भ्रमण वर्षको भव्य उद्घाटन : ठमेलमा ‘इभ’, विमानस्थलमा हात्तीले स्वागत गर्ने !

 मंसिर ९, २०७६ सोमबार १५:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

डाेल्पाकाे शे फाेक्सुन्डाे तालकाे सुन्दरतामा रमाउँदै पर्यटक तस्बिर - नेपाल पर्यटन बाेर्ड

काठमाण्डौ – नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोह दशरथ रंगशालामा हुने भएको छ ।

सन् २०२० को जनवरी १ तारिखका दिन दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा हुने भव्य समारोहमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष मूल समारोह समितिको पाँचाैँ पूर्ण बैठकमा मन्त्री भट्टराईले विश्वभरि नेपाल घुम्नुपर्छ भन्ने सन्देश दिँदै जनवरी १ तारिखको दिन भ्रमण वर्षको उद्घाटन हुने जानकारी दिनुभयो । टुँडिखेलमा उद्घाटन गर्ने तयारी गरे पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि चिटिक्क बनाइएको रंगशालामा यसको उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु, विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको  सहभागिता हुनेछ ।

बैठकले भ्रमण वर्षलाई  भव्य बनाउन थप १५ वटा संस्थालाई मूल आयोजक समितिमा समावेश पनि गरेको छ ।

भ्रमण वर्षको उद्घाटनमा यस्ता हुनेछन् कार्यक्रम

नेपाल भ्रमण वर्षका लागि मूल आयोजक समितिले विशेषगरी डिसेम्बर ३१ र जनवरी १ तारिखमा विशेष कार्यक्रम गर्दैछ । देशैभरिका नागरिकलाई नेपाल भ्रमण वर्षको अपनत्व अनुभूति गराउन र भ्रमण वर्ष सफल पार्नको लागि अनुरोधसहित कार्यक्रमहरु गरिने राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

मूल आयोजक समितिमा नेपाल भ्रमण वर्षको कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य रञ्जित आचार्यले प्रस्तुत गरेको कार्यक्रमअनुसार डिसेम्बर ३१ तारिखलाई नेपाल भ्रमण वर्षको ‘इभ’का रुपमा मनाइनेछ भने मुख्य दिन दिनैभरि देशैभर कार्यक्रम हुनेछन् ।

३१ डिसेम्बरको राति ठमेलमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रम हुनेछ ।  अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेलमा  हुने सडक महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम गरेर नेपाल  भ्रमण वर्षको इभको रुपमा मनाउने कार्यक्रम छ । ३१ तारिखकै साँझ, बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी, जनकपुरलगायतका ठाउँमा २ हजार २० वटा दियो बाल्ने कार्यक्रम छ  ।

देशका ठाउँ–ठाउँमा नेपालको खालि नक्सा राख्ने र त्यहाँ आफू घुम्न जान चाहेको ठाउँमा हस्ताक्षर गर्न लगाउने पनि आयोजकले जनाएको छ । यस्तै दरबारमार्ग र त्रिपुरेश्वरमा रहेका ठूला विद्युतीय पर्दामा नेपाल भ्रमण वर्षको समयको गन्ती(काउन्ट डाउन) सुरु हुने र भ्रमण वर्षको प्रचारप्रसार पनि हुने आयोजकले जनाएको छ । 
यस्तै घन्टाघरमा नेपालका पर्यटकीय स्थलको नक्सासहित विशेष लाइटिङको व्यवस्था गर्ने र अहिलेसम्मकै सुन्दर बनाउने आयोजकको दाबी छ ।

नेपाल भ्रमण वर्षको उद्घाटन हुने दिन जनवरी १ तारिखको दिन बिहानैदेखि देशैभरि कार्यक्रम सुरु हुनेछन् । बिहानै पशुपतिमा १ सय ८ शंख बजाएर भ्रमण वर्षको उद्घोष हुनेछ । बौद्ध र स्वयम्भूमा सयौं बौद्ध भिक्षूहरुले विशेष मन्त्रोच्चारण गर्नेछन् ।

१ तारिखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटकलाई विशेष स्वागत गरिनेछ । नेपाल आउने पर्यटकलाई फूलमाला र उपहारले स्वागत गरिने कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य रञ्जित आचार्यले जानकारी दिनुभयो  ।

विभिन्न संघ संस्थाको सहयोगमा जम्मा पारिने उपहारमध्येबाट पर्यटकलाई रोजेर लैजान दिइनेछ । भ्रमण वर्षको शुभारम्भ हुने दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हात्ती सजाएर राख्ने र उसैले पर्यटकलाई स्वागत गराउने तयारी रहेको पनि भ्रमण वर्षको सचिवालयले जनाएको छ । विमानस्थलमै विभिन्न सांस्कृतिक झाँकी निकाल्ने र लाखे नचाउने तयारी पनि छ ।

स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकलाई सीमा क्षेत्रमा प्रदेश सरकारले स्वागत गर्ने र हरेक प्रदेशका विमानस्थल पुग्ने पर्यटकलाई सम्बन्धित प्रदेश सरकारले सत्कार गर्नेछन् ।

दिउँसो ३ बजे उद्घाटन, अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम

जनवरी १ तारिखका दिन दिउँसो ३ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्षको औपचारिक उद्घाटन गर्नुहुनेछ । ३ बजे रंगशाला पुग्नेगरी  काठमाण्डौका विभिन्न स्थानबाट विभिन्न संस्थाका झाँकी र र्‍याली दशरथ रंगशालामा पुग्नेछन् । पर्यटनसँग सम्बन्धित संस्थाका साथमा सात वटै प्रदेशका सांस्कृतिक झाँकी र र्‍याली पनि रंगशालामा पुग्नेछन् । कार्यक्रम समारोहमा १ सय वटा लाखे नाँच देखाउने तयारी छ ।

भ्रमण वर्षको ७ दिनअघि सातै प्रदेशका पर्यटकीय स्थल वराहक्षेत्र, जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पञ्चकोशी र शैलेश्वरीबाट ल्याइएका पर्यटन टर्चलाई राष्ट्रपतिसमक्ष बुझाउने पनि कार्यक्रम रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले विशेष कला प्रदर्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगितिक समूहले अहिलेसम्मकै ठूलो सांगितिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

भ्रमण वर्षको उद्घाटनको दिन साँझ आतिसबाजी गर्ने र हजारौं बेलुन उडाएर समापन गरिने पनि आयोजकले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Motiram tamang

    Nov. 27, 2019, 6:38 a.m.

    Should be Nepal tourism year 2020 only for Nepali and government people using back money nothing for tourist attractions program everything is going increase like visa, permit....

  •  0 Reply

तपाईको प्रतिक्रिया