‘प्याजबिना पनि भान्सा स्वादिष्ट हुन्छ, चुल्हो नबल्ने जस्तो गरी आत्तिनु पर्दैन’

 असोज १३, २०७६ सोमबार १९:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो हप्तादेखि प्याजको भाउ अस्वभाविक हिसाबले उकालो लागेको छ  ।

सामान्य अवस्थामा बढीमा ४० रुपैयाँ किलोसम्म पाइने प्याज अहिले १ सय ४० रुपैयाँसम्म पुगेको छ । व्यापारीहरुले भारतबाटै प्याजको भाउ बढेर आएको र अब भारतले निर्यात पनि बन्द गरेको भाउ झनै बढ्ने बताएका छन् । तर साह्रै महँगो भएपछि उपभोक्ताले प्याजको विकल्प खोज्न थालेका छन् ।

‘प्याजको भाउ बढ्यो भनेर टाउको ठोक्दै हिँडनुपर्दैन, मैले त प्याजबिना पनि स्वादिष्ट खाना बनाउने गरेकी छु, प्याजको भाउ सस्तो हुँदा पनि मैले एउटा प्याज २ छाकलाई पुर्‍याउने हो, प्याजबिना चुल्हो बल्दैन भनेजसरी हल्ला भएको देखेर छक्क परेकी छु’, बल्खु तरकारी बजारमा भेटिएकी बाग्लुङकी लक्ष्मी केसीले भन्नुभयो । 
आफूले प्याजको विकल्पमा लसुन र अदुवा प्रयोग गर्ने गरेको केसीले बताउनुभयो ।

यस्तै मकवानपुरको चित्लाङ घर भइ अहिले काठमाण्डौमा रेष्टुरेन्ट चलाइरहेका महेन्द्र बलामीले पनि खाना र खानाका परिकारमा प्याज नभए पनि उपभोक्ताले स्वाद मानेर खाइरहेको बताउनुभयो ।

‘पछिल्लो २/३ दिन प्याजको भाउ छोइसक्नु छैन, मैले प्याज नै नहाली खाना/खाजा बनाइरहेको छ, सबै ग्राहकले स्वाद मानेर खाइरहेका नै छन्, प्याज हाल्दैमा मिठो हुन्छ भन्ने छैन’, बलामीले भन्नुभयो ।

व्यापारी भन्छन् : हामी नै प्याज कम प्रयोग गर्छौँ, उपभोक्ता किन आत्तिएका होलान्

काठमाण्डौको बल्खु तरकारी बजारमा प्याजको थोक व्यापार गर्ने निशान लामिछानेले प्याजको भाउ हेर्दा आफूहरु नै प्याज नखाने अवस्थामा पुगेको बताउनुभयो । 
‘हिजो मात्रै मैले ९० रुपैयाँ किलोमा १० टन जति प्याज गरी गरेँ, तर आज बिहान खरिद गर्न गएको १ सय २० रुपैयाँ पुगिसकेछ, ग्राहकहरुले हामीलाई ठग जस्तो गर्छन्, तर यो मूल्य कहाँबाट बढ्छ पत्तै छैन’, निशानले भन्नुभयो ।

आफूले भान्सामा निकै कम मात्रै प्याजको प्रयोग गर्ने गरेको उहाँले भन्नुभयो, ‘एकातिर महँगो छ, अर्कातिर धेरै प्याज हाल्दैमा खाना खुब स्वादिष्ट हुन्छ भन्ने भ्रम हो, प्याज नहाले पनि हुन्छ नि ।’

अदृश्य बिचौलिया

हुन त नेपालमा खपत हुनेमध्ये जम्मा २ प्रतिशत प्याज मात्रै यहीँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत विदेशबाट आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीहरुले दोब्बरसम्म लिने गरेका छन् । तर तरकारी बजारमा ब्यापार गर्दै आएका ठूला व्यापारीहरुले नै प्याजको भाउ कस्ले बढायो भन्ने बारेमा आफूहरु बेखबर रहेको बताए ।

‘भैरहवामा नै हामीले १ सय ७ रुपैयाँ किलो किन्नुपर्छ, प्रतिकिलो सात रुपैयाँ भाडा लाग्छ, अनि कुहिएर नष्ट पनि हुन्छ, सबै जोड्दा हामीले १ सय २० रुपैयाँ किलो बेच्छौँ, बिचौलिया भनेको को हो मलाई त थाहा छैन’, बल्खुमा दैनिक ५ टनको हाराहारीमा प्याज बेच्ने रितेश गुप्ताले भन्नुभयो ।

काठमाण्डौ उपत्यकामा भन्दा पनि ठूला बिचौलिया भन्सार वरपर रहेको हुन सक्ने गुप्ताको भनाइ छ ।

भाउ अझै चर्को हुन सक्ने

नेपालमा प्याज उत्पादनको सिजन सुरु भएको छैन । भारतले प्याज निर्यातमा प्रतिबन्ध  लगाएको छ । अनि १०/१२ दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा १ सय ४० रुपैयाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारीहरुले बताएका छन् । 

‘धेरै दिनसम्म भण्डारण गरेर राख्न सकिन्न, जस्ले जोगाएर राख्छ, त्यसले त महँगो भन्ने नै भयो नि’, व्यापारी रितेश गुप्ताले भन्नुभयो । अहिले काठमाण्डौमा दैनिक झण्डै ३ सय मेट्रिक टन प्याजको माग रहेको छ ।

प्याज गोदाममा छापा

नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले सोमबार कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरिद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो ।

अनुगमन टोलीले खरिद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविक रुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो ।

अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Biva Niroula

    Sept. 30, 2019, 9:25 p.m.

    चामलका दानाको चिन्ता बढि गरौं,प्याज बेगर पनि हाम्रो पेट भरिन्छ। माग घटेपछि मुल्य पनि घट्ला। कसो!

  •  0 Reply

तपाईको प्रतिक्रिया