सागकाे उद्घाटनका लागि यसरी सजिँदैछ दशरथ रंगशाला

 मंसिर ११, २०७६ बुधबार २०:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने साग उदघाटनकाे पूर्वअभ्यास भैरहेको छ । मंसिर १३ गते शुक्रबार पनि अन्तिम अभ्यास हुनेछ । 

शान्ति, मित्रता र समृद्धिको नारासहित दक्षिण एसियाली खेलकुद सागको रौनक सुरु भैसकेको छ । प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटानका केहि खेलाडी आइसकेका छन् । कोहि आउने क्रममै छन् । दशरथ रंगशालामा हुने सागको उदघाटन र समापन समारोहको भव्य तयारी भैरहेको छ ।

उद्घाटन समारोह भव्य बनाउन विभिन्न समिति बनाएर काम भैरहेको प्राविधिक समितिका सदस्य मोहन विश्वकर्माले बताउनुभयो ।

रंगशाला वरपरका खाल्टाखुल्टी पुरिएका छन्, सडक पेटीमासमेत रङरोगन गरिएको छ । चोकचोकमा सागका तुल र ब्यानर टाँगिएका छन् । दशरथ रंगशालाको मैदानसहित स्कोर बोर्ड, साधारण प्यारापिट, बस्ने सिट लगायतका काम पनि सकिएका छन् ।

दशरथ रंगशालामा उदघाटन र समापनसँगै पुरुष फुटबल र एथलेटिक्स खेलहरु हुनेछन् । हतार हतारमै काम गरेर भए पनि रंगशालाको धेरैजसो काम सकिएको र यो तयारीले निक्कै उत्साह थपेको शुटिङ संघका महासचिव त्रिलोचनकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

रंगशालामा भीआईपीतर्फको प्यारापिटको छानो तयार हुँदैछ । बिहीबारसम्ममा सम्पूर्ण काम सक्नेगरी अन्तिम तयारी भैरहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

पूर्वाधार निर्माण र तयारीलाई लिएर तेस्रो पटक तोकिएको मितिमा पनि साग हुन्छ वा हुँदैन भन्ने दुविधा थियो । तर दुविधालाई चिर्दै सागको माहोल तातेको छ । सागको औपचारिक उदघाटन अघि नै आजदेखि भलिबल खेल सुरु भएको छ ।

सागले खेलाडी मात्र होइन अरु दर्शक र कलाकारलाई पनि उत्तिकै उत्साह थपेको छ । दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा झण्डै १५ हजार कलाकारले ७ वटै प्रदेशको कला र संस्कृति प्रस्तुत गर्नेछन् । ४ दिनपछि औपचारिक रुपमा उद्घाटन हुने सागको २४ गते समापन हुनेछ । 

तस्बिर‍: विकास गाेले

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया