इटली युरोकप फुटबलका लागि छनोट

 असोज २६, २०७६ आइतबार ७:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्रिसविरुद्ध २-० गोलअन्तरको जित निकाल्दै इटलीले सन् २०२० मा हुने युरोकप फुटबलमा स्थान सुरक्षित गरेको छ ।

छनोट प्रतियोगिताको समूह जे मा रहेको इटलीले सुरुवाती ७ खेलमा शतप्रतिशत जित निकालेको छ । ६ टोली सम्मिलित समूहमा १० खेल खेल्नुपर्छ । इटलीले ३ खेल अगावै लक्ष्य भेट्टाएको हो ।

७ खेलबाट उसको २१ अंक छ भने दोस्रो स्थानको फिनल्यान्डको १२, अर्मेनिया र बोस्नियाको १० अंक छ । ग्रिसको ५ र लिचटेन्सटाइनको २ अंकमात्र छ । यी दुवै टिम छनोटबाटै बाहिरिने निश्चित भइसकेको छ ।

रोमास्थित ओलम्पिक रंगशालामा भएको खेलमा घरेलु टोली इटलीले पहिलो हाफमा अग्रता बनाउन चुकेको थियो । ग्रिसको शशक्त रक्षापंक्ति तोड्न उसलाई दोस्रो हाफ कुर्नुपर्‍यो ।

६३औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमार्फत इटलीलाई अग्रता दिलाएका थिए । ग्रिसका आन्द्रेस बोउचाकाकिसले बक्सभित्र ह्यान्ड गरेपछि इटलीले पेनाल्टीको अवसर पाएको थियो ।

सब्स्टिच्युड स्ट्राइकर फेडेरिको बेर्नादेचीले ७८ औं मिनेटमा दोस्रो तथा निर्णायक गोल गर्दा लियोनार्दो बोनुक्कीले पास उपलब्ध गराएका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया