गढीमाईको मेला : बलिलाई निरुत्साहित पारिने र परेवालाई संरक्षण गरिने

 मंसिर १२, २०७६ बिहिबार १०:३१:३२ | जयनारायण यादव
unn.prixa.net

बारा – विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको घुईंचो बढिरहेको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेको मेलामा छिमेकी देश भारतबाट समेत दर्शनार्थी आएका छन् ।

मंसिर १ गतेदेखि सुरु भएको मेलामा १७ र १८ गते बलि दिने साइत भएको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनु भयो । बलिको भाकल गरेका  भक्तजनहरुले राँगा ल्याउने क्रम सुरु भएको छ । विभिन्न ठाउँबाट ल्याइएका राँगाहरु गढीमाई नगरपालिका अन्तरगतको मेला संचालन तथा व्यवस्थापन मुल समितिको जिम्मामा गढीमाई मन्दिरको पुर्व तर्फ रहेकोे बलि दिइने स्थानमा राख्न थालिएको छ ।

मेलामा अहिले दिनहुुँ सयौं संख्यामा दर्शनार्थीहरु गढीमाईको दर्शन गर्न आइरहेको मेला व्यवस्थापन मूल समितिका अध्यक्ष सुदामा साहले जानकारी गराउनु भयो । अन्य वर्षको तुलनामा यस वर्षको मेला व्यवस्थित बनाइएको दर्शनार्थीहरुले महशुस गरेका छन् । वासस्थानका साथै खानेपानी र शौचालयको पनि भरपुर व्यवस्था मिलाइएको मेला सञ्चालन मूल समितिका महासचिव मोतीलाल कुश्वाहाले बताउनुभयो ।

मेलामा मनोरञ्जनका साधनको रुपमा विभिन्न खालका पिङ, सर्कस, थिएटरलगायत साधनको व्यवस्था गरिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनु भयो ।

मेलामा करिब पाँच सय अस्थायी शौचालयको व्यवस्था गरिएको मेला समितिले जनाएको छ । दर्शनार्थीका लागि मेला स्थलमा पाँचवटा अस्थायी टेण्टको निर्माण गरेर बसोबासकोको व्यवस्था मिलाईएको मेला मूल समितिका अध्यक्ष सुदामा साहले बताउनुभयो ।  मेलालाई सुरक्षित बनाउन तीन वटा सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनु भयो । नेपाल प्रहरीको करिब एक हजार टोली परिचालन गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

भेटीलाई व्यवस्थित गरिने

यो वर्ष चढाइएको गढीमाईको भेटी व्यवस्थित गरिने भएको छ । गढीमाईको मन्दिर नजिकै पुजारी र मेला समितिको स्वयमसेवक खटिएका छन् । गढीमाईलाई चढाइएको भेटी ठूलो बक्सामा जम्मा गर्न थालिएको र मेला सकिएपछि फाँडफाँड गरिने मेला समितिले जनाएको छ ।

जम्मा भएको भेटीबाट ४५ प्रतिशत पुजारी र ५५ प्रतिशत मेला समितिले लिने व्यवस्था मिलाइएको गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी गराउनुभयो ।
             
बलिलाई निरुत्साहित पारिने र परेवालाई संरक्षण गरिने

यस वर्षको मेलामा बलिलाई निरुत्साहित पारिने योजना अनुसार मेला समितिले काम गरिरहेको छ । 

बलिलाई निरुत्साहित गर्न मेला समितिले बलिको सट्टामा आर्थिक सहयोग दिएर भाकल पूरा गर्न सकिने व्यवस्था गरिएको गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो । राँगा बलि दिनुको सट्टा समितिलाई आठ हजार, बोकाको सट्टा चार हजार र परेवाको सट्टामा तीन सय रुपैयाँले गढीमाईलाई चढाउन सकिने समितिले जनाएको छ । बलिलाई निरुत्साहित पार्न पशु कल्याण संघले जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

स्वयंसेवकहरु परिचालन गरेर पशु बलिको सट्टामा फलफूल चढाउन आग्रह गर्न थालिएको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराउनुभयो ।

गढीमाईको मन्दिरमा चढाइने परेवालाई संरक्षण गर्न थालिएको छ । परेवा संरक्षण गर्न २० जना स्वयमसेवक परिचालन गरिएको छ । परेवा समातेर लैजानेलाई पाँच हजार जरिवाना गराइने मेला समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया