लेभान्टेसँग बार्सिलोना पराजित, रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

 कात्तिक १७, २०७६ आइतबार ६:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले अप्रत्यासित हार ब्यहोरेको छ । बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित हुँदा दोस्रो स्थानको रियल मड्रिड रियल बेटिससँग र तेस्रो स्थानको एट्लेटिको मड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । 

लेभान्टेको मैदानमा बार्सिलोनाले पहिलो हाफमा एक गोलको अग्रता लिएपनि घरेलु टिमले दोस्रो हाफमा तीन गोल फर्कायो । 

जर्ज मिरामोनले नेल्सन सेमेडोलाई फाउल गरेपछि बार्सिलोनाले ३८औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । 

६०औं मिनेटमा जोसे क्याम्पानाले लेभान्टेका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसको दुई मिनेटपछि बोर्जा मायोरालले क्याम्पानाकै पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि नेमान्जा राडोजाले गोल गरेपछि लेभान्टेले अग्रता ३–१ मा लम्ब्यायो । जितसँगै लेभान्टे १७ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको यो पराजयपछि रियल मड्रिडलाई शीर्ष स्थानमा उक्लिने राम्रो मौका थियो । तर, रियल मड्रिड र रियल बेटिसबीचको खेल गोलरहित बनेपछि अंक बाँढ्न बाध्य भयो । यो बराबरीका कारण रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडको समान २२ अंक छ । 

तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथो स्थानको सेभियाले पनि एक एक गोलको बराबरीमा अंक बाँढेका छन् । बार्सिलोना पराजित हुँदै शीर्ष स्थानमा उक्लिने मौका पाएपनि एट्लेटिको मड्रिडले पेनाल्टी समेत मिस गर्‍यो । 

सेभियाको मैदानमा भएको खेलमा फ्रांको भाज्क्वेजले गोल गर्दै घरेलु टोलीलाई २८औं मिनेटमा अग्रता दिलाएका थिए । 

६०औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा फर्काए । ७२औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पायो । तर, सो पेनाल्टीलाई डिएगो कोस्टाको प्रहारलाई सेभियाका गोलकिपरले बचाए । रिबाउण्ड बललाई पनि उनले उत्कृष्ट बचाउ गरेका थिए । त्यसअघि पहिलो हाफ कोस्टाको अर्को गोललाई पनि भीएआरले मान्यता दिएको थिएन ।

एट्लेटिको र सेभिया दुबैको २१–२१ अंक छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया