मधेशसँग पहिलेदेखि नै मेराे लभ परेको छ, लभरले दु:ख पाएको हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड

 मंसिर १०, २०७६ मंगलबार १९:४९:२३ | जयनारायण यादव
unn.prixa.net

बारा - राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि  भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ कमिटीले मंगलबार बाराको निजगगढमा जनसभा आयोजना गरेको छ ।

पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र शीर्ष नेताहरुलाई उपस्थित गराएर नेकपाले विकास र समृद्धिको लागि भन्दै सभा गरेको हो ।

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफनो पार्टी र  सरकार तराई मधेशको समृद्धि र विकासको लागि लागि परेको बताउनुभयो ।उहाँले  तराई मधेशसँग आफनो विशेष  सम्बन्ध रहेको भन्दै यसकाे विकासक लागि जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने बताउनभुयो । ‘तराई मधेशसँग मेरो  पहिलेदेखि नै लभ परेको छ, म आफनो लभर  पछाडि  परेको र दु:ख पाएको हेर्न सक्दिनँ', प्रचण्डले भन्नुभयो ।

यदि मधेशलाई फेरि पनि पछाडि पार्ने कार्य जारी रहे आफू अनसन बस्न पनि तयार रहेको जानकारी गराउनुभयो । उहाँले सरकारले २ नम्बर प्रदेशमा  सञ्चालित निजगढ-काठमाण्डौ फास्ट ट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व-पश्चिम रेल्वे, हुलाकी मार्ग, सुनकोशी-कमला डाइभर्सन, सुनकोशी-मरिन- बागमती डाइभर्सनलगायतका आयोजना पूरा गरेर यस क्षेत्रका बासिन्दालाई समृद्ध बनाउने बताउनुभयो ।

सभामा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेले आफनो पार्टी र सरकारको ध्यान तराई मधेशको समृद्धिका लागि रहेको बताउँदै नेकपा नेतृत्वको सरकारले मात्र मधेशमा विकास निर्माणको गति अघि बढाउने दाबी गर्नुभयो । मन्त्री पोखरेलले हाल सञ्चालित राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा बढी विकसित हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश नम्बर २ को सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै भण्डाफोर अभियान सञ्चालन गर्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभएको थियो ।

उहाँले प्रदेश २ को विकासका लागि संघीय सरकार र स्थानीय पार्टी कार्यकर्ता मिलेर काम गर्न जरुरी रहेको पनि बताउनुभयो । ‘प्रदेश सरकार भ्रष्टाचारमा डुबेको छ, उहाँले भन्नुभयो, 'यस्तो अवस्थामा भण्डाफोर अभियानसँगै कार्यकर्ताले संघीय सरकारसँग समन्वय गरेर विकास निर्माण र जनहितमा काम गर्न जरुरी छ ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एंव नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति अवस्थाबारे मन्त्री पोखरेल र अध्यक्ष प्रचण्डसँग जानकारी माग गर्नुभएको थियो ।

कार्यक्रममा निजगढ विमानस्थल अयोजना प्रमुख ओम शर्मा, हुलाकी मार्ग अयोजना प्रमुख इन्जिनियर दिपेन्द्र पाण्डे, राष्टपति चुरे संरक्षण कार्यक्रम प्रमुख विरेन्द्र यादवले अयोजनाको प्रगति अवस्थाबारे जानकारी दिनुभएको थियो । तीन वटै आयोजना प्रमुखहरुले आयोजना कार्यान्वयनमा आर्थिक अभाव र राजनीतिक प्रतिबद्धताको अभाव खडकिएको बताउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • S. Kumar

    Nov. 27, 2019, 6:46 a.m.

    हाम्रो समाजमा दिनहुँ गरिव सोझा नागरिक मरिरहेको छ डाक्टरको कारण / ८-९ कक्षा फेल भएकाले यसरी सिकाएको भरमा कसरी उपचार गर्न सक्छ ? यसलाई कसले कारवाही गर्ने ? हामीले कसलाई भन्ने ? मेरो गाउँमा लगभग २-४ वर्षा भित्र १०-१२ जनाले ज्यान गुमाइसकेको छ / सिकेको भरमा कडा औषधी दिंदा मुटु, किडनी लिभरमा समस्याका कारण मृत्यु भएको छ / यसलाई कसरी रोक्ने ? सम्न्धित निकायले यदि समय मै परवाह गरेन भने त्यो झोले डाक्टरका कारण गाउँ नै सखाप हुने जस्तो लाग्छ / सबभन्दा बढी रौतहट जिल्लाको इश्नाथ नगरपालिकामा रहेको छ / हरेक वडामा १०-१२ जना ८/९ कक्षा फेला भएका झोले डाक्टर रहेकोले कृपया सकेसाम चांडो कारवाही गराउन अनुरोध छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया