नेपालका बालबालिकाले बनाएका चित्र यूएईमा प्रदर्शन

 कात्तिक २८, २०७६ बिहिबार १२:१७:२० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - नेपालका बालबालिकाले बनाएका चित्र यूएईमा प्रदर्शन गरिएको छ । नेपालका विभिन्न विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले बनाएका ३० वटा चित्र आबुधाबीमा प्रदर्शन गरिएको हो ।

नेपाली बालबालिकाहरुले बनाएका चित्रसँगै विश्वका एक सय २४ देशका बाल चित्रकारहरुको चित्रहरु आबुधाबीको अटिज्म सेन्टरमा गएको आइतबारदेखि चार दिनसम्म प्रदर्शनमा राखिएको थियो ।

बालचित्रसम्बन्धी अन्तर्राष्ट्रिय संस्था कलर फर पिसको संयोजनमा आयोजना गरिएको प्रदर्शनीमा नेपालका आदर्श विद्या सदन, रिजेन्ट, ललित सेकेण्डरी तथा योङ्ग पिकासो कम्युनिटी स्कुल अफ फाइन आर्ट गरी चार विद्यालयमा अध्ययनरत विद्यार्थीले कोरेका चित्रहरु समावेश गरिएका थिए।

संसारमा शान्ति चाहिन्छ भन्ने मूल नाराकासाथ चित्रहरु कोरिएको कलर फर पिसका नेपाल प्रमुख तथा वरिष्ठ चित्रकार अजय देशारले उज्यालोलाई जानकारी दिनुभयो ।

नेपाली बालबालिकाले बनाएका शान्तिको सन्देशसहितका विभिन्न तस्विरहरु प्रदशनीको मुख्य आकर्षणको रुपमा आफूले पाएको आयोजक संस्था 'कलर फर पिस' अर्जेण्टिनाकी मुख्य प्रतिनिधि मरियाले प्रतिक्रिया दिनुभयो ।

कलर फर पिसले हरेक वर्ष विभिन्न देशमा बाल चित्रकारहरुले बनाएका चित्र प्रदर्शनी गर्दै आएको छ । आबुधाबीमा प्रदर्शन गरिएका चित्रहरु नेपालमा सन् २०२० को फेब्रुअरीमा हुने एक अन्तर्राष्ट्रिय चित्र प्रदर्शनीमासमेत प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया