टी १० लिगमा सन्दीप आवद्ध टिमको विजयी सुरुवात

 मंसिर १, २०७६ आइतबार ६:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा भइरहेको टी १० क्रिकेटमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्सले पहिलो जित हात पारेको छ । कर्नाटका टसकर्स १९ रनले विजयी भएको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोड्न सक्यो । एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाए पनि हार टार्न सकेनन् । 

कर्नाटका टसकर्सबाट खेलिरहेका सन्दीप टी १० को पहिलो खेलमै टिममा परेका थिए । दिल्ली बुल्सविरुद्ध उनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै सनसनी मच्चाए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई आउट गरेका हुन् । उस्मान ८ रन बनाए आउट भए । सन्दीपले व्यक्तिगत पहिलो विकेट लिए पनि टिमका लागि भने तेस्रो सफलता दिलाए ।  

दोस्रो ओभरमा भने सन्दी महँगो सावित भए । टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे । 

टस हारेर पहिला ब्याटिङ गरेको सन्दीप आवद्ध टिम कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो ।

कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा  डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ८, २०७६

तपाईको प्रतिक्रिया