काठमाण्डौबाट मलेखु पुग्नै ९ घण्टा, पर्यटक सोध्छन् : यस्तो पनि देशको मुख्य राजमार्ग हुन्छ ?

 असोज ९, २०७६ बिहिबार १८:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौबाट नौ जना विदेशी पर्यटकसहितको गाडी लिएर पर्यटक गाइड विरोध बुर्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो । नागढुंगा नपुग्दै नै पर्यटकहरु छटपटिन थालेका थिए । 

तर नागढुंगाभन्दा तलको बाटोमा जामको कुरा गरिसाध्ये थिएन । जामको कुनै खास कारण थिएन । साँघुरो बाटोमा ठूला गाडी र साना मोडमा गाडीको गति कम हुँदा सयौँ गाडी जाममा थिए । 

नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई सम्झाउनै मुश्किल परेको गाइड बुर्लाकोटीको भनाइ छ । 

पर्यटकलाई शौचालयको समस्या भयो । बाहिर शौच नगर्ने उनीहरु यात्राबाट आत्तिएका थिए । बल्लतल्ल भेटिएको शौचालयमा २० रुपैयाँ प्रतिव्यक्तिका दरले शौचालय गराएको बुर्लाकोटीले बताउनुभयो । 

भोक लागेर पनि पर्यटकले हैरानी बेहोरेका थिए । ‘बाटोमा राम्रा होटल पनि थिएनन्, पर्यटकले निकै नरमाइलो मानिरहेका थिए’, बुर्लाकोटीले भन्नुभयो, ‘केही पर्यटकले त कुनै देशको मुख्य राजमार्ग यस्तो हुन्छ ?  भन्ने प्रश्न गरिरहेका थिए ।’

बल्लबल्ल जाम छिचोल्दै उहाँ साढे ३ बजे मात्रै नौबिसे पुग्नुभएको थियो । बेलुका साढे पाँच बजे मात्रै उहाँ मलेखु पुग्नुभयो । उहाँलाई काठमाण्डौबाट मलेखु पुग्न ९ घन्टा भन्दा धेरै समय लाग्यो । 

पछिल्लो हप्तादेखि नागढुंगाबाट मलेखुसम्मको सडकका गाडीको जाम बढ्दै जाँदा हजारौँ यात्रुले समस्या भोगिरहेका छन् । साँघुरो सडकमा ठूला–ठूला मालवाहक गाडी बिस्तारै हिँड्दा र एउटा गाडी बिग्रँदा पनि राजमार्ग नै ठप्प हुने गरेको छ ।

‘जाम हुन खासै कारण नै चाहिन्न, एउटा सानो गाडी बिग्रियो भने पनि एकैछिनमा सयौँ गाडी थुप्रिन्छन्, जाम बढेपछि धेरै समयसम्म समस्या पर्छ’, नागढुंगाका ट्राफिक प्रहरी प्रमुख विदुरमणि भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • अर्जुन पाण्डे

    Sept. 26, 2019, 9:05 p.m.

    ओहो, जामको त नकुरा गरुँ ।भिजीट २०२० पाे के हुनेहाे, भगवान !!

  •  0 Reply

तपाईको प्रतिक्रिया