एन्फाले गर्‍याे फुटबल खेलाडी र प्रशिक्षकलाई सम्मान,क-कसले के-के पाए ?

 असोज १४, २०७६ मंगलबार १६:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुलाई सम्मान गरेको छ ।

हालै फिफा विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध जित निकालेको नेपाली टिमका प्रत्येक सदस्यलाई एन्फाले नगद २५ हजारका दरले सम्मान गरेको हो ।

अस्ट्रेलियाविरुद्धको खेल खेल्न जान लागेको नेपाली टोलीको बिदाई समारोहमा यो रकमसहित सम्मान पनि गरिएको हो । यस्तै अन्य प्रतियोगिताका विजेता नेपाली महिला र पुरुष खेलाडीहरुलाई पनि मंगलबार पुरस्कार हस्तान्तरण गरेको छ ।

यस्तै भारतमा हालै भएको साफ यू-१५ च्याम्पियनसिपमा उपविजेता भएको टिमका सदस्यहरुलाई पनि २५ हजारका दरले नगदसहित सम्मान गरिएको छ ।

किर्गिस्तानमा भएको नादेज्दा कप महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

एन्फा डेमा घोषणा गरिएको उत्कृष्ट जिल्ला फुटबल संघका रुपमा मोरङ जिल्लाले १ लाख रुपैयाँ पुरस्कार पाएको छ भने महिला रेफ्री अस्मिता मानन्धरले स्कूटर प्राप्त गरेकी छिन् । उदीयमान खेलाडीको अवार्ड जितेका अभिषेक रिजालले स्कूटर पाउँदा महिला खेलाडी मन्जली योञ्जनले पनि स्कूटर प्राप्त गरिन् ।

उत्कृष्ट पुरुष रेफ्रीको अवार्ड पाएका लव खत्रीले माेटरसाइकल पाउँदा रोहित चन्द र किरण चेम्जोङले पनि मोटरसाइकल नै पाए ।

यस्तै प्रशिक्षक हरि खड्का र लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका भगिरथ आलेलाई पनि एन्फाले मोटरसाइकल हस्तान्तरण गरेको छ । आलेले नगद ३ लाख पनि प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पुरस्कार प्रदान गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया