मेस्सी र स्वारेज एक अर्काविरुद्ध मैदानमा

 मंसिर २, २०७६ सोमबार १३:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दक्षिण अमेरिकी क्षेत्रको फुटबलमा अब्बल मानिने देश अर्जेन्टिना र उरुग्वेबीच मैत्रीपूर्ण खेल हुँदैछ । अर्जेन्टिनाले गएको शुक्रबार भएको ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सफल भएको थियो । 

कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले आफ्नो चिर प्रतिद्वन्द्वी ब्राजिलसँग गएको  कोपा अमेरिकाको हारको बदला लिएको हो ।

अर्जेन्टिना र उरुग्वेलाई दक्षिण अमेरिकामा फुटबलमा विकसित देशको रुपमा लिइन्छ । फुटबलको क्षेत्रमा चम्किन सफल खेलाडीहरु उत्पादन गर्न सफल दुई देशबीचको खेललाई महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । 

स्पेनिस क्लब बार्सिलोनामा एक अर्काको सारथीको रुपमा फुटबल खेल्दै आएका अर्जेन्टिनाका कप्तान मेस्सी तथा उरुग्वेका लुइस स्वारेज एक अर्काको विरुद्धमा मैदान उत्रने भएको हुनाले पनि यस खेल एकदम रोमाञ्चक हुने देखिएको छ । 

अर्जेन्टिनाले गएको कोपा अमेरिकामा ब्राजिलविरुद्ध हार बेहोरेपछिको कुनै पनि मैत्रिपूर्ण खेलमा हार बेहोरेको छैन । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनाीले उक्त हारपश्चात् अर्जेन्टिनी खेलाडीलाई लयमा ल्याउनका लागी निकै मिहेनत गर्ने बताएका थिए, र अहिले अर्जेन्टिना आफ्नो लयमा फर्किएको देखिएको छ । 

स्कालोनिले अर्जेन्टिनाको मुख्य समस्या डिफेन्समा देखिएकोले निकोलस ओतामेन्डि र जेर्मन पेजेलालाई मुख्य डिफेन्डरका रुपमा मैदान उत्राउने सोचमा रहेको बताएका छन् । 

उरुग्वेको हकमा उरुग्वेको टिममा स्ट्राइकरको कुनै कमी छैन अर्जेन्टिनाका कप्तान मेस्सीसँग निकट रहेर खेल्दै आएका स्वारेज, कभानी, मेजी गोमेज जस्ता स्ट्राइकर उरुग्वेको टिममा रहेका छन् । तर मिडफिल्डमा भने उरुग्वे कमजोर देखिने गरेको छ जसका कारण उरुग्वे पटक–पटक  हार बेहोर्न बाध्य हुने गरेको छ । 

अर्जेन्टिना र उरुग्वे बीचको खेल नेपाली समयअनुसार मंगलबार बिहान ठिक एक बजेबाट इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड स्टेडियममा  हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया