'नेपालीहरु काम पाइएन भन्दै बाहिर जान्छन्, भारतीय मजदूरहरु काम गर्न यहाँ आउँछन्'

 मंसिर ७, २०७६ शनिबार १७:४१:४१ | रासस
unn.prixa.net

बाँके – नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदूरको बाहुल्यता छ । नेपालमा रोजगारीको समस्या भैरहेको छ भनिरहँदा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भने भारतीय रहेका छन् ।

धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको हाे । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार एक हजार पाँच सय कामदारमध्ये औद्योगिक क्षेत्रमा झण्डै एक हजार भारतीय कामदार रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार अन्य उद्योगमा भन्दा धातुजन्य र प्लाइउड उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन् ।
     
जनशक्तिको अभावका कारण भारतीय कामदारको प्रयोग अत्यधिक रहेको उहाँले बताउनुभयो । दक्ष जनशक्ति उत्पादन भए भारतीय कामदार विस्थापित हुँदै जाने उहाँको भनाइ छ । प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था खुलिरहेका कारण बिस्तारै भारतीय जनशक्ति विस्थापित हुँदै जाने पुनले बताउनुभयो ।

नेपालमै दक्ष जनशक्ति नभएकै कारण नेपाली मजदुरभन्दा भारतीय मजदुर राख्नुपरेको कार्यालय प्रमुख पुनको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले नेपाली दक्ष कामदार नै राख्नका लागि प्राथमिकता दिने भनिए पनि दक्ष कामदारको अभाव रहेकाले समस्या छ ।

उद्योगले भरियो औद्योगिक क्षेत्र

पश्चिम नेपालकै ठूलो र पुरानो एक मात्र नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योगले भरिएको छ । पश्चिम नेपालको व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्र २३३ रोपनीमा फैलिएको छ । यस औद्योगिक क्षेत्रमा रहेका ३५ उद्योगमध्ये ३० वटा सञ्चालनमा छन् भने चार निर्माणाधीन छन् र एउटा उद्योग बन्द भएको छ ।

माँ शक्ति मेटल उद्योग, होली प्लास्टिक उद्योग, सपना मेटल उद्योग, हसन डिटरजेन्ट पाउडर उद्योेग, रोशन मेटल क्राफ्ट इण्डस्ट्रिज, अलनुर मेटल रोलिङ मिल्सजस्ता ठूला उद्योगहरु औद्योगिक क्षेत्रभित्र रहेका छन् । भेरी प्राविधिक शिक्षालयसमेत रहेको औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापना गर्ने जग्गा नभएको व्यवस्थापन कार्यालयले जनाएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यलयका प्रमुख पुनले औद्योगिक क्षेत्रको आकार नै सानो भएकाले विस्तार गर्ने ठाउँ नरहेको बताउनुभयो । उद्योग स्थापना गर्ने जग्गा बाँकी नरहे पनि उद्योग स्थापना गर्ने चाप रहेको उहाँले बताउनुभयो । ‘माग त आइरहेको छ, ठाउँ नै छैन’, प्रमुख पुनले भन्नुभयो ।
 
घनाबस्तीले जोखिमपूर्ण   

औद्योगिक क्षेत्र नेपालगञ्जको घनाबस्तीको बीचमा रहेकाले भविष्यमा ठूलो समस्या आउन सक्ने देखिएको छ । मानव बस्तीबीच औद्योगिक क्षेत्र भएकाले वातावरणमा नकारात्मक प्रभाव परिरहेको नेपालगञ्जवासी बताउँछन् । कार्यालय प्रमुख पुनले औद्योगिक क्षेत्रभित्रका उद्योगलाई वातावरणमैत्री बताउनुपर्ने कडाइ गरेको बताउनुभयो । 

वातावरणीय पक्ष ठूलो चुनौती रहेको बताउँदै प्रमुख पुनले भन्नुभयोे, ‘मानव बस्तीको बीचमा औद्योगिक क्षेत्र छ, यसले बिस्तारै वातावरण प्रदूषित बनाउँदै जान्छ । ’, औद्योगिक क्षेत्र स्थापना हुँदाको समयमा मानव बस्तीभन्दा टाढा रहे पनि हाल औद्योगिक क्षेत्र वरपर विद्यालय, अस्पताल र घनाबस्ती रहेको छ ।

प्रमुख पुनले उद्योगहरु मानव बस्तीका बीचमा भएकाले वातावरणमैत्री उत्पादन प्रणाली अपनाउन उद्योगीलाई कडाइ गरिएको बताउनुभयो । औद्योगिक क्षेत्रको वरिपरि मानव बस्ती बसिसकेकाले बिस्तार गर्न सम्भव नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अब त बस्तीले घेरा हालिसक्यो, विस्तार गर्ने अवस्था नै छैन ।’

तामा, पित्तल, काँस, आल्मुनियमका पाता तथा भाँडा, प्लाइउड, स्टिल, फेब्रिकेशन, खाद्य सामग्री, विद्युतीय तार तथा सामान, प्लास्टिकका पाइप, फिटिङ्स, फिल्मस्, धाराका सामान, पिउने पानी, साबुन, सरफ, रङरोगन, ट्रान्सफमर मर्मत तथा उत्पादन, जनशक्ति उत्पादन, फेव्रिकेटिङ वर्कशप, गाडी मर्मत सेवा नेपालगञ्ज औद्योेगिक क्षेत्रका उत्पादन हुन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया