‘अवकाशपछि पनि सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने काममै व्यस्त छु’

 मंसिर १०, २०७६ मंगलबार १५:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सीताराम हाछेथुले प्रहरी निरीक्षक पदबाट अवकाश पाएको एक वर्ष पुगेको छ । उहाँले गएको गएको मंसिर ६ गतेदेखि अवकाश पाउनुभएको हो ।

हाछेथु ट्राफिक प्रहरी हुँदा ‘जहाँ जाम त्यहाँ सीताराम’ भन्ने भनाइ प्रख्यात थियो । हुन पनि सीताराम हाछेथुले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । यद्यपि अवकाशपछि पनि उहाँ ट्राफिक जनचेतना फैलाउने काममा व्यस्त हुनुहुन्छ ।

यसै सन्दर्भमा उज्यालो सहकर्मी मल्लिका थापाले उहाँसँग अवकाशपछिको  प्राप्त दिनचर्यामा केन्द्रित रहेर कुराकानी गर्नु भएको छ ।

ट्राफिक प्रहरी निरीक्षक पदबाट अवकाश पाएपछिको एक वर्ष कसरी बिताउनुभयो ?

२०४६ पुस १० गते प्रहरी सहायक निरीक्षक (असई) पदबाट ट्राफिक जीवन शुरू गरेपछि आफ्नो जीवनको ऊर्जाशील वर्षहरू ट्राफिक प्रहरी भएर सडकमै बिताएँ । प्रहरी निरीक्षक हुँदासमेत निरन्तर आफ्नो ड्युटी गरिरहेँ ।

लामो समयको सरकारी सेवापछि अवकाश पाउँदा धेरै साथीहरुले आफ्नो घर–परिवारसँग बस्ने, व्यावसायिक धन्दा गर्ने गर्दछन् । तर मेरो भने अवकाशपछिको जीवन पनि सडक र सुरक्षासँगै जोडिएको छ । सामान्य मानिसको हैसियतमा ट्राफिक जनचेतना फैलाउने काममा निरन्तर लागिरहेको छु । मैले अवकाश पाउनुभन्दा अघि नै कुनै न कुनै रूपमा सडक र सवारीसँगै जोडिने योजना बनाइसकेको थिएँ ।  त्यहीअनुरुप सडक र सुरक्षासम्बन्धी मैले हासिल गरेको ज्ञान र भोगेको अनुभव विद्यार्थी एवम् यात्रुलाई बाँड्नमा व्यस्त छु ।

काठमाण्डौ उपत्यकाको सडकमा  गाडीको घुइँचो छ । धेरै ठाँउमा साघुँरा सडक छन् त्यसैले सडकको यात्रा जोखिमपूर्ण छ । मेरो आफ्नै छोरा, मेरो आफ्नै मिल्ने साथी दुर्घटनाको शिकार भएका थिए । मैले धेरै दुर्घटना नजिकबाट देखेको छु ।

त्यसैले कसैका छोराछोरी, कसैका साथी, कसैका आमाबुबा र दाजुभाइ कोही पनि ट्राफिक चेतनाको अभावमा दुर्घटनाको शिकार हुन नपरोस् भनेर अवकाशपछि पनि चेतना जगाउने सामाजिक कार्यमा खटिरहेको छु । यही क्रममा म ट्राफिक जनचेतना फैलाउन उपत्यकाका विभिन्न विद्यालय, सार्वजनिक कार्यक्रम र अरु विभिन्न ठाँउमा पुग्ने गरेको छु ।

ट्राफिक प्रहरी भएर ट्राफिक व्यवस्थापन सम्बन्धी काम गर्दा र अवकाशपछि सामान्य नागरिक भएर यो क्षेत्रमा काम गर्दा काम गर्ने क्रममा कस्तो फरक पाउनुभएको छ ?

प्रहरी सेवामा हुँदा  ट्राफिक व्यवस्थापनमै व्यस्त हुने भएकाले जनचेतना फैलाउने काममा धेरै समय दिन भ्याइँदैन थियो । तर अहिले अवकाशपछि म विभिन्न ठाँउमा विभिन्न विद्यालयमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतना जगाउने काम गरिरहेको छु । एउटा विद्यालयमा गएँ भने सबै कक्षाका विद्यार्थी र उच्च माविका विद्यार्थीलाई पनि समेटेर सडक र सवारी सुरक्षाबारे मसँग भएका ज्ञान २÷३ घण्टा लगाएर भए पनि बाँड्ने काम गर्छु ।

काठमाण्डौ उपत्यकामा भएका उत्कृष्ट भनेका विद्यालयमा पनि विद्यालयले ट्राफिक शिक्षाको व्यवस्था गरेको छैन । खेलकुद, गीत–संगीतका लागि शिक्षक राख्छन् तर ट्राफिक शिक्षाका शिक्षक राखेका छैनन् । मैले स्वयंसेवीको रुपमा भिडियोमार्फत दुर्घटनाका दृश्यहरुसमेत देखाउँदै कस्ता कारणले दुर्घटना भएका हुन् भन्ने आधारभूत जानकारीसमेत दिने गरेको छु । पहिले ड्युटीमा बस्दा यसरी काम गर्न समय पाइँदैन थियो । कहिले सवारी, कहिले जाम व्यवस्थापन, कहिले दुर्घटना जस्ता कारणले जनचेतना फैलाउने कार्यक्रममा आवश्यक समयमा सहभागी हुन सकेको थिइनँ ।

योसँगै ट्राफिक प्रहरीको पोशाकमा हुँदा कतिपय सरकारका नीति, प्रहरी संगठनका कुरा र कहीलेकाहीँ वास्तविक घटना पनि लुकाउन पर्ने अवस्था आउँथ्यो । तर अहिले बोल्न अलि सजिलो भएको छ ।

ड्युटीमा हुँदा पनि सधैँ व्यस्त, अहिले पनि उस्तै हुनुहुन्छ, घर– परिवार अनि  आफन्तको साथ कत्तिको पाउनुभएको छ ?

पहिला  आफन्त, घरपरिवार र समयको महत्व नबुझेका मैले अहिले यसबारे बुझ्न थालेको छु । पहिले जस्तो कडा ड्युटी नभएकाले काम र परिवारलाई मिलाएर समय दिन्छु । परिवारको साथ र सहयोगबिना त म यसरी अगाडि बढ्न असम्भव नै छ । श्रीमती, छोराछोरी र आफन्तबाट समेत राम्रो सहयोग पाएकैले ट्राफिक जनचेतना फैलाउने कामलाई निरन्तर दिन सकेको छु ।

एउटा मानिसका लागि जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय नै ट्राफिक शिक्षा हो । यद्यपि ट्राफिक शिक्षा अहिलेसम्म कसको पनि  प्राथमिकतामा पर्न सकेको छैन ।

यसै सन्दर्भमा म दुर्घटना हुन सक्ने परिस्थिति, दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा विद्यार्थीहरुलाई ज्ञान दिन आफैले १० देखि १२ हजारसम्म खर्चेर हिँड्ने गरेको छु । तर मैले दिएको शिक्षाले कसैको अमूल्य जीवन बच्छ भने मलाई र मेरो परिवारलाई त्योभन्दा बढी खुशी कुनै कुराले दिन सक्दैन न त्यो पैसाले किन्न सक्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया