आईसीसीले चाँडै नै नेपाली क्रिकेटको भविष्यका लागि सुखद् निर्णय गर्छ : अध्यक्ष चन्द

 असोज १३, २०७६ सोमबार १८:१९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अक्टोबर १३ मा बस्ने आईसीसीको बैठकले नेपाली क्रिकेटको भविष्यका लागि सुखद् निर्णय गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष चन्दले अहिले आएको नयाँ नेतृत्व पनि क्यानको प्रतिबन्ध फुकुवा गराउनका लागि पहल गर्न र नेपाली क्रिकेटको विकासका लागि आएको पनि प्रस्ट पारे ।

आईसीसीकै शर्तअनुसार काम गरेकाले निलम्बन फुकुवा हुनेमा वर्तमान नेतृत्व निकै आशावादी रहेको पनि अध्यक्ष चन्दको भनाइ थियो । १३ अक्टोबरपछि मात्रै अहिलेको निर्वाचित कार्यसमितिले काम गर्न पाउने भएकाले निलम्बन फुकुवाका लागि पहल भइरहेको पनि उनले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि भएको चुनावलाई लोकतान्त्रिक पद्दतिअनुसार स्वीकार गर्न आग्रह गर्दै पराजित भएका उम्मेदवारहरुको योगदानको कदर गर्दै सधैँ साथमा लिएर अघि बढ्ने प्रतिबद्धता पनि चन्दले जनाएका थिए ।

यसअघि पनि अध्यक्षमा चयन भएका चन्दकै कार्यकालमा क्यान निलम्बनमा परेको थियो । त्यसैले उनले आफू आएको ५ महिनापछि क्यान आईसीसीको निलम्बनमा परेको भए पनि पहिलो दिनदेखि नै राष्ट्रिय खेलकुद परिषद्ले काम गर्न नदिएकै कारण अहिलेको अवस्था आएको बताए । तर अहिले सबै निकाय मिलेर नेपाली क्रिकेटको विकासका लागि सबै एकै ठाउँमा भएकाले समस्या समाधान भएको र अब निलम्बन फुकुवा गर्ने जिम्मेवारी आईसीसीको हातमा सीमित रहेको पनि उल्लेख गरे ।

नेतृत्वमा आउने व्यक्तिहरु कुनै राजनीतिक आस्थामा आवद्ध भए पनि काम गर्दा राजनीतिक आग्रह वा पूर्वाग्रह कुनै पनि नराख्ने चन्दले बताएका थिए ।

यसैगरी क्यान निलम्बनपछि घरेलु क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको ठूलो भूमिका रहेको बताउँदै कानुनसम्मत भएका लिगहरुलाई कुनै असर नपर्ने बताउँदै त्यसका लागि मिलेर काम गर्ने बताए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया