तीन दिवसीय क्रिकेट: एमसीसीसँग नेपाल २०८ रनले पराजित

 कात्तिक २२, २०७६ शुक्रबार १६:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एमसीसीविरुद्धको तीन दिवसीय खेलमा नेपालले २०८ रनको हार ब्यहोरेको छ ।

पहिलो इनिङमा पनि खराब ब्याटिङका कारण थाेरै रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराब ब्याटिङ गर्यो । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१  र सन्दीप लामिछानेले २५ रन बनाए ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर २४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ६ रनमा आउट भए । त्यसपछि राजु रिजाल पनि व्यक्तिगत ३१ रनमा पेभेलियन फर्किएपछि नेपालले ५२ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै शरद भेषावकर १५ रनमा आउट भएपछि क्रिजमा गएका दिपेन्द्रसिंंह ऐरी खाता खोल्न नपाउँदै आउट भए । जसका कारण नेपालले ६९ रनमा चौथो विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । पहिलो पारीमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी पनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ७० रनमा ५ विकेट खेर फाल्यो । लगत्तै आरिफ शेख १८ रनमा आउट भएपछि ७८ रनमा नेपालकाे छैटाैँ विकेट गुम्याे । त्यसको लगत्तै पवन सर्राफ पनि डकआउट भएपछि नेपालले साताैँ विकेट खेर फाल्यो ।

करण केसी १८ रनमा पेभेलियन फर्किँदा नेपालले एक सय २४ रनमा ८ विकेट गुमायो । त्यसपछि सन्दीप लामिछाने २५ रनमा आउट भए । त्यतिन्जेलमा नेपालले १७४ रनमा ९ विकेट गुमायो भने नेपाल एक सय ८४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्धशतकीय पारी खेले ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुवै पारीमा असफल रह्याे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया