नेपाल प्रहरीकाे पुरुष तथा महिला फुटबल टिमलाई टेलिकमकाे प्रायाेजन

 मंसिर ११, २०७६ बुधबार १७:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजन गर्ने भएको छ ।  

प्रायोजन सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपाल टेलिकम बुधबारदेखि नै एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समितिअन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । 

प्रायोजन बापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गर्नुभयो । 

सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा खेल्ने छन् । 

त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवर्द्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिम र फुटबल खेलाडीहरुको नाम निःशुल्क प्रयोग गर्न सक्नेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया