डाक्टर नआएको भन्दै अस्पताल तोडफोड, एक जना पक्राउ

 असोज २८, २०७६ मंगलबार ७:३२:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बिरामी जाँचका लागि अस्पतालमा डाक्टर नआएको भन्दै बिरामीका आफन्तले राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड र प्रदर्शनका कारण सोमबार अस्पताल तनावग्रस्त बनेको थियो ।

डा.ज्ञानेन्द्र कुमार झा र डा.प्रनेश कुमार यादव दिउँसो २ बजेसम्म पनि अस्पताल नआएपछि आक्रोशित बिरामीका आफन्तले चर्को नाराबाजी गर्दै तोडफोड गरेका हुन् । तोडफोडका कारण डा. झा र डा. यादवको बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
 
प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका– १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ ।

यसैबीच अस्पताल प्रशासनले भने डा. झा बिदामा रहेको र डा. यादव यो समयमा इमर्जेन्सी कक्षमा एक बिरामीको उपचार गरिरहेको बताएका छन् । पछिल्लो पटक गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरु अस्पतालबाट तलब खाने काम गरेपनि अस्पताल भन्दा बढी आ–आफनो निजी क्लिनिकमा समय दिने गरेको बिरामीहरुको आरोप रहेको छ । 

सम्बन्धित निकायको लापर्वाहीका कारणले दिन प्रतिदिन यो अस्पताल रेफर सेन्टरको रुपमा परिचित बन्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया