बंगलादेशविरुद्धको टी-२० क्रिकेट शृंखलामा भारतको जित, दीपक चहरको उत्कृष्ट बलिङ

 कात्तिक २५, २०७६ सोमबार ९:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो खेलमा पराजित भए पनि त्यसयता उत्कृष्ट पुनरागमन गर्दै भारतले बंगलादेशविरुद्धको ३ ट्वान्टी-२० क्रिकेटको शृंखला आफ्नो पक्षमा पारेको छ ।

आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा मध्यम बलर दीपक चहरले ट्वान्टी-२० क्रिकेटकै उत्कृष्ट बलिङका साथै ह्याट्रिक विकेट लिएपछि भारतले ३० रनले जितेको हो ।

नागपुरमा १ सय ७५ पछ्याएको बंगलादेश १९.२ ओभरमा १४४ रनमा समेटियो । सुरुवात सानदार गरे पनि बंगलादेशका मध्य र पुछारक्रमका ब्याट्सम्यानले धैर्यपूर्ण प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशका २ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । ओपनर मोहम्मद नइमले ४८ बलमा ८१ रनको शानदार पारी खेलेर सुरुवात राम्रो दिलाएका थिए ।

अर्का ओपनर लिटोन दास र तेस्रो नम्बरमा आएका सौम्य सरकार सस्तैमा आउट भए पनि नइमले मोहम्मद मिथुनसँग मिलेर तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । मिथुनले २७ रनको योगदान गरे ।

१३ ओभरमा ११०-३ को स्थितिमा रहेको बंगलादेशले त्यसयता ३४ रन जोड्दा सबै विकेट खेर फाल्यो ।

बंगलादेशको पारी धराशायी बनाउन दीपकले ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिए । ट्वान्टी-२० इतिहासमा यो सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन हो ।

दीपकले ह्याट्रिक विकेट पनि पूरा गरे । १८ औं ओभरको अन्तिम बलमा सइफुल इस्लाामको विकेट लिएका दीपकले अन्तिम ओभरको सुरवाती २ बलमा क्रमश: मुस्ताफिजुर रहमान र अनिमुल इस्लामलाई आउट गरी ह्याट्रिक पूरा गरे भने बंगलादेश अलआउट भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले सुरुवात राम्रो गर्न नसके पनि मध्यक्रममा लोकेश राहुल र श्रीयास आयरले अर्धशतकीय पारी खेल्दा २० ओभरमा ५ विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो ।

कप्तान रोहित शर्मा २ र शिखर धवन ९ रनमा आउट भएपछि सुरुमै दवाबमा परेको भारतलाई लोकेश र श्रीयासले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।

राहुलले ३५ बलमा ७ चौकासहित ५२ तथा आयरले ३३ बलमा ३ चौका र ५ छक्कासहित ६२ रनको शानदार पारी खेले । मनिश पाण्डेले पनि अविजित २२ रन जोडेका थिए ।

यसअघि पहिलो खेलमा ७ विकेटले पराजित भएको भारतले दोस्रो खेलमा ८ विकेटको जित हासिल गरेको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया