पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सम्पदा भूकम्पले भत्किए । काष्ठमण्डप भग्नावशेष बन्यो । धरहरा सग्लो रहेन । रानीपोखरी पनि क्षति भयो ।
कतिपय ढले भने भूकम्पले ढल्मलाएका सम्पदालाई टेको लगाएर जोगाउनुपर्ने अवस्था आयो । केही सम्पदामा अझै पनि टेको छुटेको छैन । पर्यटकको मुख्य केन्द्र मानिने काठमाण्डौमा नै सम्पदा पुनर्निर्माणको काममा ढिलासुस्ती छ ।
विश्वसम्पदा सूची भित्र पर्ने ५० सम्पदाको पुनर्निर्माण बाँकी
विश्वमा नेपाल चिनाउने ७ सम्पदा काठमाण्डौ उपत्यका भित्रै छन् । हनुमानढोका दरबार, भक्तपुर दरबार, पाटन दरबार, पशुपतिनाथ क्षेत्र, चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथ विश्वसम्पदा सूचीमा छन् ।
विश्वसम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १ सय ४० वटा सम्पदामा भूकम्पले क्षति गरेको थियो । ती मध्ये ९० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अरु ५० वटा सम्पदाको भने पुनर्निर्माणको काम बाँकी नै छ ।
ललितपुरमा विश्व सम्पदा क्षेत्रसहित १ सय ४४ वटा सम्पदामा भूकम्पले क्षति गरेको थियो । तिमध्ये ३१ वटा पूर्ण, ६८ वटा आंशिक र ४५ वटा सामान्य क्षति भएको तथ्याङ्क छ । भूकम्पपछि ललितपुरमा २३ वटा सम्पदा पुनर्निर्माण भएका छन् । तर ललितपुरको पाटन दरबार क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको पाटन दरबार हेरचाह कार्यालयले जनाएको छ ।
रातो मछिन्द्रनाथको मन्दिर पटक–पटक विवाद र ढिलासुस्तीले अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । विगतमा भएका कमिकमजोरी सच्चाएर नयाँ कार्ययोजना बनाएर काम अगाडि बढेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबारसङ्ग्र्रहालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । उहाँले भ्रमण वर्षमा पर्यटकलाई स्वागत गर्न ललितपुर नगरी तमतयार भएर बसेको समेत बताउनुभयो ।
त्यस्तै, विश्व सम्पदा क्षेत्रका १६ वटा सम्पदाको पुनर्निर्माण भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले जनाएको छ । पुरातात्विक सम्पदाको पुनर्निर्माण पुरानै शैलीमा गर्ने नीतिका कारण सम्पदा पुनर्निर्माणमा केही ढिलाइ भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख मोहनसिंह लामाले बताउनुभयो । भक्तपुरमा विश्व सम्पदा क्षेत्र बाहेकका आठ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ ।
भत्के ७ सय ५३, बने ३ सय ८०
भूकम्प अति प्रभावित १४ जिल्लामा ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । अहिलेसम्म ३ सय ८० सम्पदा पुनर्निर्माण भएका छन् । अहिले पनि भूकम्पपछिको पुनर्निर्माण चलिरहेको छ । तर नेपाल भ्रमण वर्ष २०२० सुरु हुन झण्डै दुई महिना मात्रै बाँकी छ । सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यसहित तयारी तीव्र पारेको छ । सबैको ध्यान नेपाल भ्रमण वर्ष २०२० मा केन्द्रित भैसकेको छ ।
भ्रमण वर्ष २०२० सुरु हुँदा भूकम्प गएको पनि झण्डै ५ वर्ष हुनेछ । तर पर्यटक लोभ्याउने मठ, मन्दिर, गुम्बा–विहार लगायत सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन । जगसहित ढलेको काष्ठमण्डपको बल्ल भूइँतलाको काम सकिएको छ । धरहरा, रानीपोखरी, रातोमछिन्द्रनाथ, नुवाकोट दरबार जस्ता ऐतिहासिक सम्पदा अहिलेसम्म बनिसकेका छैनन् । १२ सय संख्याका गुम्बा तथा विहार पुनर्निर्माणमा पनि ढिलासुस्ती भैरहेको छ ।
पुनर्निर्माण भएका मुख्य सम्पदा
बौद्धनाथ स्तुपा
मनकामना मन्दिर
कृष्ण मन्दिर
चारनारायण मन्दिर
हरिशंकर मन्दिर
पुनर्निर्माणको चरणमा रहेका
काष्ठमण्डप
धरहरा
रानीपोखरी
रातोमछिन्द्रनाथ
साततले दरबार
नकारात्मक सन्देश चिर्न आवश्यक
२० लाख पर्यटक भित्राउन सरकारले सबैभन्दा पहिला आन्तरिक तयारीमा नै ध्यान दिनुपर्छ भन्नुहुन्छ पूर्व सांसद गुरु बराल । ‘भ्रमण वर्षमा पर्यटकको स्वागतको तयारीमा छौँ, देशबाहिर प्रचार प्रसार सुरु भएको छ तर देशभित्र पर्यटकलाई स्वागत गर्न र देखाउन आवश्यक तयारी नै महत्वपूर्ण छ ।’ उहाँ भन्नुहुन्छ, ‘भूकम्पपछि विश्वस्तरमा पुगेको नकारात्मक संदेशलाई यो भ्रमण वर्षमा चिर्न आवश्यक छ । त्यसमा मुख्यतः सम्पदा संरक्षण र पुनर्निर्माण एउटा पक्ष हो ।’
भूकम्प लगत्तै विश्वसामू पुगेको नकारात्मक संदेशका कारण २०७२ सालमा नेपालमा ५ लाख मात्रै पर्यटक आएको तथ्याङक छ । त्यसपछि साढे ७ लाख पर्यटक नेपाल आए । सन् २०१७ मा झण्डै १० लाख पर्यटक आएको तथ्याङक छ । भ्रमण वर्षको लक्ष्य हासिल गर्न यो भन्दा पर्यटकको आगमन झण्डै दोब्बर हुनुपर्छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भूकम्पको असर पर्यटकीय आगमनमा नदेखिएको तर भूकम्पले भत्केका सम्पदामा भने अझै पनि बाँकी नै रहेको बताउनुहुन्छ ।
पर्यटक नेपाल आउने क्रम उत्साहजन रहेकाले २० लाखको लक्ष्य पूरा हुने भन्दै उहाँले यो भ्रमण वर्षले नेपाल भूकम्पबाट उठ्दैछ भन्ने संदेश प्रवाह हुने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।