सुरक्षित रुपमा यसरी काम गर्नुहोस्, दुर्घटनाबाट बचिन्छ

 असोज ९, २०७६ बिहिबार १३:१०:२६ | मेरो कथा मेरो भोगाई

बरुणकुमार झा/आयोजना प्रमुख,व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ।

कारखानामा गरिने शारिरिक काम होस् या कार्यालयमा हुने बौद्धिक काम । सुरक्षा अपनाइएन भने दुर्घटना हुन सक्छ ।

कार्यस्थलमा हुने विभिन्न प्रकारका जोखिमबाट बच्न तथा दुर्घटना हुन नदिन सुरक्षामा ध्यान दिनुपर्छ । यसरी कार्यक्षेत्रमा हुने विभिन्न प्रकारका जोखिमबाट बच्न अपनाइने सुरक्षालाई व्यवसायजन्य सुरक्षा भनिन्छ । 

कुनै कारखानामा या पेशामा संलग्न कामदार या श्रमिकहरुलाई त्यहाँ भएका मेशिन तथा औजारहरुबाट हुनसक्ने दुर्घटनाबाट बचाउन गरिएको उपाय हो ।

कारखानाबाट निस्कने धुलोधुवाँ, तथा विषादीबाट त्यहाँ काम गर्ने श्रमिकलाई रोग नलागोस् भनेर अपनाइने उपाय नै व्यवसायजन्य सुरक्षा हो । जस्तो आफू काम गरिरहेको कम्पनी या कारखानाबाट उत्पादित धुलोधुवाँले टीबी लाग्यो भने त्यो व्यवसायजन्य रोग भयो । 

व्यवसायजन्य सुरक्षा कारखानामा काम गर्ने कामदारको लागि मात्रै होइन, हरेक पेशा र व्यवसायमा यो लागू हुन्छ । दुनियाँमा यस्तो कुनै पेशा नै छैन जसमा व्यवसायजन्य सुरक्षा नजोडिएको होस् ।

सबै पेशा तथा व्यवसायमा केही न केही सुरक्षा अपनाउनै पर्ने हुन्छ । फरक यति हो कुनैमा ज्यादा जोखिम हुन्छ भने कुनैमा कम जोखिम हुन्छ । 

यस्तै काममा खतराका किसिमहरु फरक फरक हुन्छन् । कुनै काममा मेकानिकल खतरा (मेकानिकल हेजार्ड), कुनैमा ब्याक्ट्रियल खतरा हुन्छ । कतै मानसिक खतरा हुन्छ । 

खतरा नभएको संसारमा कुनै पेशा छैन । कारखानाबाहेकको पेशा अर्थात ‘ह्वाइट कलर जब’मा पनि व्यवसायजन्य सुरक्षा लाग्छ । यसकारण समग्रमा भन्नुपर्दा, कुनै पनि पेशामा संलग्न व्यक्तिलाई त्यो पेशामा भएको खतरा या जोखिमबाट हुनसक्ने दुर्घटना र लाग्न सक्ने रोगबाट बचाउन गरिएको उपाय नै व्यवसाय सुरक्षा तथा स्वास्थ्य हो ।

देश विदेशमा काम गर्दा यी कुरामा ध्यान दिनुहोस्

सुरुमा दुर्घटना किन हुन्छ भन्ने कुरा गरौँ । बिना योजना, बिना सूचना अचानक घट्ने घटनालाई दुर्घटना भनिन्छ । दुर्घटना हुनुका दुईटा कारण हुन्छन् । अनसेफ एक्ट (असुरक्षित काम) र अनसेफ कण्डिसन (असुरक्षित अवस्था) । 

अनसेफ एक्ट अन्तर्गत काम गर्ने व्यक्तिको आचरण, व्यवहार, क्रियाकलाप, ज्ञान, सीप सबै पर्छ । यसको मत्लब अनसेफ एक्टको जिम्मेवार कामदार आफै हुन्छ । अनसेफ कण्डिसनको जिम्मेवारी भने रोजगारदाताको हुन्छ । अनुसन्धानले देखाएअनुसार अनसेफ एक्टले ८८ प्रतिशत दुर्घटना हुन्छ । 

शारीरिक काम गर्ने श्रमिकको हकमा अनसेफ एक्ट भन्नाले काम अनुसारको शारीरिक अवस्था उपयुक्त नहुँदा पनि त्यही काम गर्नु हो । कामदारको कामअनुसारको मानसिक अवस्था उपयुक्त नहुँदा त्यही काम गर्नु पनि अनसेफ एक्टभित्र पर्छ । 

जस्तो धुलोसँग एलर्जी छ तर कृषिको काम गर्छ उने उसलाई ज्यादा जोखिम हुन्छ । ज्ञान, सीप तथा अनुभवको कमी छ र त्यही काम गर्छ भने त्यसले पनि अप्ठ्यारो पार्छ ।

काम गर्ने ठाउँमा अनावश्यक जोखिम उठाउनु, यस्तै काम गर्ने तौरतरिका उपयुक्त नहुनु अर्थात असुरक्षित तरिका अपनाएर काम गर्नु अनसेफ एक्ट हो । 

व्यक्तिगत सुरक्षाका उपकरणहरु (पर्सनल प्रोटेक्टिव इक्युपमेन्ट, पीपीई) सही तरिकाले प्रयोग गर्न नजान्नु, तोकिएको गति भन्दा बढी गतिमा मेसिन सञ्चालन गर्नु, केहीबेरको सजिलोको लागि मेसिनमा भएका सुरक्षाका व्यवस्थाहरु हटाएर काम गर्नु आदि सबै अनसेफ एक्ट नै हुन् । 

यस्तै जाँडरक्सी खाएर काम गुर्नु, काममा ध्यान नदिनु, ‘ओभर कन्फिडेन्स’ हुनु, ईच्छाविपरितको काम हुनु, लामो कार्यसमय पनि व्यवसायजन्य असुरक्षा बनिदिन्छ । ओभरटाइम काम गर्न थाल्दा समस्या आउन सक्छ । यस्ता दुर्घटनाहरु कामदार स्वंयमको हातमा हुन्छन् । 

अब अनसेफ कण्डिसनको कुरा गर्दा काम अनुसारको कार्यस्थलको संरचना नहुनु हो । असुरक्षित मेसिन औजारको प्रयोग गर्नु, यस्तै सुरक्षा नभएका मेसिनको प्रयोग गर्नु, कार्यस्थलको वातावरण पनि अर्को कुरा हो ।

काम गर्ने ठाउँमा धुलो धुवाँ हुनु, फोहोर हुनु, धेरै गर्मी या धेरै चिसो हुनु । यो सबै अनसेफ कण्डिसनमा जान्छ । यो सबै रोजगारदाताको हातको कुरा हो । त्यसैले यी कुरालाई ध्यानमा राखेर काम गर्नपर्छ । 

पहिला सुरु हुँदा व्यवसायजन्य सुरक्षा भनेको कसैले पनि बुझ्दैन थिए । अहिले कम्पनीमा काम गर्ने कामदारहरु आफ्नो स्वास्थ्यको बारेमा कुरा उठाउन थालेका छन्।

सुरक्षाका साधनहरु रोजगारदातासँग माग्न थालेका छन् । श्रम ऐनमा पनि यो कुरा प्रष्ट पारिएको छ । अनसेफ कण्डिसन त आफ्नो हातको कुरा होइन, तर आफ्नो हातको अनसेफ एक्टलाई पनि नियन्त्रण गर्ने हो भने ८८ प्रतिशत दुर्घटना कम गराउँछ । हाम्रो देशमा दुईटै कुरामा ध्यान दिनुपर्ने देखिएको छ । सर्वप्रथम आफूले गर्न सक्ने अनसेफ्ट एक्ट नियन्त्रण गर्नहोस् । 

रसायनमा काम गर्ने श्रमिकहरुले मुख्यतया तीन कुरामा ध्यान दिनुपर्छ । सबैभन्दा पहिले व्यक्तिगत कुरामा ध्यान दिनुपर्छ, व्यक्तिगत सुरक्षाका साधनहरुको प्रयोग गर्न छुटाउनु हँुदैन, यस्तै आफूले प्रयोग गर्ने रसायनको बारेमा जानकारी लिइराख्नुपर्ने हुन्छ ।

मुख्य कुरा भनेको अनसेफ्ट एक्ट नै नियन्त्रण गर्ने हो । जस्तो रातभरी सुतेको छैन, बिहान काममा गयो, यसलाई ‘ल्याक अफ स्लीप’ अर्थात अपर्याप्त निद्रा भनिन्छ ।

यसले पनि दुर्घटना निम्त्याउँछ, जुन अनसेफ्ट एक्टमा पर्छ । काम गर्दा यी कुरालाई ध्यानमा राखेर काम गर्नुहोस् । व्यवसायजन्य कारणले लाग्ने रोग र हुने दुर्घटनाबाट बच्न सकिन्छ ।

अन्तिम अपडेट: असोज २८, २०७६

तपाईको प्रतिक्रिया