तनाव

 मंसिर २१, २०७६ शनिबार १५:७:२ | महेश्वर चापागाईं
unn.prixa.net

टाउको एकनासले भारी भइरहेको छ,शरीर भित्रभित्रै जलिरहेको छ । किताब पढ्न,लेख्न,डुल्न, बाहिर निक्लन, साथीहरु भेट्न केही गर्न  मन छैन ।

ओखती खाउँ न त, गएर डाक्टर देखाउँ न त भनेरभन्दा पनि के को ओखती खानु ? कुनै निश्चित ठाउँमा दुखेको पनि छैन, ओखती खानै पर्ने गरी बेस्सरी गाह्राे भएको पनि छैन । ओछ्यानमा पल्टिहाल्न पनि आँखामा एक फुट्टि निद्रा छैन । के गर्ने सुरेन्द्र सोच्नै सकिरहेको छैन । आखिर यी सब तनावहरुको पछाडिका रहस्यहरु के हुन? मन्थन नगरिकन त सुखै भएन।

यसपालि घरबेटीको भाडा तिर्न सकिएन? यो महिना कलेज जान पाइएन, पास पो भइन्छ भइन्नँ । यसपालि अफिसले दिएको टार्गेट पुगेन, मार्केटको टार्गेट नै नपुगेपछि कमिसन पाउने कुरा हुन्न होला त । खै यही कमाइले काठमाण्डौको बास थामिन्न, विदेशतिर उड्नु  पर्ने पो हो कि ? अस्तिको डेटिङमा  पुलिसले रेड हान्यो? अहो तनावका पनि कति धेरै स्रोतहरु रहेछन्।

अघिल्लो वर्ष बिक्री टार्गेट पनि पुगेको थिएन, यो साल पनि पुगेन के नौलो कुरा भयो र ? मालिकहरुले  कर्मचारीलाई पूरा गर्न सक्ने गरी टार्गेट नै दिँदैनन् । अघिल्लो वर्ष भनेजति टार्गेट भेटाउन नसकेपछि यो वर्ष किन ? के कारणले टार्गेट थपेका हुन, उस्ले बुझ्ने कुरा थिएन ।

"यी टाउकेहरु, हाकिमहरु भनाउँदाहरुलाई बजार बजार डुलाउनु पर्ने अनि थाहा हुन्थ्यो। टेबुलमा बस्छन, क्याल्कुलेटर थिच्छन,  नाफाको हिसाबकिताब गरेर टार्गेट बढाउँछन् ।  नाफा खाने उनीहरु तनावचाहिँ हामीलाई  ?

तनाव उस्को उनीहरु अफिसको मात्र समस्या थिएन। एकछिन आफनो कुरा बिर्सेर समाजमा  आँखा डुलाउँदा पनि  कोही तनावरहित   भेटिन्न । व्यापारी, कर्मचारी, विद्यार्थी सर्वसाधारण  सबैजना तनावमै छन्  सन्तुष्ट त एकजना नि छैनन् । व्यापारीको ध्यान व्यापारमा छैन, कर्मचारीको ध्यान कर्ममा छैन, जागिरेहरु नै  कुर्सीमा झोक्राएर बस्छन् ।

मन्त्रीहरु, राजनेताहरु, ठूला ठूला नेताहरु, गृह सचिव, पुलिस अधिकारीहरुको कुरा बेग्लै छ, बाँड्छन् ठूलाठूला सपनाहरु अल्झिछन् सानासाना कुराहरुमा । युवाहरुले पाएको हैरानी, युवाहरुले पाएको अनावश्यक दु:ख कष्ट, भोग्नु परेको अनगिन्ति तनावतिर उनीहरुको ध्यान  कहिले जाला खै ?

सम्झेर ल्याउँदा तनाव पनि कति कति ? बत्तीस वर्षको भैसकियो बिहे भएको छैन । यही तलबले, यही कमाइले, यही लर्‍याङतर्‍याङले अझै बीस वर्ष बिहेको कल्पना नगरे हुन्छ ? यस्तो तनावग्रस्त समयमा एउटा जवान केटा, एउटा जवान केटी, एउटा पार्कमा, एउटा होटलमा, एउटा कोठामा, भेटिनुले कस्को तनाव बढ्यो ? 
"ऊफ यदि त्यो साँच्चिकै पुलिस भैदिएको भए?"

हो, सुरेन्द्रले स्विकार्नै पर्छ आफनो पहिलो डेटिङ, शनिबारको दिन  नुहाइधुवाइ गरेर, चिटिक्क परेर पाँच वर्षअघि गिफ्टमा पाएको  तर अहिलेसम्म पनि काममा नआएको जस्मिन सेन्ट छरेर सुरेन्द्र  समयमै घरबाहिर निस्केकै हो ।

मिसकलबाट जोडिन आइपुगेकी अन्जान सब्रिनालाई एक वर्ष लगातार मेसेज, फोन र फलो गरेर उस्ले  पट्टाएकै हो । एक वर्षको अनवरत प्रयासपछि शनिबार ठिक एघार बजे सब्रिनाले उस्लाई भेट्न मन्जुर गरेकी नै  हो। हो भन्न धक मान्नुपर्ने कुनै कारण नै थिएन। सुरुवातका  मेसेजहरुमा, फोन कलहरुमा विभिन्न कविता, प्रेरक भनाइ, भावुकता, विवशता, सपना आदि आदिका जालो फिँजाएर सुरेन्द्रले सब्रिनालाई फकाएकै हो तर एक वर्षपछि अहिले कथा पुरै बदलिएको छ ।

सब्रिना अहिले ऊस्को फोनकल, मेसेज र  केयरिङबिना बाँच्नै सक्दिन भन्छे। सब्रिनाले उस्लाई  यति धेरै चाहन थाली त उस्को के दोष हुन्छ र? सुरेन्द्र त यसै पनि सब्रिनालाई सुरुदेखि नै चाहनथ्यो। यो आकर्षण देहिक मात्र थियो कि भावनात्मक नै थियो ! त्योचाहिँ न सुरेन्द्र भन्न सक्थ्यो, न सब्रिना नै भन्न सक्थी । किनकि उनीहरुको प्रत्यक्ष भेटघाट भएको थिएन।

टेलिफोनका प्रशंसा, रात रातभरका अनिँदो कुराकानीकै आधारमा सम्बन्धको आदर्शलाई परिभाषित गर्न सकिँदैन थियो । किनकि धेरै वर्ष प्रेममा चुर्लुम्म डुबे भनेर बिहे गरेका जोडीहरुले नौ महिना पनि सँगै बस्न नसकेका बर्गेल्ती उदाहरणहरू थिए। कतिले त अदालतको शरण परेर मात्रै मुक्ति भेटेका थिए।

पहिलो डेटिङ अबेला गर्ने कुरै भएन ठिक एघार बजे सुरेन्द्र डिल्लीबजारको पिपलबोटमा पुग्यो । पिपलबोटको फेदमा आँखा डुलायो, पिपलबोटलाई बाहिरबाट फलामको बारले घेरेर राखिएको थियो । उस्ले वरिपरि छेउछाउ सबैतिर हेर्योर अहँ आफूले खोजेको आँखाहरु त्यहाँ थिएनन् । उस्मा तनाव थपियो।

"के आउँथी होली र ? फोनको कुराकानीले मात्र ? कुराको सुरमा बगी होली भावनामा डुबी होली, आउँछी भन्दी होली ? भरे आउने बेलाचाहिँ बाआमा, दाइ  छिमेकी सबको अनुहार  सम्झी होली, मलाईचाहिँ बिर्सिहोली ?"

उ आउँछे भनेर पत्याउने म पो उस्तो त ? अन्जानमै सुरेन्द्रले निधारतिर हात लग्यो।

तर के थाहा पिपलबोट यति ठूलो छ, अर्कोपट्टि छेलिएर पो बसेकी छ कि ? निधारमा पुगिसेकेको हातलाई चिउँडोमा पुर्याेएर सुरन्द्रले  मुख मिठ्ठाउन पनि भ्यायो।
ल ठिक छ मलाई त धोका दिन सक्ली तर शनिबारको दिन पिपललाई त धोका दिन त ठूलो आँट चाहिन्छ । पिपलका पातहरुझैँ उस्का सपनाहरु हरिया भरिला भए।

उस्ले लगाइरहेको सर्टलाई पाइन्टमा घुसार्योस्, हातले कपाल मिलाउँदै पछाडि लग्यो, हल्का तल झरेको गगल्सलाई नाकको डाँडीबाट आखामा पुर्‍याएर टमक्क पार्‍याे । अनि अलिअलि अध्याँरो  देखिएको खुड्किलामा जतनसाथ टेक्दै पिपलबोटको पेरिफेरिमा प्रवेश गर्‍यो ।

शनिबार पिपलबोटमा पानी चढाउनेहरूले पिपललाई चाहिनेभन्दा धेरै नै पानी चढाएका थिए। ओँभानो ठाँउ खोजेर टेक्न जुत्तालाई निकै सकस पर्योढ। पिपलबोटमा उनिएका धागोहरू, चढाइएका नरिवलहरू, अरू त अरू रातो अबिर र पहेलो  केशरीहरू कालो कालो देखिए। उसले गगल्सलाई टाउकोमा पुर्‍यायो, तिनीहरु बास्तवमा कालो थिएनन् । तर उस्को मनको अँध्यारोचाहिँ जस्ताको तस्तै रह्यो किनकी सातफेरा लगाउदा पनि सब्रिनाको उपस्थिति त्यहाँ थिएन।

"उभिउँ कि बसैा ! कुरैा  कि फर्की जाउँ! दोसाँध दोसाँधमा सुरेन्द्र उभिरह्यो। हातहरु  पूर्व-पश्चिम दायाँ-बायाँ कता कता पुगे उस्लाई हेक्का भएन। "नआउनु नै थियो त मलाई किन बोलाएको होली ?"

पिपलबोटको कुनामा बसेको गन्हाउने बोका उस्को नजिकै आयो र लामो लामो दाह्री हल्लाउँदै गिँजा देखाउन थाल्यो। सुरेन्द्रलाई बोकाको नियत ठिक लागेन न उस्को गन्ध नै मन पर्‍यो तर ऊ गन्ध सुँघ्न मजबुर थियो ।

"हैट, बोका उता जा " सुरेन्द्र च्याँठियो तर सेतो दाह्रीवाल बोकाले उस्को कुरा सुन्दै सुनेन बरु सिङ उझाएर उतिर ढेपियो। यत्तिकैमा एउटा चिनेको हाँसो पिपलबोटभरि फैलियो।

बोकासँग जोगिन खोज्दा गगल्स भुइँमा खस्यो। बोका सुरेन्द्रलाई लल्कारी रहेको थियो त्यसमाथि परिचित हाँसो पनि थपियो।  दृश्य बदलियो तर तनाव बदलिएन। गगल्स त टिप्नै थियो ऊ गगल्स टिप्न निहुरियो।

"हैट, बोका उता जा, कति हाँस्नु?" फेरि भन त । नारी आवाज पक्कै पनि सब्रिनाकै हुन पर्छ।

यसरी यस्तो अवस्थामा सब्रिनासँग भेटहोला सुरेन्द्रले सोचेकै थिएन। उसका पाइन्टका मोताहरू पिपलको पानीसँग मिसिएर हिलाम्य भएका थिए । सर्ट पनि सद्दे थिएनन्, बोकाको सिङमा लागेको अबिर केसरी र मैलो टाँसिएको थियो।

"हे भगवान कस्तो तनाव आइलाग्यो !" 

सुरेन्द्रको पहिलो डेटिङको किस्सा  तनावबाटै सुरू भएको थियो।

'साँच्चि एउटा कुरा भन त सुरेन्द्र केटा मान्छे र बोकामा के फरक हुन्छ?'

'ह्या के सोध्या ,यस्तो उटपट्याङ प्रश्न ? तिम्रो दिमागमा नि बोकै घुम्या रैछ ? सुरेन्द्र प्रश्नबाट तर्किन खोज्यो?'

"भन न भन्या ! केटा मान्छे र बोकामा के फरक हुन्छ ?" सब्रिनाले नारी शुलभ जिद्दी छोडिन

सुरेन्द्रले उस्को प्रश्नको जवाफ तुरुन्तै दिन उचित ठानेन। यसपाला सुरेन्द्रले सब्रिनाको माथिल्लो भागतिर हेर्‍यो । लाम्चो आँखा, गोलो अनुहार, पुक्क गाला, कोठी, पातलो ओठ केटी त भन्या जस्तै रैछे। बोकाको पिछा छुटाएर ऊ सब्रिनातिरै ढेपियो ।

पिपलबोटमा चढाएको मणिचुडको लड्डुहरु देख्दा उस्को मुख  रसायो। मणिचुडको लड्डुहरु देखेर लोभिएका  जिब्रोहरु हिस्स परे । लड्डुहरुलाई च्याप्प समाएर क्वाप्प मुखमा हाल्न इज्जतले दिएन ।

सुरेन्द्रले लड्डुबाट आँखा हटाएर फेरि सब्रिनातिर हेर्‍याे । उनको पातलो ओठ हाँस्दा झनै आकर्षक देखिएका थिए । उनको लाम्चो आँखामा नजाने कस्तो गहिराइ थियो, रहस्य थियो मुखभन्दा पनि धेरै उन्का आँखा र ओठ बोलिरहेका थिए ।

"केटा मान्छे भनेको केटा मान्छे नै हो, बोका भनेको बोका नै हो । बोकालाई  बाख्रीले जन्माउँछ, केटा मान्छेलाई तिमी जस्तो सुन्दरीले।" सुरेन्द्रले अलिक जिउ तन्काएरै जवाफ दियो।

बोका अलि परै पुगिसकेको थियो त्यसैले सुरेन्द्रको फुर्ति हेर्न लायककै भयो।

"हैट, मौका पाए भने केटा मान्छेले छोड्दा रहेनछन्।"

"तिमीलाई बोकाले लखेटेको देख्दा मैले हाँसो थाम्नै सकिनँ, त्यसमाथि तिमी बोकालाई सम्झाउँदै थियौ।" लामो लामो श्वासलाई विश्राम दिँदै सब्रिना भन्दै थिई। "हैट बोका उता जा "कति हाँस्नु, म त हाँसेरै मर्ने भए।

सुरेन्द्र भने उता जानुसट्टा सब्रिनातिरै ढेपियो।

"यति चाँडै हामी यति नजिक हौला र यो पलबाट गुज्रियौला, कसम मैले सोचेकै थिइनँ । सुरेन्द्रले सब्रिनाको पुक्क गालामा चुक्क म्वाइँ खायो, सब्रिनाले आँखा चिम्ली दिई । सब्रिनाको सहमतिले सुरेन्द्र पुलकित भयो उस्ले अलिक टाउको उठायो र सब्रिनाको बन्द आँखाहरुमा पालै पालो म्वाइँ खायो। म्वाइँ खाँदै खाँदै उ निधारमा पुग्यो । फेरि आँखामा, गालामा, ओठमा, चिउँडोमा सुरेन्द्र अघि बढिरह्यो।

"भयो बाबा भयो, पहिलो भेटमै योभन्दा माथि नजाउ। सब्रिनाले छातितिर अगाडि बढिरहेका सुरेन्द्रको हातलाई च्याप्प समाई तर सुरन्द्रले हातलाई रोक्न सकेन। सब्रिनाले हातलाई रोक्न पनि खोजिनँ अघि बढ्न पनि दिइन, एकछिन हातहरुको घर्षण भैरह्यो।

"के हाम्रो मायाको अन्तिम बिन्दु यही हो ?" सब्रिनाले सुरेन्द्रको कानमै भनी ।

सुरेन्द्र मूर्तवत भयो, उस्को हात जहाँको त्यहीँ रोकियो, बढिरहेका सासका गतिहरु  धिमा भए।

ढक् !ढक्! ढक्! बाहिर ढोकाबाट आवाज आयो।

को ? सब्रिनाले आँखा फट्टाई, सुरेन्द्र हडबडाएर सर्ट खोज्न थाल्यो।

उफ् कस्तो तनाव? सुरेन्द्रको निधारभरि चिटचिट पसिना देखिए, उस्का नौनाडी गलेर आए,अघि सम्मका रोमान्टिक मुडहरु सब बरफझैँ चिसा भए । को हो, किन होला ?सुरेन्द्र श्वासै श्वासले बोल्यो।

"पुलिस।"

बाहिरबाट चर्को स्वर आयो। छिटो ढोका खोल्नुस।

ढक्!ढक्!ढक्।ढोका बाहिरबाट आवाज आइरह्यो।

"पुलिस"

ढक! ढक !ढक ! भित्र सुरेन्द्रको मुटु फुट्ला जस्तै भयो, सब्रिना दौडेर बाथरुमतिर पुगी  । बाथरुमको ढोकामा उस्का खुटाहरु ठोकिए।

तनावको असर  सुरेन्द्रमा पनि  देखियो, उसको अनुहार गुजमुजियो। हातहरु ढिला भए, सर्टको बाहुला हातमा छिराउन निकै बेर लाग्यो। सुरन्द्रले बल्ल बल्ल हातभित्र बाहुला छिराएको थियो सर्टको टाँकहरु नै भेटेन, हतार हतारमा उस्ले सर्ट नै उल्टो लगाएछ।

कोठाबाहिर मानिसहरुको चहलपहल बढ्दै थियो, धेरैको खुट्टाहरु भुइँमा लतारिएका थिए । चप्पल जुत्ताहरु मार्बलमा घिस्रिँदा पनि सरक सरक आवाज आउँदै थिए।होटलका बन्द ढोकाहरु घरक्क घरक्क खुल्दै गर्दा  सुरन्द्रेको तनाव झनै बढ्यो।

के गर्ने होला ? कता जाने होला ? कसरी जोगिने होला ? सुरेन्द्र गञ्जी र अन्डरवेयरमा निरीह देखियो । कमरमा बेरिराखेको तौलियाले त साथ दिएन,भैंमा झर्‍यो।

दोष सुरेन्द्रको थिएन, दोष सब्रिनाको पनि थिएन । जे भैरहेको थियो, एकदमै सहमतिमै भैरहेको थियो राजीखुशीमै भैरहेको थियो। बत्तीस वर्षमा बत्तीस लक्षणले युक्त नारी पुरुष भेटिएका थिए जो पछि गएर जीवनसाथी  या चिरस्थायी प्रेमी प्रेमिका हुन सक्थे । अरु कसैले या राज्यले टाउको दुखाउनु पर्ने आवश्यकता नै थिएन तर…।

यो हालतमा 
के गर्ने ? कता जाने ? कस्लाई के भन्ने ?
दोष कस्को ?…?…?

तनावको लेखाजोखा नै थिएन । बाथरुमबाट सावरको आवाज आयो, सुरेन्द्र भने सावरबिना नै पसिनाले निथ्रुक्क भिजिसकेको थियो । 


"ऊफ यदि त्यो साच्चिकै पुलिस भैदिएको भए?" 

त्यसपछिका हरेक साँझ, बिहान र रातहरुमा सुरेन्द्र पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया