नेपालको सिमाङ्कन : नागिरकको चासो ।

 मंसिर २१, २०७६ शनिबार ९:१६:४६ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

क्रोध, आक्रोश र असन्तुष्टिलाई बाध्यतावश दबाएर सुगौली सन्धिमा हस्ताक्षर गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको मुटु सापटी लिएर चन्द्रागिरि डाँडाको शिरमाथि उभिएर म टिस्टा र काङ्गडा चिहाइरहेछु ।

पूर्व फर्किँदा नसा, नाडी भरिएर आउँछन्, पश्चिम फर्किँदा पीडाहरू सोहोरिएर आउँछन् र पुर्खाको साहस र सपनाले मुटु दह्रो पार्दछ अनि अचानक आँखाले टिस्टाको पानी थोपा बनाई झार्दछ ।

संसारले चिनेको यो माटो, पुर्खाले खनेको यो बाटो, पाइला एक- एक चालेकै हौँ, बैरी छिर्ने गौँडा, गोश्वारा सारा सबै टालेकै हौँ । तर....तर त्यही बैरी सीमाभित्रै आएर भन्दैछ...खबरदार ! कसले दिन्छ धागो ? कसले दिन्छ सियो ?

तर सत्य यो हो...जतिबेला संसारकै नक्सा थिएन तर हाम्रो देश थियो । 

काँधमा सगरमाथा बोकेका नेपाली थाकेको कल्पना गर्नेहरू, कालापानीमा झुक्याएर महाकाली तर्नेहरू, ती नै हुन् सदियौँसम्म पराइको पाउमुनि पर्नेहरू ।

यी पाखुरीमा नसा छन्, नसाभित्र जोस छ, जाइलाग्नेछौँ त्यसैमाथि जसले गाँस खोस्छ । छल्न जान्दैनौँ, ढाँट्न जान्दैनौँ, गोर्खालीको प्रतिष्ठाको रेखा व्यर्थै हामी काट्न जान्दैनौँ । यो संसार जितेकै हौँ कहिल्यै हामी हारेर बस्दैनौँ, कसैले केही झार्ला र खाउँला भनेर मुख आँ... पारेर बस्दैनौँ । बुझ्नुपर्छ सबले हामी शत्रुबाट पनि राम्रा कुरा सिक्न सक्छौँ, अनि गिद्धे दृष्टि राख्ने नव जिलेस्पी, अक्टरलोनीहरुका आँखा झिक्न सक्छौँ ।

धेरै सजग भइसक्यो १८१६ पछिको पुस्ता, पीडामा बस्नुहुन्न पशुपतिनगर, सुस्ताउनु हुन्न सुस्ता । अझै पनि यो देशमा अमर सिंहहरू रेटिएका छैनन्,  सतलज र नालापानीमा पुर्खाका पाईला मेटिएका छैनन् । मलाउँ हाम्रो आँगन हो, लिपुलेक हाम्रो पँधेरो, कञ्चनजङ्घाबाट घाम ल्याउँछौँ हामी...मुहार कसरी अँध्यारो ?

नेपालको सिमाना छैन चारैतिर पुर्खाको तरबारको धार छ, हाम्रो माटो, हाम्रो प्राण बोली एकै सार छ । रातो रगतले कोरिएका सीमारेखा मेटेर मेटिन्नन्, झुक्न जान्दैन नेपाली कसैले छेकेर छेकिन्नन् । सीमारेखा कुल्चँदा कसैले म्यानबाट तरबार निस्कन खोज्छ, बज्रनेछ त्यसैमाथि जो हाम्रो अस्तित्वसँग जिस्कन खोज्छ ।

लिम्पियाधुराका कथा अधुरा अब हामी गर्नेछौँ पूरा । बैरी पस्यो कालापानीमा समाचारमा भन्नु पर्दैन आफ्नै मुटुले बताउँछ, यस्तो खबरले रगत तताउँछ...अनि लाग्छ..., रातो र चन्द्र, सूर्य गाउनुपर्ने दिन आउँदैछ । सुगौलीका बुँदा-बुँदा जलाएर छोड्नेछौँ हामी, टिस्टाका फाँटमा मन्सुली धान लगाएर गोड्नेछौँ हामी । सुस्ताउनेछौँ सिक्किममा, दार्जीलिङमा दौडनेछौँ, हिमालझैँ उच्च शिर लिएर बङ्गालको खाडीमा पौडनेछौँ ।

के फल्दैन यो माटोमा ? बीऊ राख्नुपर्छ, खेतको डिलमा बसेर गोरस चाख्नुपर्छ । अमृतै होस् तर पराईको चुस्की चाहिँदैन, एक गिलास महीले आँत भिजाउँछु...मेक्सिकोको मदिरा अनि हल्याण्डको ह्विस्की चाहिँदैन ।

गाँस छोड्छौँ बरू श्वास रोक्छौँ तर यो देशलाई शिरमा बोक्छौँ । तयार छौँ जति रगत यो माटोमा बगाउनुपर्छ, मूलाझैँ काटे पुर्खाले शत्रु अब हामी पनि त्यसरी नै भगाउनुपर्छ, कसिङ्गर बढारेर देशबाट सीमामा पर्खाल लगाउनुपर्छ । निहुँ खोजेर शत्रु पस्यो, बज्र बनेर त्यसको छाती फोर्नुपर्छ, हातको रेखाभित्र हैन अब देशको सीमारेखाभित्र हामीले भाग्य कोर्नुपर्छ ।

यही माटो खोस्रौँला, बरू भोकै बसौँला तर मनभित्र स्वाभिमानको हाँसो हुनुपर्छ, अनादिकालमा देवता घुमेको यो धाम सदा सर्वदा हामीलाई नासो हुनुपर्छ, सीमाभित्रको एक चिम्टी माटो दिन्नौँ कसैलाई, लान खोजे तीन करोड जनताको चासो हुनुपर्छ...तीन करोड नागरिकको चासो हुनुपर्छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०७७

3 Comments

  • Darshan

    Dec. 9, 2019, 4:11 p.m.

    Superb. Explaining real fact and situation of Nepal. We will rise again. And sir it is a good one.😊😊

  •  0 Reply
  • Binamra Stha

    Dec. 7, 2019, 10:32 a.m.

    Superb!

  •  0 Reply
  • JUNG.B

    Dec. 7, 2019, 10:32 a.m.

    Superb

  •  0 Reply

तपाईको प्रतिक्रिया