इमर्जिङ एसिया कप क्रिकेट : भारतसँग नेपाल ७ विकेटले हार्‍यो

 कात्तिक २८, २०७६ बिहिबार १६:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इमर्जिङ नेसन्स कपको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रकेट टोलीले भारतको इमर्जिङ टिमसँग ७ विकेटको पराजय ब्यहोरेको छ ।

बंगलादेशको साभर सहरमा भएको खेलमा नेपालले दिएको १९४ रनको लक्ष्य सहज पूरा गर्न भारतीय टोलीले ४२ ओभरमा ३ विकेट खर्चियो ।

ओपनर तथा कप्तान सिद्धार्थ बेलुर र आर्यान जुयालले ७४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । सुशान भारीले सिद्धार्थलाई एलबीडब्लू धरापमा पारेपछि १४.३ ओभरमा भारतको पहिलो विकेट गुम्यो ।

अर्को ओभरमा ललित राजंशीले जुयाललाई २९ रनको स्कोरमा बोल्ड गरेपछि भारत ८१–२ को स्थितिमा पुग्यो । तर त्यसपछि सान्भिर सिंह र अर्मान जफरले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

सिंहले ५६ रनको अर्धशतकीय पारी खेले । करण केसीले ललित राजवंशीको हातबाट क्याच आउट गर्नुअघि उनले ७३ बलमा ४ चौका प्रहार गरे ।

अविजित रहेका जफरले पनि अर्धशतक पूरा गरे । उनले ७७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित ५१ रन बनाए । यश राठाेड ७ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मध्यक्रमका पवन सर्राफको संयमित अर्धशतकको बनाए पनि ४४.५ ओभरमा १९३ रनमा समेटिएको थियो ।

उनले ५६ रनको अर्धशतकीय पारी खेले । सौरभ दुवेले बोल्डआउट गर्नुअघि उनले ४९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल इनिङको दोस्रो बलमै खाता नखोली आउट भएका थिए ।

अर्का ओपनर कुशल भुर्तेलले अनुभवी शरद भेषावकरसँग मिलेर दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ उकासे । कुशलले ६० बल खेलेर २८ रन बनाए । त्यसपछि आएका आरिफ शेख २ रनमै आउट हुँदा नेपाल ५८–३ को स्थितिमा पुग्यो ।

भेषावकरले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर ४४ रनको थप साझेदारी गरेका थिए । तर दुई रनको अन्तरमा दीपेन्द्र र शरद क्रमश: २४ र ४४ रनमा आउट भए । मध्य क्रमबाट विनोद भण्डारी (५) र सोमपाल कामी (२)ले पनि लामो इनिङ खेल्न सकेनन् । करण केसीले २० रन बनाएका थिए ।

बलिङमा भारतका सौरभ दुवेले ४ तथा यश राथोडले ३ विकेट लिए । नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया