शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–१ कुन्छामा रहेको भागिरथी सामाजिक उद्यमी महिला सहकारीले दशैँलाई लक्षित गर्दै खसीबोका हाटबजार सञ्चालन गरेको छ ।
आइतबार सहकारीले आफ्नै भवनमा सञ्चालन गरेको खसीबोका हाटबजारमा सहकारीका सदस्यहरुले उत्पादन गरेका खसीबोका बिक्रीका लागि ल्याएका थिए ।
किसानले गाउँमै उत्पादन गरेका कृषि उपजले गाउँमै उचित मूल्य र बजार पाओस् भन्ने उद्देश्यका साथ खसीबोका हाटबजार सञ्चालन गरिएको सहकारीकी संस्थापक अध्यक्ष एवं खसीबोका हाटबजार सञ्चालक समितिकी संयोजक सन्तोषी गौलीले बताउनुभयो ।
‘हाटबजार सञ्चालन भएसंगै किसानको उत्पादनले गाउँमै उचित बजार र मूल्य पाएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले किसानहरु बाख्रापालनमा आकर्षित भएका छन् । गाउँको उत्पादन गाउँमै बिकेपछि पैसाकै लागि बिदेसिनु पर्दैन भन्ने सन्देश प्रवाह भएको छ ।’ हाटबजार सञ्चालनले किसानसँगै उपभोक्तालाई पनि फाइदा मिलेको उहाँ बताउनुहुन्छ ।
‘गाउँमै हाटबजार सञ्चालन हुँदा बिचौलिया समस्याको न्यूनीकरणमा पनि सहयोग पुगेको छ । जसले गर्दा किसार र उपभोक्ता दुवैलाई पाइदा पुगेको छ’, उहाँले भन्नुभयो । सहकारीले विगत ४ वर्षदेखि दशैँको अवसरमा खसीबोका हाटबजार सञ्चालन गर्दै आएको छ ।
हाटबजारमा आइतबार मात्रै एक हजार सात सय ८८ केजी आठ ग्राम तौल बराबरको ७० वटा खसीबोका बिक्री भएको उहाँले बताउनुभयो । ‘७० वटै खसीबोका खरिद गर्न सहकारीले सात लाख ४१ हजार पाँच सय ३७ रुपैयाँ खर्चेको थियो ।
किसानबाट खरिद गरिएको खसीबोका बिक्रीबाट सहकारीले सात लाख ४९ हजार नौ सय एक रुपैयाँ प्राप्त गरेको छ । खसीबोका खरिद गरेका उपभोक्ताले प्रतिकेजी पाँच रुपैयाँका दरले सहकारीलाई शुल्क पनि बुझाएका थिए’, संयोजक गौलीले भन्नुभयो ।
हाटबजारमा खसीबोका खरिद गर्न काठमाण्डौसहित बेसीशहर, सुन्दरबजार लगायतका ठाउँबाट व्यापारी, व्यवसायी, उपभोक्ता आउने गरेको उहाँ बताउनुहुन्छ ।
खसीबोका हाटबजारले उपभोक्तालाई स्थानीयस्तरमा उत्पादित स्वच्छ खसीबोकाको मासु खान पाउने वातावरण सिर्जना गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । उहाँका अनुसार गएको वर्षभन्दा यस वर्ष हाटबजारमा उपभोक्ताको भिड बढेको छ ।
सहकारीले २० केजी तौलसम्मका खसीबोकाको मूल्य प्रतिकेजी चार सय, २० केजीदेखि २४ दशमलव ९ केजीसम्म चार सय ५०, २५ केजीदेखि ३५ केजीसम्म चार सय ७५ र ३५ केजीमाथि तौल भएका खसीबोकाको मूल्य प्रतिकेजी पाँच सय रुपैयाँ निर्धारण गरेको थियो ।
३५ जना महिला सदस्यहरुबाट विक्रम संवत २०७२ सालबाट सुरु भएको सहकारीमा अहिले तीन सय ११ जना महिला सदस्य रहेका छन् । सहकारीमा आबद्ध सबैजसो सदस्यहरुले व्यवसायिक बाख्रापालन गर्दै आएका छन् । उनीहरुलाई बाख्रापालनका लागि सहकारीले सघाउँदै आएको छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।