सफाइ अभियानमा स्थानीय जनप्रतिनिधिको बेवास्ता

 मंसिर ८, २०७६ आइतबार ८:२:१२ | रासस
unn.prixa.net

मनोहरा र हनुमन्तेको सङ्गममा शनिबार सरसफाइ गर्दै सुरक्षाकर्मीलगायत । तस्विर : रासस

काठमाण्डौ – नागरिकस्तरबाट सफाइ अभियान सुरु भएर ३ सय ४३ हप्ता पार गर्दा पनि गाउँगाउँमा पुगेका सिंहदरबारको ध्यान यसतर्फ जान सकेको छैन । 

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु हुँदा स्थानीय सरकार कर्मचारीले चलाएका थिए । कर्मचारी नियमित काममात्र गर्ने हुँदा सफाइ अभियानसम्बन्धी नीतिनिर्माणमा त्यति धेरै सहयोग हुन सकेन । विसं २०७४ वैशाखमा स्थानीय तहको चुनाव भएपछि आफ्नो गाउँ टोल सफा राख्न स्थानीय सरकारले सहयोग गर्ने आशा पलाएको थियो । तर त्यो आशा निरासामा परिणत भएको सफाइ अभियानकर्मीको गुनासो छ । 

विश्वमै लामो स्वयंसेवी अभियान भनी देशविदेशबाट प्रशंसा कमाएको वाग्मती सफाइ महाअभियानका निरन्तर अभियानकर्मी माला खरेलले काठमाण्डौ र ललितपुर महानगरपालिका एवं वाग्मतीसँग जोडिएका अन्य नगरपालिकाले सहयोग गरे नदी सफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

‘ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने नदी सफाइका लागि विशेष अभियान चलाउने घोषणा गरेको थियो, तर अहिलेसम्म ठोस उपलब्धि केही भएन, यसै हप्ता महानगर प्रमुख चिरीबाबु महर्जनसहितको समूहसँग कुराकानी गर्छौँ’ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्यसमेत रहनुभएकी उहाँले भन्नुभयो । 

केही जनप्रतिनिधि सफाइ अभियानमा उपस्थित भएर ऐक्यबद्धता जनाउने गरे पनि विधायिकी अधिकारसमेत पाएको स्थानीय सरकारले नदी र शहर स्वच्छ राख्न कुनै कानूनी व्यवस्था लागू गरेका छैनन् । 

उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी छ । वाग्मती सफाइ महाअभियानको ३ सय ४३औँ हप्तामा ललितपुरतर्फको थापाथली पुलमुनि सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३ सय जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । सफाइबाट ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।

सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, काठमाण्डौ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको पनि सक्रियता थियो । 

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गरिएको छ । यस क्षेत्रको सफाइ वाग्मती सुन्दरता सरोकार मञ्चले गर्दै आएको छ । वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट क्षेत्रमा पनि सफाइ गरिएको जनाइएको छ । 

भत्काइयो रुद्रमती किनारको संरचना

रुद्रमती सफाइ अभियानको २ सय ९३ औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरिएको छ । सफाइका क्रममा नदीको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाल्नाका साथै गोडमेल पनि गरिएको थियो ।

सेतोपुल मुखमा रहेको सेतो गणेश मन्दिरसँगैको सार्वजनिक जग्गा अतिक्रमण गरी पसल सञ्चालन गर्दा सवारी आवागमनमा बाधा पुगेकाले सुरक्षा निकायको सहयोग लिई महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीको उपस्थितिमा संरचना भत्काइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको २ सय ६८औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ स्थित मनमैँजु पुल क्षेत्रमा सफाइ गरिएको छ । तीनवटै सुरक्षा निकाय, वडा कार्यालयसहित स्थानीयवासीकोे सक्रियतामा भएको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो । 

कार्यक्रममा पूर्वरक्षामन्त्री एवं सांसद भीमसेनदास प्रधान, टोखा नगरपालिका– ९ का अध्यक्ष जोगप्रसाद नेपालको पनि सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रधानले उपत्यकामा सुरु भएको सफाइ अभियानले राजधानी सफा राख्न सहयोग गरेको बताउनुभयो । मनोहरा नदी सफाइको १ सय ४० औँ हप्तामा मनोहरा र हनुमन्ते दोभानमा सफाइ गरिएको छ । सफाइमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसमेत सहभागी हुनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानका संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

आलोकनगर सफाइको १ सय ३८औँ हप्तामा लोकेश्वर महादेव मन्दिरबाट मीनभवनस्थित वाग्मती पुल हुँदै नयाँबानेश्वरसम्म सफाइ गरिएको छ । मीनभवनको सिभिल अस्पतालअघि सबैभन्दा बढी फोहर भेटिएको सफाइ संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । 

अस्पतालअघि खुलारुपमा दिसापिसाब गरेर फोहर गरिएको उहाँले सुनाउनुभयो । सडक किनारमा बिरुवाको संरक्षणका लागि राखिएको जालीलाई डस्टबिनका रुपमा दुरुपयोग हुँदा बिरुवा मरेको सफाइ अभियानले जनाएको छ । यात्रुको सुविधाका लागि बनाइएको प्रतीक्षालयमा खाट राखेर बजार चलाउँदा पनि सम्बन्धित निकायले अनुगमन नगरेको संयोजक पौडेलको गुनासो थियो ।

क्लिन काष्ठमण्डपका अभियानकर्मी केपी खनालसहितको समूह पनि शनिबार यस क्षेत्रको सफाइमा सहभागी भएको थियो । बानेश्वर महिला तथा वातावरण सेवाले यस क्षेत्रको सफाइबाट दुई ट्र्याक्टर फोहर व्यवस्थापन गरेको छ । यस क्षेत्रमा चेतनामूलक सफाइ अभियानसमेत चलाइएको जनाइएको छ । 

चक्रपथ उत्तरखण्ड सफाइको १ सय ३८औँ हप्तामा बसुन्धरा क्षेत्रमा सफाइ गरी आठ टन फोहर व्यवस्थापन गरिएको छ । त्यस क्षेत्रमा बेवारिसे छोडिएका दुई वटा गाडी पनि हटाइएको अभियानकर्मी तिलक बस्नेतले बताउनुभयो । सफाइमा २ सय ५० जनाभन्दा बढी अभियानकर्मी सक्रिय थिए ।

चक्रपथ पश्चिमखण्ड सफाइको १ सय २०औँ हप्तामा स्वयम्भू भगवान् पाउ क्षेत्रमा सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका साथै स्थानीयवासीको पनि सफाइ अभियानमा सहभागिता थियो । त्यस क्षेत्रमा घरदैलो जनचेतनामूलक अभियान पनि चलाइएको थियो । 

ललितपुरको गोदावरी खोला सफाइको ३८ औँ हप्तामा गोदावरी नगरपालिका–१ धर्मतार जोड्ने पुलसँगैको शिव मन्दिर क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा वडा नं १का जनप्रनिधिलगायत स्थानीयवासीको सक्रियता रहेको संयोजक बेबी थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया