । देवचुली नगरपालिका –९ विशालटारमा रहेको आफ्नो जमिनमा उहाँले विक्रम संवत २०७४ देखि कागती खेती गर्दै आउनुभएको छ । 

जबसम्म कृषि उत्पादन बढ्दैन तबसम्म देश समृद्ध नहुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘देशको लागि चाहिने कृषि उपज आफ्नै देशमा उत्पादन गर्न सक्नुपर्छ । पहिले कृषिजन्य पदार्थमा आत्मनिर्भर हुन सक्नुपर्छ अनि मात्र देश समृद्धिको बाटोमा जान्छ ।’

हरेक सामान आयात गर्नुपर्ने अवस्था कायम रहँदासम्म अरबौँ रकम बाहिरिने र चाहेजति विकास निर्माणको काम गर्न नसकिने उहाँ बताउनुहुन्छ । आयात प्रतिस्थापन गरेर कृषिजन्य उपजहरु निर्यात गर्नसक्ने हो भने देशले चाँडै विकासको गति लिने प्रमुख प्रशासकीय अधिकृत भुसालकाे बुझाइ छ । ’अहिले विकास निर्माणमा खर्च गर्नुपर्ने रकम दैनिक उपभोग्य सामग्री कृषि उपज खरिदमा नै सकिएको छ । आयात घटाउन सके विकासका काममा लगानी बढाउन सकिन्छ’, उहाँले भन्नुभयो । 

आफूले पनि उत्पादनलाई जोड दिँदै अन्य युवाहरुलाई अभिप्रेरित गर्नका लागि कागती खेती गर्दै आएको उहाँले बताउनुभयो । ‘प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छु, यही काममा मात्रै म रमाउन पनि सक्थे’ उहाँले भन्नुभयो, ‘तर मैले म जस्ता सयौँलाई कृषिको महत्व बुझाउनुपर्छ भन्ने लागेर पनि यसतर्फ लागेको हुँ ।’ 

नेपालमा कृषि पेसालाई अझै पनि सम्मानजनक पेसाका रुपमा नहेर्ने कारणले गर्दा कैँयौ युवा सहजरुपमा यसतर्फ आउन नचाहेको भुसालले गुनासो गर्नुभयो । ‘युवाहरु स्वदेशको माटोमा रमाउन भन्दा विदेशी भूमिमा पसिना बगाउन तम्सिन्छन् । यसको अत्य गर्नुपर्छ, त्यसैले पनि म यो सन्देश दिन कागती खेतीमा लागेको हुँ’, उहाँले भन्नुभयो ।

उहाँले हाल आफ्नो नर्सरीमा एक सयभन्दा धेरै कागतीका बोट लगाउनुभएको छ । कागती राम्रो उत्पादन हुँदै आएको र आम्दानी पनि राम्रो लिँदै आएको अधिकृत भुसालले बताउनुभयो । यस वर्ष तीन लाख बराबरको कागती बिक्री गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । 

कार्यालय बाहेकको समयमा आफू कागती खेतीमा नै लाग्दै आएको उहाँले बताउनुभयो । कृषि पेसा पनि सँगसँगै गर्दा आत्मसन्तुष्टि मिलेको उहाँले खुशी हुँदै भन्नुभयो । आफ्नो कागती खेती गरेको देखेर अन्य धेरै कृषक पनि यस खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । 

कृषिप्रधान देश भन्ने तर हरेक कृषि उपजमा परनिर्भर हुनु बिडम्बना भएको बताउँदै उहाँले कृषिमा आउन चाहने हरेकलाई उत्प्रेरित गर्दै कृषि उपजको परनिर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी नेपाल कृषिप्रधान देश भन्छौँ, सबैजसो कृषि उपजमा परनिर्भर छौँ’, भुसालले भन्नुभयो, ‘कृषि उत्पादन बढाउँदै परनिर्भरता अन्त्य गर्नुपर्छ ।’

अन्तिम अपडेट: चैत ७, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Udaya Bahadur Paudyal

    Sept. 26, 2019, 7:41 p.m.

    जानकारी दिने प्रयास गर्नुभएकाेमा पंतिकारज्युलाई धन्यवाद । भुषालजी काे प्रयासलाई उत्प्रेरणाकाे लेखकाे रुपमा प्रस्तुत गर्नकाे लागी कमसे कम जग्गाकाे कुल क्षेत्रफलऽ प्रति ईकाई क्षेत्रफलमा कति उत्पादन र आम्दानी, बजार काे अवस्था , कुल लागत, आदि उल्लेख गर्न आवस्य्क हुने थियाे । यसका साथै भुषालजी काे सम्पर्क नं पनि सहयाेगी हुन् थियाे । बाँकि सबै राम्राे लाग्याे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया