बेलकोटगढीमा ब्राह्मण, दलित र जनजातिले राखे सामूहिक जमरा

 असोज १३, २०७६ सोमबार ७:४९:० | रासस
unn.prixa.net

नुवाकोट – वडादशैँका अवसरमा नुवाकोटको बेलकोटगढीमा २३५ परिवारले आइतबार घटस्थापनाको दिन सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० बेलकोटगढीस्थित नीरञ्जना भगवाती माईको दशैँ घरमा दलित, जनजाति र ब्राम्हण समुदायका स्थानीयले सामूहिक जमरा राखेका हुन् ।

कानूनले जातीय छुवाछूत निषेध गरे पनि ग्रामीण भेगमा अझै पनि यसको अवशेष कायमै रहिरहेको पाइन्छ । तर यहाँको दशैँ घरमा दलितको सँगै बाहुनको समेत जमरा राख्ने चलन निकै पुरानो भएको मन्दिरका पुजारी महेश पौडेलले बताउनुभयो । ‘पृथ्वी नारायण शाहले बेलकोट राज्य जितेपछि सामूहिक जमरा राख्न थालिएको हो । त्यस यता हरेक वर्ष दलित, जनजाति र ब्राम्हणको जमरा गाउँको मन्दिरको दशैँ घरमा सामूहिकरुपमा राखिँदै आएको छ ।’

नुवाकोटको नौ कोटमध्ये बेलकोट पनि एक हो । यहाँको नीरञ्जना भगवती मन्दिर एक शक्तिपीठका रुपमा पुजिँदै आएको छ भने दशैँमा काठमाण्डौको हनुमान ढोकोका दशैँ घरमा गरिने पूजा विधिअनुसार नै पूजा हुँदै आएको पूर्वगाविस अध्यक्ष वासु कडुवालले बताउनुभयो ।

यो वर्ष सामूहिक जमरामा स्थानीय मिजार, विश्वकर्मा, नेपालीलगायतको ३५ घरपरिवारसहित बाहुन, क्षेत्री, मगर परिवारले नीरञ्जना भगवती मन्दिर परिसरमा रहेको दशैँघर(कोतघर)मा सामूहिक जमरा राखेका हुन् । यहाँका पाण्डेगाउँ, मिजारटोल, मैदानटोल, गैरीगाउँलगायतका स्थानीयले सामूहिक जमरा राखेका हुन् ।

यहाँको मन्दिरको नाममा ३९१ रोपनी गुठीको जग्गा भए पनि मन्दिरमा पूजा सञ्चालनको लागि कुतबाली प्राप्त हुन छाडेपछि परम्परा धान्न सकस भए पनि पछिल्लो समय स्थानीय सरकारले आर्थिक सहयोग गर्न थालेको बेलकोटगढी नपा–१० का वडाअध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताउनुभयो । यो वर्ष यहाँको दशैं पूजा सञ्चालनका लागि बेलकोटगढी नपाले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया