६६ वर्षीय खुशीरामलाई केरा खेतीले दियो खुशी: वर्षको ५ लाख कमाइ

 असोज २०, २०७६ सोमबार ७:२९:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – घरपरिवारको सुख र खुशी खोज्न परदेश भासिने युवाको कमी छैन । तर गर्न सके देशकै माटोमा पनि पैसा छ ।

‘घर–गाउँकै माटोमा उद्यम गर्नुपर्छ’ भन्दै घर्किँदो उमेरमा पनि व्यावसायिक कृषि कर्ममा रमाउँदै हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका ६६ वर्षीय खुशीराम मिश्र ।  

‘मनमा जोस जाँगर भए, काम गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरणसमेत पेश गर्नुभएको छ उहाँले । 

उहाँले व्यावसायिक केराखेतीका साथै विभिन्न तरकारीका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । उहाँले कृषि कर्मबाटै राम्रो कमाइ पनि गर्दै आउनुभएको छ ।

धान खेती छाडेर व्यावसायिक केरा खेती सुरु

उमेरले ६ दशक नाघिसक्यो । तर जोस–जाँगरमा कति कमी आएको छैन । कृषि कर्ममै रम्न पाउँदा उहाँलाई बिछट्टै खुशी मिल्छ । 
डुम्रे–बेसीशहर सडकखण्डमै पर्ने पाउँदीको सडक आडैमा छ उहाँको घर  । 

४ वर्षदेखि घर नजिकै रहेको झण्डै ३ रोपनी जग्गामा उहाँले धान खेती छोडेर व्यावसायिक केरा खेती सुरु गर्नुभएको छ । 
‘धानमा भन्दा केरा खेतीमा फाइदा छ’, उहाँले भन्नुभयो, ‘एक रोपनी जग्गामा बढी फलेमा ८ मुरी धान फल्ला । तर एक रोपनी जग्गामा झण्डै ९० वटासम्म केराका बिरुवा लगाउन सकिन्छ ।’

धानमा भन्दा केरा खेतीमा धेरै फाइदा

उहाँका अनुसार राम्रो स्याहार, गोडमेल भए वर्षमा एक रोपनी जग्गामा लगाइएको केरा खेतीबाट झण्डै एक लाखसम्म कमाइ हुन सक्छ । ‘धानमा भन्दा केरा खेतीमा धेरै फाइदा छ’, उहाँ भन्नुहुन्छ । उहाँले ३ रोपनी जग्गामा लगाएको केरा नपाक्दै बोटमै बिक्री भइसकेको छ ।    उहाँका अनुसार स्थानीय एक व्यापारीले प्रतिकोसा ४ रुपैयाँ तिर्नेगरी उत्पादित केरा केरा बोटैमा किनिसकेका छन् ।

‘स्थानीय व्यापारीले प्रतिकोसा ४ रुपैयाँ तिर्ने शर्तमा उत्पादित केरा किनिसकेका छन् । केरा बोटैबाट बिक्री भएको छ । बजारको कुनै समस्या छैन’, उहाँले भन्नुभयो । 

केराको बिरुवा बिक्रीबाट पनि उहाँले राम्रो कमाउँदै आउनुभएको छ । प्रतिबिरुवा २० रुपैयाँका दरले उहाँले केराको बिरुवा बिक्री गर्दै आउनुभएको छ । 

‘उत्पादित केराको बिरुवा देशका विभिन्न ठाउँमा पुग्छन्’, उहाँले भन्नुभयो, ‘व्यवसाय सुरु गरेको चार वर्षमै झण्डै २ हजार बढी केराका बिरुवा बिक्री भइसकेको छ ।’ 
स्थानीय केरा: स्वादिलो र स्वस्थकर

स्थानीय स्तरमा उत्पादित केरा बाहिरबाट आउने केराको तुलनामा बढी स्वादिलो र स्वस्थकर हुने उहाँ बताउनुहुन्छ । विषादीरहित केरा तथा तरकारी उत्पादनमा आफूले जोड दिएको उहाँ बताउनुहन्छ । २०४२ सालदेखि नै उहाँ कृषि कर्ममा निरन्तर लाग्दै आउनुभएको छ ।

सुरुका वर्षमा उहाँले आलु खेतीलाई जोड दिनुभएको थियो । 

‘८ रोपनी जग्गामा आलु लगाउँथेँ । बर्सेनि २–३ सय मुरी आलु फलाउँथेँ’, उहाँले भन्नुभयो, ‘उत्पादन स्थानीय बजारमै बिक्री हुन्थ्यो ।’

वार्षिक ५ लाख कमाइ

व्यावसायिक आलु उत्पादन, धान उत्पादनका साथै धान, आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका मिश्रले अहिले केराखेतीका साथै २ वटा टनेलमा बाह्रै महिना तरकारी, विभिन्न तरकारीका बिरुवा उत्पादन र बिक्री गर्दै आउनुभएको छ ।

केरा, केराका बिरुवा, तरकारी र तरकारी बिरुवा बिक्रीबाट वार्षिक रुपमा ५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ‘वर्षमा ५ लाख जति कमाइ हुन्छ’, उहाँले भन्नुभयो, ‘खर्च पनि हुन्छ ।’

उहाँको एउटा टनेलमा साग, बन्दा, काउली, गोलभेँडाका बिरुवा उत्पादन भइरहेका छन् । अर्को टनेलमा गोलभेँडा उत्पादन भइरहेको छ । उहाँले लैनो भैँसीसमेत पाल्नुभएको छ । भैँसीको गोठ सरसफाइ, भैँसीलाई घाँस, पराल कुँडो खुवाउने कार्यमा पनि उहाँ जुट्नुहुन्छ । 

‘सकुञ्जेल कृषि कर्ममै लाग्छु’

किसान मिश्रका दुई छोरा छन् । दुवै छोरा वैदेशिक रोजगारीमा छन् । यो उमेरमा उहाँलाई नपुग्दो केही छैन । ‘सकुञ्जेल हातपाखुरा चलाउनुपर्छ, उद्यम गर्नुपर्छ’ भन्दै ढल्किँदो उमेरको वास्ता नगरी जोस–जाँगरका साथ किसान मिश्र व्यावसायिक कृषि कर्ममै जुटिरहनुभएको छ । 

‘कृषि कर्ममै रम्न पाउँदा मलाई औधी खुशी मिल्छ’, उहाँ भन्नुहुन्छ, ‘सकुञ्जेल कृषि कर्ममै जुटिरहन्छु ।’
 

अन्तिम अपडेट: कात्तिक १, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया