म्यार्दी खोलामा पुल : ३ महिनापछि बेसीशहर–चामे सडकखण्ड पूर्ण रुपमा सञ्चालन

 असोज १०, २०७६ शुक्रबार १८:५९:२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ र मनाङको सिमाना म्यार्दी खोलामा ट्रस पुल राखिएको छ । झण्डै ३ महिनाअघि आएको बाढीले म्यार्दीखोलामा बनाइएको बेलिब्रिज बगाएको थियो ।

बेलिब्रिज बगाएसँगै बेसीशहर–चामे सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको थिएन । पूर्ण रुपमा सडक सञ्चालन नहुँदा स्थानीय र पर्यटकलाई आवत–जवातमा निकै समस्या भएको थियो । मनाङमा खाद्यान्न, तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालको थियो ।

‘बाढीले पुल बगाएपछि सडक पूर्ण रुपमा नखुल्दा गाडीहरु बीचैमा रोकिएका थिए । आउजाउमा समस्या थियो’, स्थानीय सञ्चारकर्मी नेगम परियारले भन्नुभयो, ‘अहिले म्यार्दी खोलामा ट्रस पुल राखिएसँगै आवत–जावतमा सहज भएको छ । रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।’ उहाँका अनुसार डिभिजन सडक कार्यालय, दमौलीले म्यार्दी खोलामा ट्रस पुल बनाएको हो ।

म्यार्दी खोलामा पुल बन्नुका साथै म्यार्दी खोलाको मनाङतर्फ पर्ने भागमा खसेको पहिरो नासोङ गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा हटाएसँगै अहिले बेसीशहर–चामे सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको सञ्चारकर्मी परियारले बताउनुभयो ।

दोहोरो रुपमा सवारी साधन चलेसँगै आउ–जाउका साथै खाद्यान्न, तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको आयातमा सहज हुने चामेमा होटल व्यवसाय गर्दै आउनुभएका पूर्णबहादुर गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया