सुन्दरबजारका स्थानीयको माग: विकल्पको खोजी गरी लोकमार्ग निर्माण गर

 असोज ९, २०७६ बिहिबार १९:१५:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपालको गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजारको बजार क्षेत्रमा सडक निर्माणको कार्य अघि बढ्न सकेको छैन ।

लमजुङको पाउँदी ढिक–थाक्ले चौतारासम्मको झण्डै ८ किलोमिटर क्षेत्रमा विवादका कारण सडक निर्माण कार्य अघि बढ्न नसकेको हो । उचित विकल्पको खोजी गरी सडक निर्माण कार्य अघि बढाउन स्थानीयले विभिन्न निकायसमक्ष बारम्बार अनुरोध गर्दै आएका छन् ।

यसै ठाउँ भएर सडक विस्तार गरिँदा सुन्दरबजार नगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेका मोटरबाटोसँग जोडिएका बजार क्षेत्रमा रहेका अधिकांश घर नासिने र धेरै नागरिकको उठिबास लाग्नसक्ने मध्यपहाडी लोकमार्ग पीडित संघर्ष समितिका संयोजक उत्तम गुरुङले बताउनुभयो ।

‘कतिले पैतृक सम्पत्ति बेचेर, कतिले विदेशमा रगत–पसिना बगाएर घर–घडेरी जोडेका छन् । बाटोले त्यही घरघडेरीमा क्षति पुर्याउँदा धेरै नागरिक सुकुम्बासी बन्नुपर्ने अवस्था आउन सक्छ,’ गुरुङले भन्नुभयो, ‘त्यसैले उचित विकल्पको खोजी गरी लोकमार्ग निर्माणको काम अघि बढाइयोस् भन्ने सम्बन्धित निकायसमक्ष हाम्रो जोडदार माग छ ।’

खर्च र क्षतिकाे मात्रा कम हुनेगरी उचित विकल्पको खोजी गरेर लोकमार्ग निर्माण कार्य अघि बढाउनुपर्नेमा संघर्ष समितिका सह–संयोजक नवीकुमार श्रेष्ठले जोड दिनुभयो ।

मध्यपहाडी लोकमार्गकै कारण आफूहरुको घरघडेरी बिक्री वितरण नहुनुका साथै बैंक तथा वित्तीय संस्थाले लगानी नगरेको सुन्दरबजार नगरपालिका–६, मिलनचोकका श्रीचन्द्र लामिछानेले गुनासो गर्नुभयो । मध्यपहाडी लोकमार्ग पीडित संघर्ष समिति, सुन्दरबजारले बिहीबार सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रलाई यसबारे ज्ञापन पत्र बुझाएका छन् ।

पत्र बुझ्दै मेयर मिश्रले मध्यपहाडी लोकमार्गको विषय सुन्दरबजार क्षेत्रमा पेचिलोसँगै महत्वपूर्ण रहेको बताउनुभयो । यसको सही व्यवस्थापन हुनु जरुरी रहेको उहाँले बताउनुभयो । ‘यो विषय पेचिलोसँगै महत्वपूर्ण पनि छ । यसलाई ‘डाइभर्ट’ गरी अन्यत्र लगे यहाँको विकास पछि पर्न सक्छ । तीनै वटा सरकारले जनताको भावना बुझ्नुपर्छ, समस्याको समाधानका लागि सम्भव भएसम्म संघीय सरकारसमक्ष अनुरोध गरिनेछ’, उहाँले भन्नुभयाे ।

संघर्ष समितिले सम्बन्धित निकायले आफूहरुको मागलाई असोज मसान्तसम्ममा सम्बाेधन नगरेमा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • दिवाकर

    Sept. 27, 2019, 7:06 a.m.

    यदि उक्त मार्ग समय मा नै सम्पन्न गर्ने हो भने पाउदी बाट तनहू तर्फ लगी दुधेकुना-उल्याहार-रुपकोट - कुन्छा हुदै लम्जुंग जोडन पर्छ l नया मार्ग हुने हुदा धेरै बस्ती बिनास पनि नहुने मार्ग द्रुत तथा सहज पनि हुन्छ l एक पटक सबैले बिचार गर्ने की..........?

  •  0 Reply

तपाईको प्रतिक्रिया