‘इन्टेग्रिटी आइडल २०१९’ को उपाधि चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई

 असोज ११, २०७६ शनिबार ९:३०:५७ | किरण थापा
unn.prixa.net

काठमाण्डौ – सन् २०१९ को ‘इन्टेग्रिटी आइडल’को उपाधि इलामको चुलाचुली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले प्राप्त गर्नुभएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच राईलाई ‘इन्टेग्रिटी आइडल २०१९’ घोषणा गरिएको हो ।यस वर्षको ‘इन्टेग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँचमध्ये एसएमएस र वेबसाइटबाट प्राप्त मतका आधारमा राई ‘सर्वोत्कृष्ट’ अर्थात् ‘इन्टेग्रिटी आइडल’ को छनोटमा पर्नुभएको हो ।

यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टा छुट्टै उपाधिबाट सम्मान गरिएको छ । जसअनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई लाई ‘इन्टेग्रिटी विथ एक्सन अवार्ड’ बाट सम्मान गरियो ।

जिल्ला अस्पताल मुगुका सिनियर अ.न.मी. पुण्यप्रभा देवकोटालाई ‘इन्टेग्रिटी विथ कम्प्यासन अवार्ड’, श्री भानु माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरैलाई ‘इन्टेग्रिटी विथ इन्स्पिरेसन अवार्ड’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीलाई ‘इन्टेग्रिटी विथ इनोभेसन अवार्ड’ र वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्रलाई ‘इन्टेग्रिटी विथ करेज’ अवार्डबाट सम्मान गरिएको थियो ।

‘इन्टेग्रिटी आइडल २०१९’ को उपाधि पाउन सफल राईले कार्यक्षेत्रमा खटिँदा त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहीको हितमा काम काम गर्ने गरेको र जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गरेको आयोजक संस्था एकाउन्टेबिलिटी ल्याबले जनाएको छ ।

विजेता राईले अबका दिनमा अझ जिम्वेवार रुपमा नागरिकको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सेवाग्राहीलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न सक्नु नै कर्मचारीको पहिलो प्राथमिकता भएको बताउनुभयो । राईले आफूले पाएको उपाधिले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।  ‘सरकारी सेवामा इमान्दारीका साथ काम गर्नेलाई कसैले चिन्दैन भनिन्छ, त्यही भ्रमलाई चिर्नका लागि म आपैं उदाहरण बनेर काम गरिरहेको छु’, राईले भन्नुभयो, ‘सम्मानले अझ बढी थप जिम्मेवार बनाएको छ र भोलिका दिनहरुमा थप काम गर्ने प्रेरणा समेत मिलेको छ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रक्रियापश्चात विभिन्न मापदण्डका आधारमा प्रतिस्पर्धीमध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टेग्रिटी आइडल २०१९’ मा यस २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुल्ला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट ११०० वटा मनोनयन प्राप्त भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्र्व सचिव जीवनप्रभा लामा सदस्य रहनु भएको निर्णायक समितिले उत्कृष्ट छनोट गरेको हो । 

इन्टेग्रिटी आइकनबाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमा प्रमुख अतिथि, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले भन्नुभयो, ‘मान्छे अहिले नैतिकभन्दा पनि भौतिक सेवा सुविधामुखि भइरहेको समयमा इन्टेग्रिटी आइकनले एउटा नौलो र सकारात्मक अभ्यासको सुरुवात गरेको छ । इतिहास हेर्ने हो भने पनि नैतिकवान व्यक्तिहरू नै परिवर्तनका सम्वाहक बन्न सफल भएका छन् । आज सम्मानित व्यक्तिहरू सकारात्मक परिवर्तनका सम्वाहक बन्नेछन् भन्ने विश्वास लिएको छु ।’ 

सार्वजनिक सेवामा सदाचारिता प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१४ नेपालबाट सुरु भएको यो अभियान छैटौँ संस्करणसम्म आइपुग्दा, लाइबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया, श्रीलंका, नाइजर र मेक्सिकोलगायतका देशमा विस्तार भैसकेको आयोजक संस्था एकाउन्टेबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताउनुभयो ।

‘अवको आवश्यकता भनेको सरकारी सेवामा सिर्जनात्मक तवरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने युवा पुस्तालाई प्रोत्साहन गर्नु हो । अहिले युवाहरूले थुप्रै सामाजिक, आर्थिक तथा राजनितिक विषयमा आवाज उठाइरहेका छन् । पुरानो पुस्ताको भूमिका हुँदैन भन्ने कदापि होइन । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको र्सिजनालाई सँगै अगाडि लाने हो भने संयन्त्र सुधारको बाटो अझै फराकिलो हुनेछ’, आयोजक संस्था एकाउन्टेबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया