एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आत्मकथा प्रकाशन गर्ने

 कात्तिक ३, २०७६ आइतबार १७:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आत्मकथा प्रकाशन गर्नुहुने भएकाे छ ।

एसियाली फुटल महासंघ एएसीका पूर्व उपाध्यक्ष एवं एन्फाका पूर्वअध्यक्ष समेत रहेका थापाले फागुनमा आत्मकथा प्रकाशन गर्नेगरी तयारी भइरहेकाे जानकारी दिनुभयाे । काठमाण्डौमा आइतबार आत्मकथाको आवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सफलता, चर्चा, विवादलगायत नेपाली फुटबलको विकासक्रम पनि समेटिएको जानकारी दिनुभयाे ।

थापाले आत्मकथा सकेसम्म इमान्दार र सत्यको नजिक पुगेर प्रकाशन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे । बुक हिलले प्रकाशन गर्न लागेको आत्मकथामा राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै नेपाललाई दिलाएका सफलताका रोचक कथाहरु पनि समेटिएको जनाइएको छ ।

फिफाले १० वर्ष फुटबलमा प्रतिबन्ध लगाएपछि एन्फाको नेतृत्व छाडेका थापाले सञ्चारमाध्यममा आएका समाचारकै कारण आफू अन्यायमा परेको बताउँदै आत्मकथा प्रकाशन गरेर यस विषयमा आफूले प्रष्ट पार्न चाहेको पनि उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘मेरा बारेमा आएका गलत समाचार खण्डन गर्ने मौका समेत मलाई मिलेन । कतिपय अवस्थामा मेरो आनीबानीका कारण पनि पत्रकारहरु चिढिए होलान । तर सत्य तथ्यकुराहरु बाहिर ल्याउनैपर्छ, नत्र मैले फुटबलमा समर्पण गरेको मेरो जीवनकै उर्जाशील समयमको अवमूल्यन हुने ठानेर आत्मकथा लेख्ने जमर्को गरेको हुँ ।’

संसद्को सार्वजतिक लेखा समितिले ५८ करोड भ्रष्टाचार भएको निर्णय नगरे पनि मिडियामा त्यसबारे आफूलाई जोडेर समाचार प्रशारण तथा प्रकाशन हुँदा आफ्नो आत्मसम्मान गम्भीर असर परेको पनि उहाँले बताए ।

उहाँले भने, ‘त्यसैले मैले पुस्तकमा सार्वजनिक लेखा समितिकै निर्णय पनि राख्नेछु ।’ पुस्तक पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुहुने बताइएकाे छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया