अन्नबालीकै भरमा काम : गुजारा चलाउनै सकस !

 कात्तिक ५, २०७६ मंगलबार २०:१७:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - घरको आडैमा जस्ताले छाइएको सानो आरन । आरनमा हँसिया अर्चाप्दै हुनुहन्छ, लमजुङ बेसीशहर नगरपालिका–११, रामचोकका ७५ वर्षे मुर्मे विक । 
उमेर ढल्किँदो छ । तर जोस–जाँगरका साथ आरनमै फलामका विभिन्न सामग्री बनाउन, अर्चाप्न व्यस्त हुनुहुन्छ, उहाँ । आरनकै कमाइको भरमै जीवन चलाउँदै आउनुभएको छ विकले । 

आफ्नो बाउ–बाजेबाट उहाँले आरनको काम सिक्नुभएको हो । ‘बाउ–बाजेबाट आरनको काम सिकेको हुँ । १२ वर्षको उमेरदेखि नै मैले यो काम गर्दै आएको छु’, उहाँले भन्नुभयो ।

उहाँले विगतदेखि नै आरनबाट स्थानीयको खुकुरी, हँसिया, कुटो, कोदालो, बञ्चरो, लगायतका फलामका सामग्री बनाउनुका साथै अर्चाप्दै आउनुभएको छ । पछिल्लो समय धेरैले आफ्नो पुर्ख्याैली पेशालाई व्यवसायिकता दिइसकेका छन् । यसैबाट मनग्य कमाउँदै आएका छन् । तर विकले अझै बालीघरे प्रथामै काम गर्दै आउनुभएको छ । 

‘पछिल्लो समय बालीघरे प्रथामा काम गर्ने चलन हराइसक्यो । पहिलेदेखि नै मैले बालीघरे प्रथामा काम गर्दै आएको छु,’ उहाँले भन्नुभयो । बालीघरे प्रथाकै भरमा काम गर्दा जीवन चलाउन निकै सकस भएको उहाँ बताउनुहुन्छ ।

‘दिनभर फलाम पिटेर विभिन्न औजार बनायो, अर्चाप्यो । वर्षको एकचोटी विष्टबाट  ३ देखि १० पाथीसम्म धान, मकै, गहुँ कोदो लगायतका अन्न पाइन्छ’, उहाँले भन्नुभयो, ‘यसैको भरमा परिवारको गुजारा चलाउन समस्या हुन्छ ।’ अहिले पनि उहाँले गाउँका झण्डै ५० घरधुरीमा अन्नबालीकै भरमै काम गर्दै आउनु भएको छ । 

गाउँमा विकले जस्तै हर्कबहादुर परियारले पनि वर्षाैंदेखि बालीकै भरमा विष्टहरुको लुगा सिलाउने काम गदै आउनु भएको छ । ‘मैले सानै उमेरदेखि बालीमा लुगा सिलाउँदै आएको छु’, उहाँले भन्नुभयो, ‘पहिले प्राय: गाउँका सबै घरधुरीका लुगा सिलाउँथे । अहिले १३ घरधुरीको  मात्रै लुगा सिलाउँदै आएको छु ।’

अहिले उहाँले दोर्दी गाउँपालिका नौथर शेरा नजिकै आफ्नै लगानीमा टेलर्स सञ्चालनमा ल्याउनु भएको छ ।  

‘बालीघरे प्रथामा काम गर्दा खासै आम्दानी हुँदैन । गुजारा चलाउनै समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पुर्ख्याैली पेशालाई व्यवसायिकता दिँदै टेलर्स सञ्चालनमा ल्याएको छु । बालीमा भन्दा ज्यालामा काम गर्दा फाइदै हुन्छ ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया