बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

 मंसिर १६, २०७६ सोमबार ६:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बन्यो ।

निर्धारित ९० मिनेट सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जालीको दिशा देखाएका थिए ।

त्यसअघि बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले दुईवटा उत्कृष्ट बचाउ गरेका थिए । जसका कारणले गर्दा मारियो हर्मोसो र अल्भारो मोराटाले गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।

मेस्सीले ला लिगामा १० खेल खेल्दा आफ्नो गोल संख्या ११ पुर्‍याएका छन् । 

१४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ । 

ला लिगा अन्तर्गत नै आइतबार राति सेभियाले लेगानेसलाई १–० ले, एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–० ले, ओसासुनाले स्पान्योललाई ४–२ र गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया