नारी ! तिमी हारेकी छैनौ

 मंसिर ७, २०७६ शनिबार १२:७:२६ | उषा थपलिया
unn.prixa.net

हुन त हजुरआमा, आमाहरु अहिलेको तिम्रो जीवन एकदमै सुखी र आनन्दित रहेको ठहर गर्दै उबेला आफूले काटेका कहरहरुको वर्णन गर्नुहुन्छ ।

सतही रुपबाट हेर्दा उहाँहरुको बुझाइ गलत नठहरिए पनि अहिलेको तिम्रो अवस्था राम्रोसँग विश्लेषण गर्ने हो भने उहाँहरुको ठम्याइ सत्यताभन्दा धेरै टाढा छ । उहाँहरुका पालामा कामका हिसाबले शारीरिक कष्ट धेरै थियो, भौतिक सुख–सुविधाका कुरा कल्पनाभित्र पनि आउँदैनथे ।

तर त्यतिबेला कुनै पनि आमाहरुले आफूभित्र हुर्किरहेको भु्रण स्त्रीलिङ्गी भएको आधारमा नाश गर्नुपर्ने दबाब र चोट खप्नु भएन । बिहे गर्दा प्रशस्त दाइजो नल्याएको आरोपमा जिउँदै जल्नुपर्ने अवस्था थिएन  । अनि अहिलेको जस्तो बाहिरी दुनियाँसँग पौठेजोरी खेल्दै आर्थिक उपार्जनको साथै घरभित्रका सम्पूर्ण व्यवहारहरुको दोहोरो तेहोरो मार खेप्दा पनि दोस्रो दर्जाकै जिन्दगी स्वीकारिरहेको सत्यवोधको पीडाले आक्रान्त हुनुपर्ने थिएन ।

शिक्षा र चेतनाको अभावका कारण स्त्रीधर्मको रुपमा उहाँहरुले खुशीसाथ अंगिकार गर्नुभएका उतिबेलाका कतिपय ढोङ्गी कर्महरु, पितृसत्तात्मक माखेसाङ्लाको उपज हो भन्ने बुझेर पनि तिमी चुपचाप अवलम्बन गर्न बाध्य छौ अझै पनि । मान्छेको अस्तित्व धारण सँगसँगै हुर्कने मानवीय गरिमा, स्वतन्त्रता र स्वाभिमानबाट तिमी सधैँ विमुख छ्यौ । त्यसैले मान्छेको स्वरुप ग्रहण गरेर पनि खास अर्थमा मान्छे भएर बाँच्न नपाएको छटपटीबाट तिमीले कहिल्यै उन्मुक्ति पाएकी छैनौ । तर पनि तिमी आमा, हजुरआमाका अगाडि आफ्ना जीवन भोगाइका आर्तनाद छर्नुभन्दा उहाँहरुको दाँजोमा आफू सुखी र भाग्यमानी भएसरह नै प्रस्तुत भइदिन्छ्यौ, के यो तिम्रो महानता हैन र ?

तिमीप्रति आधुनिक समाजको अपेक्षा पनि गज्जबकै रहने गर्दछ । चुरा र पाउजुको आवाज सँगसँगै लतारिएको सारी र बिरालाको चालको सर्तकतामा घरभित्रको अविभारा पूरा होस् भन्ने आकांक्षा अनि घोडा दौडिएसरहको वेगमा बाहिरी काम फत्ते गरोस् भन्ने चाहनाको उचित समायोजनको जिम्मा केवल तिमीमाथि नै थोपरिएको हुन्छ ।

बाहिरी कामका दौरान तिमीले बेहोर्ने हैरानी र तिम्रा बाध्यता बुझ्ने चेष्टा कसैको हुँदैन  । त्यसैले एकाध घण्टा ढिला घर फर्कनुपर्दा तिम्रै प्रतीक्षा गर्दै चुलिएका कामहरुका श्रृङ्खलाको सम्झनाले यसै पनि तिमी हतासिएकी हुन्छ्यौ नै, त्यस बाहेक ढिलो फर्कनुको स्पष्टीकरण समुदायदेखि घरसम्म पेश गर्दासमेत तिम्रो यथार्थता बुझ्ने भन्दा लाञ्छनाका वाणहरु सहने हिम्मत नजुटाइ तिमीले धरै पाउँदिनौ । तर गज्जब के छ भने, बाहिरी रामरमितामा भुलेर नशाले लठ्ठिँदै मध्यरातमा घर छिरेर तिमीमाथि नै वितण्डा मच्चाउने तिम्रो पुरुषको ज्यादतीको विरुद्धमा न तिम्रो घरले न त समुदायले नै प्रश्न सोध्ने हिम्मत जुटाउँछ ।

सूचित हुन पाउने तिम्रो पनि अधिकार हो तर ओछ्यानमा बसेर तिमीले नै तयार गरिदिएको चियाको चुस्की लिँदै रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैमा तिम्रै पुरुषले नियन्त्रण जमाइरहँदा तिमी भने एकाबिहानैदेखि कुचो, डाडु, पन्यु, पोतो, मस्को आदिसँग अटुट नाता गाँसिरहेकी हुन्छ्यौ । कहिल्यै अन्त्य नहुने लुसे धन्दाभित्र आफूले पढेका अक्षरहरु नियाल्छ्यौ, अनि सन्तानप्रतिको कर्तव्य र ठूलाबडाको मानमनितोभित्रै रुमलिएर पनि बाहिरी दुनियाँको हरेक प्रतिस्पर्धामा तिमीले कुनै पुरुषभन्दा पछाडि हुनबाट आफूलाई जोगाएकै हुन्छ्यौ । के यो तिम्रो विलक्षण प्रतीभाको परिचायक हैन र ?

शारीरिक रुपबाट पनि तिमी उत्तिकै सशक्त छ्यौ । सामान्य रुघाखोकीले तिम्रो पुरुष सिकिस्त बिरामी भएर ओछ्यान पर्छन् । हरेक चटारो सहेर खानपान, स्याहारसुसार, औषधिमुलोसहित सान्त्वनाले थप्थपाउन तिमी उनकै ओछ्यानमा पुग्नैपर्छ । तर असाध्यै बिरामीको अवस्थामा पनि तिमी उत्तिकै कर्मशील हुन्छ्यौ, तिम्ले सम्हाल्ने तिम्रा हातका औजारहरु बिरामी परेको कारणले अन्यत्र सरेको विरलैमात्र देख्न सकिन्छ । तिमीलाई कहिल्यै थकाइ पनि लाग्दैन ।

जतिसुकै कठिन विसञ्चोलाई पनि पैतालामुनि दबाएर अरुकै खुशीका लागि हरबखत सक्रिय भूमिका निर्वाह गर्न तिमीले सकिरहेकै हुन्छ्यौ । बेग्लै खाले शारीरिक सामर्थ्य र शक्ति तिमीमा नभइदिएको भए के यो सम्भव थियो र नारी ?

हरेकदिन आफ्नो व्यक्तित्व झल्काउन जब तिम्रा स्वामी दाह्रीजुँगा काँटछाँट गर्न थाल्छन् त्यतिबेला उनले सहनु परेको चिढचिढाहटको बाछिटा तिमीले थाप्नै परेको हुन्छ । ‘तिमीहरुलाई के गाह्रो छ र ? हरेक दिन हामीले जस्तै दाह्रीजुँगा मिलाउनु/काट्नुको झन्झट यिनीहरुले सहनु परेको भए यी आइमाइ के गर्थे होलान् ?’ भन्ने उनीहरुको घोचपेचप्रति तिम्रो कुनै आपत्ति नभएसरह हाँसेर टारिदिन्छ्यौ तिमी ।

किशोरी अवस्थादेखि हरेक महिना भोग्नुपर्ने महिनावारीको कष्ट, त्यसमाथि खेप्नुपर्ने अछुतो व्यवहार, नौ महिने गर्भावस्थाको असजिलोपना, गर्भको सन्तानलाई धरतीमा अवतरण गराउँदाको पीडा र जोखिमलगायत महिला भएकै कारणले निर्वाह गर्नुपर्ने यी सवै चुनौतीपूर्ण अवस्थाको फेहरिस्त लगाएर तिमी उनीसँग वादविवादमा कहिल्यै उत्रन्नौँ ।

सबैको चेहरामा खुशी र आनन्द भर्न तिमीले गर्ने प्रयत्न बयान गर्न सकिने तहभन्दा निकै माथि नै रहेको हुन्छ । आफ्ना रहर, स्वतन्त्रता र लक्ष्य साँघुरो बनाउँदा बनाउँदा अन्ततोगत्वा तिमीले आफ्नो जिन्दगीको एकमात्र ध्येय अरुकै खुशीमा रम्नुलाई बनाएकी हुन्छ्यौ । तर तिम्रो त्यत्रो फराकिलो व्यवहारको बदला साँघुरो प्रशंसा पाउने अन्तरमनको अभिलाषा पनि कहिल्यै पूरा हुँदैन ।

तिमी नारी हौ, त्यसैले मायाममता, सम्मान पाउने तिम्रो हक हैन । तिमीले त ती कुराहरु अरुलाई खन्याउन मात्र जान्नुपर्दछ र गरिरहेकी पनि त्यही हुन्छ्यौ तर तिम्रो त्याग, अथक प्रयत्न र योगदानको जस तिमीले कहिल्यै पाउँदिनौँ । यसविपरीत बिग्रेभत्के जति सबै कुराको अपजसको मुस्लो तिमीतिर नै सोझिएको हुन्छ । हुँदाहुँदा तिमीमा निर्भर नै नरहेको कतिपय कर्मको दोषबाट पनि तिमी उत्तिकै प्रताडित भएकै हुन्छ्यौ ।

उदाहरणका लागि आजको एक्काइसौं शताब्दीमा आएर पनि शिक्षित र आधुनिकमा दरिएको तिम्रै पति र परिवार, छोरा पाउन नसकेको रोष निर्लज्ज तिमीमाथि थुपार्छन्, जसका कारण तिमीले खेप्ने दैनन्दिनको प्रताडना शब्दद्वारा सायदै व्यक्त हुन सक्ला । अझ यसैका कारण एक महिलाका लागि अति नै अप्रिय र नरुचाइएको नाता(सौता) लाई पनि चुपचाप स्वीकार गर्न तिमीलाई बाध्य बर्नान्छ तैपनि आफूप्रति कुनै अन्याय नै नभए सरह पतिदेवकै चाहनालाई सर्वस्व ठान्ने तिम्रो जस्तै उदार मनको एक अंशमात्रै पनि के तिम्रो पतिदेवमा कल्पना गर्न सकिएला त ?

नारी ! तिमीमा विचित्रको खुबी छ, जहाँ तिम्रो आत्मसम्मानको ख्याल हुन्छ, त्यहाँ तिमी स्वर्गीय आनन्दको वहार भित्र्याइदिन्छ्यौ । अरुबाट जति भावनात्मक माया र ममता पाउँछ्यौ उनीहरुका लागि मैनझैँ आफै पग्लिएर उज्यालो छर्न तिमीमा किञ्चित पनि हिच्किचाहट हुँदैन । यस बाहेक आफू प्रतिकुलको स्थितिमा समेत तिमीले धैर्य गुमाएकी हुँदिनौ, आफूले ढुंगाको चोट खपेर पनि अरुलाई फूल वर्षाएर मन जित्ने तिम्रो प्रयास अनवरत नै रहिरहेको हुन्छ ।

नारीमा अन्तरनिहित कोमल मन र मायालु शीलस्वभाव खन्याएर पारिवारिक वातावरणलाई उल्लास र रोमाञ्चक बनाउन तिमीले कुनै कसर बाँकी राखेकी हुँदिनौ तर तिम्रो सहनशीलता र कर्तव्यपरायणतालाई बेवास्ता गर्दै जब तिमीमाथि हदैसम्मको प्रहार हुन्छ, सहन सक्ने तिम्रा सबै सीमा समाप्त हुन्छन् । त्यसपछि तिमी आफ्नो अस्तित्व रक्षाका लागि निर्भिक भएर उभिने र बोल्ने तहमा नआई सुखै पाउँदिनौ तर पितृसत्ताको कट्टर उपासकका लागि तिम्रो त्यो रुप सैह्य हुदैन । त्यसैले तिमी पैतालाको धुलो सरह टक्टक्किन्छ्यौ या भनौँ ‘खुट्टा भए जुत्ता हजार’ भन्ने उक्ति सरह तिमी फ्याकिन्छ्यौ ।

कोमल भावमा मात्र प्रस्तुत हुन जानेकी तिमीलाई जस्तोसुकै कठिन परिस्थितिको सामना गर्नका लागि तिमीभित्रै रहेको सुसुप्त आत्मबल त्यतिबेला तिमीसँगै जागिसकेको हुन्छ अनि कठोरभन्दा कठोर यात्राको लागि एक्लै पाइला अघि बढाउने हिम्मत पनि तिमी सजिलै जुटाउन सक्छ्यौ तर विडम्बना !, तिम्रो अस्तित्वलाई झुम्राको पुतली या खुट्टाको जुत्तासरह आँकेर तिमीलाई घृणा र परित्यक्त गर्ने तिम्रो पुरुष भने अर्को नारीको साथबिना एक पाइला पनि अघि बढ्ने साहस जुटाउन सक्दैन ।

तिमीले उनलाई यति परनिर्भर बर्नादिएकी हुन्छ्यौ कि जतिन्जेल ती नारीबिना रहन्छन् त्यति बेलासम्म अधमरो बाँचेका हुन्छन् । पुरुषत्व प्रदर्शनका लागि बाहिर हाँसे पनि भित्र भने रुँदारुँदै थाकेका हुन्छन् । त्यसैले पूर्ण रुपमा बाँचेको अनुभूतिका लागि पनि अर्को नारीको साथ उनलाई अपरिहार्य बन्न पुग्दछ ।

त्यतिबेला तिम्रो पुरुषको मानसिकतामा तिमीलाई हराएर आफूले विजयश्री हासिल गरेको दम्भ पलाउन सक्छ तर यथार्थमा हार उनैले स्वीकार गरिरहेका हुन्छन् । किनकी फेरि तिनलाई नारी, केवल नारी नै चाहिन्छ । त्यो नारी तिमी नै हुनु वा अरु कोही हुनुमा तिम्रो पुरुषका लागि के तात्विक भिन्नता भयो र ? आफ्नो जिन्दगीको पूर्णताका लागि आखिर नारीकै अस्तित्व स्वीकार नगरी धर नपाउने अवस्थामा तिमीले नै उनलाई पुर्‍याइदिएकी हुन्छ्यौ ।

अझ अचम्म के भने नारी भन्नेबित्तिकै रोष र द्वैषरुपी विषवमन गर्ने पुरुषलाई सबैभन्दा धेरै उनै नारीकै साथ र भरोसा चाहिन्छ । त्यसैले सदियौं अघिदेखि 'हारेको कर्म' भनेर तिमीमाथि व्याख्या विश्लेषण गरिँदै आए पनि नारी ! यथार्थमा तिमीले जिन्दगीको कुनै मोडमा पनि हारेकी छैनौ । तिम्रा लागि परिस्थिति अनुकुल, प्रतिकुल जस्तो बने पनि तिमीमा अन्तरनिहीत शक्तिले तिमीलाई हार्नबाट सधैँ बचाइरहेककै छ, बचाइरहने छ ।

- उषा थपलियाकाे निबन्ध संग्रह 'नारी तिमी हारेकी छैनाै' केही दिनअघि प्रकाशित भएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया