नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
म्याग्दी - म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् ।
समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलहरूमा पाइने स्थानीयहरु बताउँछन् ।
जमिनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जङ्गलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
चराविद् कक्सले सन् १९९९ मा गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी, शिकारी र आगलागीका कारण डाँफेको सङ्ख्या घटेकामा २०६५ सालयताको एक दशकको अवधिमा यसको सङ्ख्या दोब्बरले वृद्धि भएको स्थानीयले बताएका छन् ।
पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरूको खोज–अनुसन्धानमा लाग्नुभएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो ।
नेपालमा डाँफेको सङ्ख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो । उहाँका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । यो पक्षी विशेषगरी नेपाललगायत अफगानिस्तान, पाकिस्तान, तिब्बत र भुटानमा पाइने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।