स्लाभियामाथि बार्सिलोनाको कठिन जित, मेस्सीको अर्को कीर्तिमान

 कात्तिक ७, २०७६ बिहिबार ६:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका स्टार लियोनेल मेस्सीले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । समूह एफ अन्तर्गतको खेलमा स्लाभिया प्रागलाई २–१ ले हराउँदा मेस्सी च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने पहिलो खेलाडी बने ।

चेक गणतन्त्रमा भएको खेलमा मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तेस्रो मिनेटमा अर्थरको पासमा गोल गर्दै मेस्सीले रेकर्ड बनाए ।

बार्सिलोनाले पहिलो हाफसम्म मेस्सीको सोही गोलको अग्रता कायम राखेको थियो । ५०औं मिनेटमा चेक च्याम्पियन प्रागका लागि जान बोरिलले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

तर, ५७औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोनाले फेरि अग्रता लियो । मेस्सीको फ्रिकिलाई स्वारेजले प्रहार गरेका थिए । सो बलले ओलायिन्कालाई छोएर गोल भएको थियो ।

यो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ भने प्रशिक्षक अर्नेस्तो भाल्भार्डेमाथिको दबाब पनि केही कम भएको छ । सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको बार्सिलोना अघि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसले पछिल्लो ६ खेलमा स्पष्ट जित निकाल्न सफल भएको छ ।

समूह एफमा बार्सिलोनाले दोस्रो स्थानको इन्टरमिलानविरुद्ध तीन अंकको अग्रता लिएको छ । इन्टरमिलानको चार अंक छ । तेस्रो स्थानको बोरुसिया डोर्टमण्डको पनि चार अंक नै छ ।

मिलानले डोर्टमण्डलाई २–० ले हरायो । मिलानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि लउटारो मार्टिनेज र एन्टोटियो क्यान्ड्रेभाले एक एक गोल गरे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया