जमाना कलाको होइन, चर्तिकलाको छ अहिले : आशिष अविरल

 मंसिर २१, २०७६ शनिबार १६:२३:१२ | दिलिप कुमार ज्याेति
unn.prixa.net

५० को दशकको मध्यसम्म पनि नेपाली संगीत, उधोगको रुपमा स्थापित हुन सकेको थिएन । चल्तीकै कलाकारहरुलाई पनि जीविकोपार्जनका लागि अन्य कुनै स्रोत साधन अपनाउनुपर्ने बाध्यता थियो । चाडवाड र विशेष अवसरहरु बाहेक संगीतिक कार्यक्रम बिरलै हुन्थे ।

संगीतमै केही गरौँ भनेर दूरदराजबाट राजधानी प्रवेश गरेका नवप्रवेशी संगीतकर्मीहरुलाई यो अवस्था झन् फलामको चिउरा चपाउनुसरी थियो । अधिकांश संगीतकर्मीहरु आर्थिक संकटकै कारण यो क्षेत्रबाट पलायन भएका घटनाहरु धेरै छन् ।

यस्तै घटनाका एक साक्षी अर्थात द्रष्टा ‘संगीत संयोजक’ तथा ‘संगीतकार’ ‘आशिष अविरल’ पनि हुन् । आर्थिक संकट र पारिवारिक कर्तव्य निर्वाहको क्रममा पाँच चोटीसम्म संगीत क्षेत्रबाट पलायन हुनुपर्ने स्थिति भोगेका आशिष लामो संघर्षपछि मात्र नेपाली संगीत क्षेत्रमा स्थापित भएका हुन् ।

संगीत क्षेत्रमा लामो समयसम्म संगीत संयोजक भएर काम गरे पनि २०६४ सालमा आएको उनको एकल संगीत रहेको गीती संग्रह ‘बास्ना’को आनन्द अधिकारीका शब्द र नरेन्द्र प्यासीको स्वरमा रहेका गीतहरु ‘तिमीबिनाको जीवन र ‘तिमीले दिने माया’ ले उनी नेपाली सांगीतिक क्षेत्रमा ‘क्लिक भएका हुन् ।

अहिले आशिषका धेरै गीतहरुले बजार ढाकेका छन् । लोकदोहोरीदेखि सुगम हुँदै अहिलेका अत्याधुनिक फास्ट बिटका डान्सिङ नम्बरमा समेत आशिषकै संगीतको वर्चस्व छ । ‘म बाँचेकै तिमलाई माया गर्न हो’ , ‘माया लुकी लुकी’, ‘नाइँ मलाई था छैन’ जस्ता आशिषको संगीत र संगीत संयोजन रहेका गीतहरु युट्युबलगायत सामाजिक सञ्जालमा समेत अग्रस्थानमा छन् । 

प्रस्तुत छ यिनै आशिष अविरलसँग अहिलेको संगीत क्षेत्रसँग सम्बन्धित रहेर उज्यालोकर्मी दिलीप कुमार ज्योतीले गरेको कुराकानी : 

संगीत संयोजक अथवा संगीतकार कुन पाटोलाई समेटेर सम्बोधन गर्दा सहज महसुस गर्नुहुन्छ ?

संगीतकार धेरै ओझिलो शब्द हो । संगीतकारको भारीचाहिँं बोक्न सक्छु कि सक्दिनँ ! तर म संगीतका विभिन्न पाटाहरुलाई संयोजन गर्ने र त्यसमा आफ्नो कलाकौशल मिसाउने प्रयास गर्ने हुनाले आफूलाई संगीतकर्मी वा संगीतकारको रुपमा चिनाउन पाउँदा बढी खुशी लाग्छ ।

पछिल्लो समय आफै गायक बन्ने भूत चढेको देखिन्छ संगीतकारहरुमा ? त्यो घानमा तपाईं पनि परिसक्नुभयो ? पैसाकै लोभले हो कि अथवा अन्य कारणले हो गायनमा यो मोह ?

अरुको त थाहा छैन, मेरो हकमा चाहिँ ‘ए मेरो हजुर ३’ मा ‘संसार यस्तै रहेछ परान’ बोलको जुन गीत मैले गाएँ, यो मेरो मर्जीले गाएको होइन । मैले ‘कम्पोजिसन’ सुनाउँदा निर्माताले ‘यो आवाज हाम्रो ‘क्यारेक्टर’लाई सुहाउँछ’ भनेपछि मैले गाएको हुँ । 

चलचित्रका गीतहरु गाउँदा हाम्रो ‘च्वाइस’ चल्दैन । निर्माताले स्वीकारेको खण्डमा बेग्लै कुरा नत्र ‘लास्ट आवर’मा पनि आवाज बदलिन सक्छ । सम्पूर्ण ‘डिसिजन’ निर्माताकै हुन्छ ।

सैद्धान्तिक रुपमा एकरुपता भए पनि व्यवहारिक रुपमा संगीतको परिभाषा अलि बेग्लै हुन थालेको हो अहिले ?

नाम कमाउन मान्छेले अनेक प्रयास गरिरहेका हुन्छन् । गीत गाएर होस्, संगीत गरेर होस् वा लेखेर अथवा अन्य कुनै ‘स्टन्ट’ गरेर भए पनि आफ्नो पहिचान बनाउने दौडमा मान्छेहरु छन् अहिले । त्यही लोभका कारण संगीतमा धेरै कच्चा मान्छेहरुको आगमन भएको छ र केही भ्रमित पनि भएको छ नेपाली संगीत अहिले  । तर पनि यसलाई सहज रुपमै लिन्छु म । यो एउटा फूलबारी हो र यहाँ हरेक प्रकारका फूलहरु फुल्नुपर्छ र यही फूलहरुबाट कुन फूल शिरमा लाउने  हो आफैले चुन्नुहुन्छ संगीतप्रेमीले । 

प्रविधिले ठूलो फड्को मारेर सहजता दिलाए पनि गीतहरुमा धेरै प्राविधिक त्रुटि सुनिनुको कारण के हो ? 

गायन नितान्त ‘अर्गानिक वे’मा गलाले गर्ने चिज हो । ‘टेक्नोलोजी’ले केही हदसम्म सहयोग गर्छ यसलाई तर राम्रो गाउनेलाई अझ राम्रो बनाउँछ । प्रविधिले जति सहजता निर्माण गरेकाे छ , त्यति नै जटिलता पनि छ यसभित्र ।

पुराना गीतहरुमा जस्तो मिठास नयाँ गीतहरुमा भेटिँदैन त !

मान्छेको स्वभाव विस्मृतिमा हराउने हुन्छ । वर्षाैँदेखि कानमा गुञ्जिएका गीतहरुले मानसपटलमा  बनाएको छाप र भर्खरै आएको गीतले बनाउने छापमा फरक हुनु स्वभाविक हो । गीतहरुको कालजयीता र गर्विलोपनमा ‘टाइम ड्यूरेसन’ले पनि केही भूमिका खेलेको जस्तो लाग्छ । अहिलेका गीतहरु पनि राम्रा छन्  । सबै राम्रा नहोलान् तर पहिलेका गीतहरु सबै राम्रा मात्र थिएनन् नि ! अहिलेका गीतहरु पनि १०–१५ वर्षपछि कालजयी बन्छन् । यो त हाम्रो ‘मेमोरी’मा बस्ने कुरा न हो ।

५० को दशकपछि आएका गीतहरु त पुराना गीतहरुको विकल्प हुन सकेनन् नि ? स्वर्णकालीन गीतहरुमा जुन दम थियो अहिलेका गीतमा ती विशेषता छैनन नि होइन ? 

पहिले सीमित सञ्चार माध्यमबाट सीमित मान्छेका गीतहरु बज्थे र त्यो निकै प्रभावकारी थियो ।

अहिले मान्छेका हातहातमा ‘ग्याजेट’छन् गीत सुन्नका लागि । ‘टिभी’ र ‘रेडियो स्टेशन’ अनगिन्ती छन् । असीमित गीतहरु असीमित स्राेतबाट प्रवाहित हुँदा त्यति प्रभावकारी नहुनु स्वभाविक हो ।

गीतको एउटा न्यूनतम आधारभूत सिद्धान्त त हुन्छ होला नि ? बिना लगामको घोडाजस्तो गन्तव्यविहीन अवस्था पनि विद्यमान छ नि नेपाली संगीतमा अहिले ?

अहिले जमाना कलाको होइन चर्तिकलाको छ । हामी अहिले कलाभन्दा बढी चर्तिकलालाई हेर्न चाहन्छौँ । सिद्धान्तले मात्र गीत चल्ने अवस्था छैन अहिले । ‘मैले ‘नर्मल’ गाएँ भने त, त्यो त नारायण गोपालकै सुनेको थिएँ  नि ! के छ र फरक त्यहाँ ? मैले सुन्न पर्ने कारण के ? मैले एउटा नयाँ गीत बनाउँदा त्यहाँ सुन्नुपर्ने के छ ? एउटा ‘लजिक’ सहितको गीत बन्नुपर्ने अवस्था छ अहिले । मान्छेलाई जे गरेर भए पनि नाम कमाउन पर्याछ अहिले । चाहे त्यो बदनाम नै किन नहोस् ।

झट्ट हेर्दा संगीत अहिले पतनको बाटोमा छ । बेलाबेलामा याहाँ विभिन्न ‘सेन्सरसिप’का कुरा पनि आउँछन् । तर त्यो पर्याप्त छैन । ‘सेन्सरसिप’मा ‘मिडिया’ अलि कडा रुपमा प्रस्तुत भैदिने हो भने धेरै हदसम्म छाडा प्रकृतिका गीतहरु निरुत्साहित हुन्थे ।

‘मिडिया’मा तपाईँले भने जस्तो सुरताल बुझेर ‘सेन्सरसिप’ लगाउन सक्ने जनशक्ति छ र ? बरु संगीतकर्मीहरुकै कुनै संगठनले अग्रसरता लिने समय भएन र ?

सुरताल बुझ्नेभन्दा पनि एउटा शिक्षित जनशक्तिले सामाजिक परिवेश र कला संस्कृतिलाई  जुन तरिकाले बुझेको छ, त्यो चेत सर्वसाधारणमा कमै छ ।

व्यक्तिगत होस् वा सामूहिक रुपमा सर्जक र स्रस्टाहरुसँगको प्रत्यक्ष सम्बन्धले पनि गीतका प्रकृति अरुले भन्दा बढी नै बुझेका हुन्छन् मिडियाकर्मीले । गीत बजाउँदा त्यसको प्रभाव समाजमा कस्तो पर्छ भन्ने कुरा मिडियाकर्मीलाई बढी थाहा हुन्छ ।  त्यसैले धेरै हदसम्म ‘मिडिया’बाटै ‘सेन्सर’को काम गर्न सकिन्छ ।

संगीतकर्मीको काम संगीत गर्ने हो । ‘सेन्सरसिप’ अलग पाटो हो । संगीतकर्मी नै यसमा लागे भने त कुन समयमा गीत बनाउने ? कुनै एउटा संस्था बनाएर त्यसको ‘एक्सपर्टिजम’ लिन त सकिन्छ तर यसमै लागेर हिँड्न त गाह्रै छ । मैले धेरै साथीहरु संघसंस्थामा लागेर त्यत्तिकै भ्रमित भएर हिँडेको देखेकाे छु । संघसंस्था आवश्यक छ तर कसले गर्ने ?

बिना ‘अटोट्युन’ (सुर मिलाउने सफ्टवेयर) गीत गाउन नसक्ने अवस्था आएको हो ?

सामान्य ‘ह्युमन इरर’हरुलाई यो ‘कन्ट्रोल’ गर्नका लागि यो ‘पिच करेक्सन टुल’ अर्थात ‘अटोट्युन’ प्रयोगमा ल्याइन्छ ।‘ रेकर्डिङ’को क्रममा पहिलो चोटि गाउँदा एकदम ‘फिल’ चाहिँ आयो तर हल्का बेसुरा भयो तर अर्को चोटि गाउँदा त्यो ‘मुड’ आएन अथवा नआउनसक्छ नि ! हो यस्तो अवस्थामा ‘करेक्सन’का लागि ‘अटोट्युन’ प्रयोग गर्ने हो । ‘म्युजिक’मा अर्को एउटा पक्ष के पनि छ भने सुरमा गाउँदैमा मात्र पनि हुँदैन । ‘मैले सुरमा गाउनु नै ‘अल्टिमेट’ कुरा होइन । मेरो आवाजमा त्यस्तो के चिज छ जस्ले मान्छेलाई आकर्षण गर्छ, जस्ले सुन्नेलाई ‘होल्ड’ गर्न सक्छ । चाहे सुरमा गाएर होस् वा ‘अटोट्युन’ले सुर लगााएर होस् ।’ एउटा ‘एक्स फ्याक्टर’ त चाहिन्छ नै जस्तो कि ‘भ्वाइस टेक्स्चर’ । ‘द्याट इज मस्ट इम्पोर्टेन्ट’ ।

पूरै गीतमा ‘अटोट्युन’ हाल्ने परिपाटी चाहिँ के हो ?

जति ‘ह्युमन इरर’को मात्रा बढी हुन्छ ‘अटोट्युन’को अत्याचार पनि त्यति नै हुन्छ । यसकै भरमा हाम्रो उद्योगमा जम्न सम्भव छैन । राम्रो गाउनेलाई यसले झन् राम्रो बनाउँछ । बेसुरा गाउनेको आवाजमा प्रयोग हुँदा अलि ‘अड’ सुनिन्छ ।

नेपालमा अहिले चलिरहेका ‘रियालिटी शो’मा समेत ‘अटोट्युन’को प्रयोग बढ्दो छ ।  नवप्रवेशी गायक गायिकाको आवाजमा यसको प्रयोग राम्रो हो र ?

‘रियालिटी’ शो भनेको ‘बिजनेस’ पनि हो । शोलाई जसरी पनि ‘पपुलर’ बनाउँनुछ र ‘स्पोन्सर’बाट पैसा लिनुछ । घाटा त खानु भएन । ‘बिजनेस’को पिरले ‘अटोट्युन’ प्रयोग गरेका हुन् । यो अवस्थाले गर्दा समग्र कला जगतलाई नै असर परिरहेको छ ।

खबरदारी कसले गर्ने त?

व्यापारसँग जोडिएको कुरा अन्जानमा गरिएको हुँदैन । यो त जानाजान गरिएको हो । पैसासँग जोडिएको कुरा नै यस्तै हुन्छ । यो त नियतवश गरिएको हो । फेरि यो व्यावसायिक पाटोलाई हामीले हस्तक्षेप गर्न पनि मिल्दैन । ‘रियालीटी शो’ को एउटा मात्र सुन्दर पक्ष मलाई के राम्रो लाग्छ भने देशभरबाट थुप्रै प्रतिभाहरु छानिन्छन् । त्यहाँ आएर मथिन्छन् र तिनीहरुले केही सिक्ने मौका पाउँछन् । एउटा ‘ग्रुमिङ’ हुन्छ र त्यहाँबाट बाहिर निस्केपछि केही न केही राम्रा गायक गायिकाहरु देशले पाउँछ र पाएको छ । 

चर्चित लोकदोहोरी गीतहरुमा समेत ‘अटोट्युन’को बिगबिगी देखिन्छ । अरु गीतको तुलनामा दोहोरी गीत कमजोर देखिनुको कारण चाहिँ के हो ? 

लोकगीतमा अहिले ‘रियाज’ गर्‍यो भने हाम्रो स्वर बिग्रन्छ, सरगम गर्‍याे भने हाम्रा खिड्काहरु मर्छन् भन्ने मानसिकता विकास भएको छ । बिना रियाज सुर त लगाउन सकिन्न । सुर नलागेसी त्यसलाई सुरमा त ल्याउनु पर्‍याे । त्यहाँ ‘ट्युनर’ हाल्नै पर्‍याे । कतिपय कलाकारहरु ‘नेचुरल्ली’ सुरमा गाउनुहुन्छ । जस्तो राजु परियारले  अरुले भन्दा धेरै गीत गाउनुको कारण के थियो भने उहाँ सुरमा गाउनुहुन्थ्यो । कतिपय कलाकार ‘टोन’ राम्रो भएर पनि सुरकै कारण एक्लै गीत गाउन सक्षम थिएनन् । जस कारण राजु परियार जस्ता पेशेवर गायकले त्यहाँ ‘लिड’ गर्थे र बेसुरा ‘भोकल’ छोपिन्थ्यो र त्यो गीत सुरमा सुनिन्थ्यो । अब अहिले अलिकति ‘टोन’ राम्रा भएका र सुरमा गाउन नसक्नेहरुलाई त ‘अटोट्युन’ले चिठ्ठै पारिदियो । अर्कोतर्फ सुरमा गाउन नसक्ने र ‘टोन’ पनि नराम्रा भएकाहरुलाई पनि ‘सफ्टवेयर’ले गाउने अवसर दियो । लामो हाँसो हाँस्दै... ‘नेपालमा स्राेता लेभलको मान्छेले गीत गाउन थाल्यो’ । जे होस संगीत उद्योगका धेरै साथीहरुले काम पाउनु भएकाे छ अहिले । 

अहिले संगीत उद्योगभित्र ९५ प्रतिशत ‘सिङ्गर’ बेसुरा छन् भन्छन नि ? सही हो यो कुरा ?

सही हो । कला भन्ने चिज शोखको विषय हो । मेरो पनि शोख नै थियो पहिले । साधारण शोख भएकाहरुले पनि पैसा खर्च गरेर गीत तयार गर्ने र आफ्नै व्यक्तिगत ‘युट्युब च्यानल’ र सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने वातावरण छ अहिले । स्राेता ‘लेभल’कै मान्छेले गीत गाएर ‘मिडिया’मा सहज पहुँच राख्न सक्ने अवस्थाले गर्दा पनि यो अवस्था आएको हो । मननयोग्य कुरा चाहिँ के हो भने, कला सबैलाई मन परे पनि यो सबैको वशको विषय भने होइन । प्राकृतिक रुपमा नै कलाले भरिएको एक दुई व्यक्तिले मात्र ‘इन्डस्ट्री’ धानेका छन् र यिनीहरुले नै भोलि पनि धान्ने हो । यो क्रम हिजो पनि थियो भोलि पनि हुन्छ । डराइहाल्ने स्थिति भने होइन । 

अन्तिम अपडेट: असार २, २०७७

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया