अब नेपालमै मेसिनबाट मानसिक रोगको उपचार !

 कात्तिक २९, २०७६ शुक्रबार १६:४२:२३ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – नेपालमा पनि रिपिटिटिभ ट्रान्सक्रेनियल म्याग्नेटिक स्टिमुलेसन मेसिन (आरटीएमएस) बाट मानसिक रोगको उपचार सुरु भएको छ ।

मेसिनमार्फत दिमागमा चुम्बकीय किरण पठाएर उपचार गरिने यो प्रविधि रिदम न्यूरो साइक्याट्रिक अस्पतालले भित्राएको हो । १० महिनाअघि ल्याइएको मेसिनबाट अहिलेसम्म १५ जनाभन्दा धेरै बिरामीले उपचार गराएका अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर रितेश थापाले जानकारी दिनुभयो ।

मानसिक रोगको सामान्य अवस्थामा मनोपरामर्शबाट उपचार गरिन्छ भने समस्या बढ्दै गएपछि औषधि खानुपर्छ  । लामो समय औषधि खाँदा समेत ठिक नहुने मानसिक समस्या भएकाहरुको लागि आरटीएमएसबाट दिमागमा चुम्बकीय किरण पठाएर उपचार गर्ने पद्दति प्रभावकारी हुने डाक्टर थापाले बताउनुभयो ।

सन् १९८० मै प्रयोगमा ल्याइएको यो मेसिनमा नेपालमा भने पहिलोपटक प्रयोगमा ल्याइएको हो । यो प्रविधि मानसिक रोग बाहेक पार्किन्सन्स, नशासम्बन्धी रोगमा पनि प्रयोग गर्न सकिन्छ ।

नेपालमा मेसिन ल्याउनुअघि भारतलगायतका देशमा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । अहिले नेपालमै मेसिन भित्राएकाले समय र पैसाको बचत हुने पनि डाक्टर थापाले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ९, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया