विश्वकप छनाेट : कुवेतसँग १-० ले हार्‍याे नेपाल

 मंसिर ३, २०७६ मंगलबार १७:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल एक-शून्यले पराजित भएको छ ।

भुटानकाे थिम्पुमा भएकाे प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अविशेक रिजाल डिबक्स भित्र चुक्न पुगे ।

तर २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

त्यसपछि ३६ औं मिनेटमा कुवेतले फेरि अर्को मौका पाएको थियो । उसका अल रेसादीले हेडको प्रयास फ्रेममा रहन सकेन । त्यसपछि ३९ औं मिनेटमा कुवेतले अर्को अवसरको सिर्जना गरेको थियो । तर डिबक्स भित्रबाट फैसलले गरेको प्रहार फ्रेम बाहिर गयो ।

कुवेतविरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर त्याे प्रहार पाेलमा लागेर फर्कियाे । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरियो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।

पहिलो हाफमा एक गोलले पछि परेकाे नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरीत कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।

खेलको ९० औं मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने ।

यो जितले कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ । यसअघि नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया