टेण्डर बिथाेल्न हतियारसहित जम्मा भएको सूचनापछि तरुण दलका शाहलाई पक्राउ गरिएकाे प्रहरीकाे दावी

 कात्तिक १७, २०७६ आइतबार १९:२:३४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाहसहितको समूहलाई खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर बिथोल्न हतियारसहित समूहमा घुमिरहेको सूचनाको आधारमा पक्राउ परेको जनाएको छ ।

तरुण दलको जिल्ला र केन्द्रीय नेतृत्वले शाहलाई प्रहरीले फसाएको दावी गरेपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

हतियारसहित तरुण दलका नगर सभापति शाह पक्राउ परेपछि कोहलपुरका डीएसपी शाहीले तरुण दलका स्थानीय नेता केशर खड्कासँग बडाभोजका लागि खसी माग गरेको र धम्की दिएको फरक–फरक अडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अडियो भिडियो सार्वजनिक हुनु र सन्दिप पक्राउ पर्नु फरक– फरक विषय भएको स्पष्ट पारेको छ । कोहलपुरका डीएसपी शाहीको अडियो र भिडियो सार्वजनिक भएको विषयमा प्रदेश ५  प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सन्दिपसँगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र  यमबहादुर बुढा केही वर्षअघि नेपालगञ्जमा युवा सङ्घका कार्यकर्ता चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट ३ बर्षको सजाय भुक्तानी गरेर रिहा भएकाहरु रहेकाे प्रहरीलेर जनाएकाे छ ।

प्रहरीले सन्दिपसहित पक्राउ परेका ६ जनामध्ये सन्दिप, प्रितम, माधव र यमलाई हात हतियार तथा खरखजाना मुद्धामा बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

यसैबीच नेकपा बाँकेले अपराधीलाई जोगाउन कोहलपुरका डिएसपी शाहीविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै भर्त्सना गरेको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले आइतबार विज्ञप्ति जारी गरि अपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारबाही गर्न माग गरेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया