वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजलाई: क्याट क्वीन्स ४५ रनले पराजित

 कात्तिक ७, २०७६ बिहिबार १५:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्वीन्स काठमाण्डौलाई ४५ रनले पराजित गर्दै इन्दु बर्माको कप्तानीमा रहेको चितवनले उपाधि जितेको हो ।

चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाण्डौको सुरुआत भने राम्रो रहन सकेन । टिमको खातामा ९ रन हुँदा पहिलो विकेट गुमाएको काठमाण्डौले ४९ रन पुग्दा ७ औंँ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा सोभा आले ६ रन बनाएर आउट भइन् । १० रन पुग्दा रोमा थापा शून्य रनमै पेभेलियन फर्किइन् ।

प्रतियोगितामा दुई अर्धशतक बनाएकी नेपाली टिमकी समेत कप्तान रहेकी काठमाण्डौकी कप्तान रुविना क्षेत्रीको ब्याटबाट फाइनलमा रन बन्न सकेन । जसका कारण काठमाण्डौ पाराजित हुन पुग्यो । रुविना २ रनमा आउट भएकी थिइन् ।

चौथो विकेटको रुपमा नितु भण्डारी ७।५ ओभरमा २ रन बनाएर आउट भइन् । अप्सरी बेगमले केही धैर्यता देखाउँदै ब्याटिङ गरे पनि धेरै रन बनाउन भने असफल भइन् । उनले १५ रन बनाएर आउट हुँदा काठमाण्डौको स्कोर ५ विकेटको नोक्सानीमा ४० रन बनेको थियो ।

छैटौँ विकेटको रुपमा १४।३ ओभरमा ममता थापा १३ रन बनाएर पेभेलियनको बाटो लागिन् । १४।४ ओभरमा सरस्वती कुमारी एलबीडव्ल्यू आउट भएपछि चितवनको व्याटिङ ध्वस्त भएको थियो । १५।३ ओभरमा ५१ रन मात्रै बनाएको काठमाण्डौले ८ औंँ विकेट गुमाएको थियो । आठौँ विकेटको रुपमा ५१ रन पुग्दा संगिता राई ४ रन बनाएर आउट भएकी थिइन् ।

चितवनलाई उपाधि दिलाउन बलहरुको प्रदर्शन पनि उत्कृष्ट रह्यो । सुमन खतिवडाले चार ओभरको स्पेलमा १ ओभर मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिइन् । रेखा रावलले पनि चार ओभरको स्पेलमा १ ओभर मेडन राख्दै ९ रन दिएर २ विकेट हात पार्दा रितु कनौजियाले १ ओभर मेडन राख्दै ३ विकेट नै लिन पुगिन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको साझेदारी गरेका थिए ।

९।५ ओभरमा ४९ रन भएका बेला काजल श्रेष्ठ २१ रन बनाएर आउट हुन पुगिन् । उनले २८ बलमा २ चौक्का प्रहार गरेकी थिइन् । त्यसपछि चितवनले ४९ रनमै दोस्रो विकेट खेर फालेको थियो । काजलले ९।१ ओभरमा १९ रन बनाएर आउट भएकी थिइन् । उनले २६ बलमा ३ चौका प्रहार गरिन् । रितु कनौजिया र सुमन खतिवडाले चितवनको स्कोर अघि बढाएका थिए । २५ बल सामना गरेकी सुमनले २९ रन बनाउँदा ५ चौका प्रहार गरेकी थिइन् ।

८४ रन हुँदा सुमन आउट हुन पुगेकी थिइन् । टिमको स्कोर बाेर्डमा थप २ रन जोड्दा रितु कनौजिया रन आउट हुन पुगिन् । रितुले ६ रन बनाएकी थिइन् । कप्तान इन्दु बर्मा र प्यारी चौधरीले चितवनको स्कोर १०० रन कटाएका थिए ।

अन्तिम ओभरमा इन्दुले लगातार ३ चौका प्रहार गर्दै रन बनाएकी थिइन् । इन्दु २२ रनमा नट आउट रहिन् । प्यारी ३ रनमा नट आउट रहिन् । काठमाण्डौका लागि लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले एकएक विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया