लिभरपुलको जित, नापोली साल्ज्बर्गसँग अंक खोस्न सफल

 कात्तिक २०, २०७६ बुधबार ७:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले जर्मन क्लब जेंकलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फिल्डमा भएको खेलमा एलेक्स ओक्लाड च्याम्बर्लिनको ५३औं मिनेटको गोल निर्णयक बन्दा पहिलो हाफमा एक–एक गोलको बराबरीमा रोकिएको लिभरपुलले जित हात पारेको हो ।

जितसँगै लिभरपुलले चार खेलबाट नौ अंक बनाएको छ । १४औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जेंकका डिफेन्डर सेबास्टियन डेवास्टले जेम्स मिल्नरको बल रोक्ने क्रममा आएको रिबाउण्ड बललाई विनाल्डमले गोलमा परिणत गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

४०औं मिनेटमा एम्बाना सामाटाले जेंकका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३ औं मिनेटमा च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुलले लगातार तेस्रो जित निकाल्यो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा लिभरपुल इटालीको नापोलीसँग पराजित भएको थियो, जुन यो सिजन उसको एकमात्र हार हो ।

जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ भने नापोली दोस्रो स्थानमा झरेको छ । नापोलीले घरेलु मैदानमा साल्ज्बर्गसँग अंक खोसेको छ । 

११औं मिनेटमा इर्लिङ हाल्याण्डले पेनाल्टीमार्फत गोल गर्दै साल्ज्बर्गलाई अग्रता दिलाएका थिए ।

४३औं मिनेटमा हिर्भिङ लोजानोले गोल गरेपछि नापोलीले पहिलो हाफ अघि बराबरी गर्न सफल भयो । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि नापोली अंक खोस्न सफल भएको हो । 

चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको नापोली आठ अंकसहित दोस्रो स्थानमा छ । साल्ज्बर्ग चार अंक सहित तेस्रो र जेंक एक अंकसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया